होली

आज तराईमा होली: प्रदेश २ मा दुई दिन बिदा

काठमाडौं ७ चैत

आज तराईमा होली मनाईदैंछ । रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गरी मनाईन लागेको हो । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा हिजो होली पर्व मनाइएको थियो ।

वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । होली पर्वलाई संयमित बनाउन तराई क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

होलीका अवसरमा प्रदेश दुई सरकारले २ दिन सार्वजनिक बिदा दिएको छ । भोलि र पर्सी प्रदेशमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मिथिला–मधेशमा हुने मध्यमा परिक्रमा र होलीलाई मध्यनजर गर्दै दुई दिन बिदा दिइएको हो । विज्ञप्ति मार्फत मुख्यमन्त्री राउतले होली पर्वलाई शान्तिपूर्ण तरिकाले उल्लासका साथ मनाउन प्रदेशवासीमा आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  ०८:०३
प्रतिक्रिया दिनुहोस्