नेभिगेशन
राष्ट्रिय

द्वन्द्वकालको ‘माओवादी सेल्टर’मा दर्जन बढी सकेट बम भेटिए

बम रहेको स्थान प्रहरीको निगरानीमा

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर २ मा एक दर्जन बढी सकेट बम फेला परेका छन् । वडा नम्वर २ प्वाङको बुर्केसल्ला भन्ने स्थानमा कालो प्लास्टिकको ड्रमभित्र लुकाइँ राखेको अवस्थामा दर्जन बढी सकेट बम फेला परेका हुन् ।

वडाध्यक्ष जीवन केसीले बिहीबार दिउँसो बाख्रा चराउन जंगलमा गएका स्थानीयले उक्त बम फेला पारेको बताउँनुभयो । ‘जंगलमा लुकाएर राखेको अवस्थामा ड्रमभित्र शंकास्पद बस्तु देखेको वडा कार्यालयमा जानकारी आयो’ वडा अध्यक्ष केसीले भन्नुभयो, ‘हामीले इलाका प्रहरी कार्यालय प्वाङको प्रहरीलाई साथमै लिएर जाँदा सकेट बम नै रहेको पत्ता लाग्यो ।’

जंगलमा रहेको ओढारमा ड्रमभित्र लुकाइँ राखेका शंकास्पद वस्तुहरु सकेट बम नै रहेको प्रहरीले जनाएको छ । बम कति संख्यामा छ भन्ने एकिन नभए पनि कालो रंगको ड्रमभित्र दर्जनभन्दा बढी नै रहेको हुनसक्ने प्रहरीको भनाइ छ ।

सकेट बम रहेको स्थानलाई प्रहरीले निगरानी गरिरहेको र शुक्रबार बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर डिस्फोज गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बम भेटिएको स्थान सदरमुकाम रुकुमकोटबाट एकदिन पैदल दुरीमा रहेको छ ।

उक्त बम जनयुद्वको क्रममा तत्कालीन नेकपा माओवादीले लुकाइँ राखेको हुनसक्ने प्रहरीको अनुमान छ । रुकुमका वन पाखामा अहिले पनि जनयुद्वको क्रममा लुकाएर राखेका बिस्फोट पदार्थहरू फेला पर्ने गरेको वडाध्यक्ष केसीले बताउनुभयो ।

बम फेला पारेको स्थान विगतको सशस्त्र द्वन्द्वको क्रममा माओवादीले सेल्टरको रुपमा प्रयोग गर्ने गरेको समेत वडा अध्यक्ष केसीले उल्लेख गर्नुभयो । यस्तो जोखिमपूर्ण अवस्थाको दिर्घकालिन तथा सुरक्षित व्यवस्थापन जरुरी रहेको समेत उहाँले बताउँनुभयो ।

फोटोहरु सौजन्य : जीवन केसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्