सोसल मिडिया
एउटा बालकको गर्भ रहेदेखि बाल्यवस्था सम्म हुने सर्वाङ्गीन पक्षको बृद्धि र विकासात्मक कामहरुको समग्र रुप बालबिकासमा पर्दछ । अर्थात बालबालिकाहरुको सर्वाङ्गीन विकास शारिरीक, मानसिक, संबेगात्मक, सामाजिक र भाषिक सीपको परिमाणात्मक वा गुणात्मक परिवर्तनको सिङ्गो रुप बालबिकास हो । वालबिकासलाई बालबालिकाको सर्वाङ्गिन पक्षमा भएका परिवर्तनहरुको सामाजस्यपूर्ण एवम् एकिकरणको एउटा जटिल प्रक्रियाको रुपमा पनि हेरिन्छ । तसर्थ बालबालिकाका विकासात्मक कार्यहरु बिभिन्न स्वरुपबाट समग्र अध्ययन गर्नु बाल मनोबिज्ञान हो ।
सार्वजनिक स्थल, घर, बिद्यालय लगाएत हरेक स्थानमा बालबालिकाको रुचि, चाहना, भावना र आवश्यकता अनुसारको चाखलाग्दो वातावरण तयार गर्नु बालमैत्री व्यवहार हो । भने हरेक बालबालिकाहरुले उनिहरुको रुचि र आवश्यकताअनुसार बहुक्षेत्रगत ज्ञान आर्जन गर्न, सीप सिक्न र सामाजिकरणको अवसर प्राप्त हुने स्थान बालमैत्री विद्यालय हो । बालमैत्री विद्यालयमा बाल अधिकार लाई उच्चतम मान्यता दिदै सर्वोत्तम हित हुने गरि सिक्ने, स्वतन्त्रतापूर्वक बिचार र भावना अभिब्यक्त गर्न पाउने, उनिहरुको हरेक सकारात्मक ब्यवहारको कदर हुने र सामाजिक भावनाको विकास हुने लगाएतको वातावरण मार्फत चौतर्फि विकासको अवसर प्रदान गरिन्छ ।
"सार्वजनिक स्थल, घर, बिद्यालय लगाएत हरेक स्थानमा बालबालिकाको रुचि, चाहना, भावना र आवश्यकता अनुसारको चाखलाग्दो वातावरण तयार गर्नु बालमैत्री व्यवहार हो । भने हरेक बालबालिकाहरुले उनिहरुको रुचि र आवश्यकताअनुसार बहुक्षेत्रगत ज्ञान आर्जन गर्न, सीप सिक्न र सामाजिकरणको अवसर प्राप्त हुने स्थान बालमैत्री विद्यालय हो ।"
विद्यालय घरपरिवार पछिको दोस्रो पाठशाला पनि हो । बालबालिकाहरुको विश्वास परिवार र परिवारका सदस्यहरू भन्दा विद्यालय र विद्यालयका शिक्षक र शिक्षिकामा बढि हुन्छ ।तसर्थ वालवालिकाको रुचि, इच्छा, चाहाना, भावना र आवश्यकता लाई मध्यनजर गरि शिक्षण गरिएमा एकातिर शिक्षण सिकाई प्रभावकारी र अर्थपूर्ण हुन्छ भने अर्कोतिर बालवालिकाहरू खुसी हुने र बाल अधिकारको प्रत्याभूति हुने वातावरण तयार हुन्छ।
'Morning Shows the day' अथवा बिहानीले दिउँसो संकेत गर्दछ भने झैं बाल्य अवस्थामा ब्यक्तिको वृद्धि र विकास कस्तो पारिवारिक तथा सामाजिक वातावरणमा भएको छ भन्ने कुराले उसको भविष्यको विनिर्धारण गर्दछ। वाल्य अवस्थाको पारिवारीक, सामाजिक, सांस्कृतिक, संवेगात्मक र भाषिक पक्षको पृष्ठभूमि पत्ता लगाई सोही अनुरुप शिक्षकले वालकप्रतिको धारणा बनाई व्यवहार गर्नु र शिक्षण कौशलको विकास गरि प्रयोग गर्नु अपरिहार्य हुन्छ ।
बालबालिकाहरु मानव समाजमा रहेका विभिन्न वर्ग, समूह, जातजाति, धर्म संस्कृति र मूल्यमान्यता आदिको उपजका रुपमा सिक्न विद्यालय आउँछन् ।विभिन्न जाति, धार्मिक, भाषिक, आर्थिक र साँस्कृतिक परिवेशमा हुर्केका बालबालिकाहरुका बिभिन्न रुचि, इच्छा, चाहाना, भावना र आवश्यकता हुन्छन् । उनिहरुका ति रुचि, इच्छा, चाहाना, भावना र आवश्यकताहरु बुझि बिद्यमान अवस्थालाई मध्यनजर राख्नु बाल मनोबिज्ञान बुझ्नु हो । जुन प्रभावकारी शिक्षण सिकाईका लागि अति आवश्यक हुन्छ । बालमनोविज्ञानले मूलतः बालबालिकाको विकासात्मक विशेषताहरुको गहिरो अध्ययन गर्छ । यसले बालबालिकाहरूको विकासक्रम, व्यक्तिगत रुचि, चाहाना, भावना र आवश्यकता पत्ता लगाउन, शैक्षिक उद्देश्य, शिक्षण विधि तथा क्रियाकलापको निर्धारण गरी मूल्याङ्न साधनको प्रयोग गर्न, बालबालिकालाई अनुशासनमा राख्न, शिक्षण सिकाई क्रियाकलाप प्रति आकर्षित गर्न उपायहरुको खोजि गर्दछ। हाम्रो अभ्यास बालबालिकाहरुलाई बयस्को नजरबाट हेर्छौं ।उनिहरुलाई बयस्कको उचाई वा आँखाबाट हेर्दा उनीहरूको रुचि र चाहना सम्बोधन हुनुको सट्टा बयस्कका आवश्यकता र चाहाना समावेश हुन जान्छन् ।
"हाम्रो अभ्यास बालबालिकाहरुलाई बयस्को नजरबाट हेर्छौं । उनिहरुलाई बयस्कको उचाई वा आँखाबाट हेर्दा उनीहरूको रुचि र चाहना सम्बोधन हुनुको सट्टा बयस्कका आवश्यकता र चाहाना समावेश हुन जान्छन् ।"
घर परिवार, बिद्यालय तथा समाजमा गरिने बिभिन्न ब्यवहार तथा वातावरणले बालबालिकाको ब्यक्तित्व निर्धारण गर्दछ । घर परिवारमा बालमनोविज्ञान बुझेर व्यवहार नगर्नु अनि विद्यालयमा सोही तबरको शिक्षण सिकाई, सिकाई पद्धति र वातावरण नहुंदा बालबालिकाको सिकाई अपेक्षाकृत हुन सक्दैन ।
शिक्षकले बालबालिकाको बानी, रुचि, इच्छा, चाहाना र भावना नबुझि शिक्षण गर्दा सिकाई उपलब्धि अपेक्षित रुपले हासिल हुदैन र बालवालिकाले विद्यालयलाई बोझको रुपमा लिने गर्दछन् । बालबालिकाको मनोविज्ञान लाई उपेक्षा गरि ब्यवहार गर्दा अपेक्षित ज्ञान, सीप भएका जनशक्तिको विकास नहुन सक्छ जसले भविष्यमा ठूलो दुर्घटना ल्याउँन सक्दछ । आत्मसम्मान, विद्यालय, अभिभावक, सामाजिक परिबेश र समग्र वातावरण वाल मनोविज्ञानका पक्षहरु हुन यसैमा बालबालिकाको भविश्य निर्भर रहन्छ ।
हरेक बालबालिकामा भिन्नै स्वाभाव, क्षमता, शारीरिक सक्रियता र मानसिक उत्साह रहेको हुन्छ । हरेक वालवालिकाबाट आफ्नो उद्देश्य, लक्ष्य राम्रो बनाउने, आफ्नो अधिकतम् ज्ञानको उपयोग गरी नयाँ कुरा जान्ने, राम्रो क्षमता प्रस्तुत गर्ने, परिक्षामा उत्तिर्ण हुने जस्ता प्रयासहरु भइरहेका हुन्छन् । परिक्षामा कसरी पास हुने, खेलकुदमा कसरी अब्बल सावित हुने, नयाँ कुराहरु कसरि सिक्ने भन्ने भावना र विचारहरू पनि जागृत भैरहेका हुन्छन् तर हामी अभिभावक र शिक्षकहरूले वालवालिकाको क्षमता स्वभाव चाहाना रुचि आदि बारे जानकारी राख्ने प्रत्यत्न नगरि तिनीहरूको सोंचाई र बुझाई अनुकूलित व्यवहार गर्दैनौ । फलस्वरूप हामी नत अपेक्षित उपलब्धी प्राप्त गर्दछौ नत व्यवहार । यस्तै व्यवहार बाट बालबालिकाहरू एक किसिमको हिंसा सहेर घर र विद्यालयमा पिडा बोध गरी जीउन विवस हुन्छन्।
"शिक्षकले बालबालिकाको बानी, रुचि, इच्छा, चाहाना र भावना नबुझि शिक्षण गर्दा सिकाई उपलब्धि अपेक्षित रुपले हासिल हुदैन र बालवालिकाले विद्यालयलाई बोझको रुपमा लिने गर्दछन् । बालबालिकाको मनोविज्ञान लाई उपेक्षा गरि ब्यवहार गर्दा अपेक्षित ज्ञान, सीप भएका जनशक्तिको विकास नहुन सक्छ जसले भविष्यमा ठूलो दुर्घटना ल्याउँन सक्दछ ।"
तसर्थ बालबालिकाको सर्वाङ्गिन पक्षको अध्ययन गरि शिक्षण सिकाई वातावरणको तयारी गरिनुपर्दछ । जसका लागि शिक्षकको भूमिका प्रथम हुन्छ भने बिद्यालयमा समाजको संलग्नता र सहयोग प्रत्यक्ष र सकारात्कम हुनु पर्दछ । बिद्यालय ब्यवस्थापन र बिद्यालयको सम्वन्ध नितान्त शैक्षिक उन्नयनका केन्द्रित रहनु पर्दछ ।अनिमात्र सिकाई प्रभावकारी, अर्थपूर्ण, उपलब्धिमुलक हुनुका साथै रमाइलो र सुरक्षित वातावरणका बिच बालबालिकाहरुले उल्लासमय ढंगले सिक्न सक्दछन् । बालवालिकाको मनोविज्ञान बुझेर शिक्षण गर्नु बालअधिकारको प्रत्याभूति हुनु पनि हो । सफल शिक्षक बन्न र प्रभावकारी शिक्षण सिकाइ गर्नका लागि बालमनोविज्ञानको अध्ययन गर्न जरुरि छ ।