सोसल मिडिया
– डम्बरबहादुर खड्का
बिज्ञानले कुनै पनि अस्तित्ववान कुराहरुमा कार्य हुनुपर्ने मान्यता राख्दछ भने गणितले कार्यमा बिपरित कार्यको अस्तित्व खोज्दछ । गणितीय बिषयबस्तु फलन र बिपरित फलन (Function and inverse Function) को नियम पछ्याएर बैज्ञानिकहरु हरेक अस्तित्ववान चिजहरुको प्रति चिज Inverse body हुनुपर्ने मान्यतालाई भौतिक पुष्टि गर्न प्रयास गरी रहेका छन् ।
अवको ज्ञानको उद्धेश्य फलन र बिपरित फलन बिचको द्वन्द्व पहिचान गरेर त्यसलाई सबै थोकमा पुष्टि गर्नु हो, फलन र बिपरित फलनलाई द्वन्द्ववादी भाषामा ब्याख्या गर्नु हो । विगतको मानव चेतनाको प्रारम्भिक विकाश अवस्थादेखिको बहसको इपिसेन्टरमा रहेको द्वन्द्ववादलाई खोजको मुल बिषय बनाएमा सबै रहस्यहरु ज्ञात हुनेवाला छन् । मानव विकासको इतिहास नियाल्दा द्वन्द्ववाद नै हरेक कुराहरुको परिणाम हो भन्ने कुरालाई जहाँजहाँ छोडिएको छ, त्यहाँत्यहाँ यथास्थितिवादको जगजगी रहेको छ ।
शैद्धान्तिक माक्र्सवादबाटै बिद्यावारिधि गरेर पेरुमा जनयुद्धलाई घनिभुत पारेका पात्र गोन्जालोले एल दिएरियो पत्रिकाले तपाई किन र कसरी यहाँसम्म आउन सफल हुनुभयो भनेर सोधिएको प्रश्नमा, हरेक क्षण म दोबाटोमा हुन्थे र गलत बाटो छोडेर सहि बाटोमा रोज्दै अगाडी बढ्दा यहाँसम्म आइपुगे भनेर जवाफ दिएका थिए ।
समयले हरेक क्षण सँगै चेतनालाई दुईओटा अवसर दिइरहन्छ । चेतनाले ति दुई मध्य एकलाई स्विकार गर्दछ । जानाजान वा अन्जानमै अर्थात जे अगाडी आउँछ त्यही स्वीकार्ने अन्जान स्विकार हो र छानेर लिने तथा जानेर स्वीकारेको हो भने छान्नु नै द्वन्द्ववाद हो । छान्दा प्रयोग हुने बिधिहरु नै द्वन्द्ववादका राशीहरुहरु हुन् । यी राशीहरुमा हरक्षण रुमल्लिइरहनेहरु नै द्वन्द्ववादी हुन । द्वन्द्ववादीहरु आत्मसंघर्ष र अन्तर संघर्षको नियममा हुन्छन् । उनीहरु हरेक चिजलाई द्वन्द्वात्मक कोणवाट हेर्दछन । आजसम्मको विश्व इतिहासमा द्वन्द्ववादलाई आत्मसात गर्ने बिचारहरुले मात्र संसारमा केही न केही उथलपुथल गरेको पाइन्छ ।
द्वन्द्ववादको अभ्यास हिन्दु सभ्यता र हिन्दु दर्शन अगाडि
इतिहासमा द्वन्द्ववादलाई अभ्यास गर्ने प्रयास गरेर सामाजिक मान्यता दिनेमा हिन्दु सभ्यता र हिन्दु दर्शनको नाम अगाडी आउने गर्दछ । मानव शरीर र ब्रम्हाण्डको निर्माण मुलभुत रुपमा पाँचवटा तत्वहरुबाट निर्माण हुने हिन्दु फिलोसोफिको मान्यता छ । जबकि अन्य धर्ममा मानवलाई डाइरेक्ट भगवानले स्वर्गबाट उतारेको कुराहरु छन् ।
हिन्दु फिलोसोफिले मानव मन र ब्रम्हाण्डलाई समतुल्य फलन कल्पना गरेको छ भने आजको बैज्ञानिक उपलब्धीहरु ती दुईको सम्बन्ध बिपरीत फलन पुष्टि गर्न खोजिरहेको छ । हिन्दु फिलोसोफिले द्वन्द्वमा सरीक हुने पात्रहरु पाँच बताईरहँदा, आधुनिक दर्शन ती पाँच होउन वा अलि बढी सरोकार नराखेर आपसी बिपरीत गुणहरुमा केन्द्रित हुन्छ भनिरहेको छ ।
प्राचिन सभ्यताका अगुवा हिन्दुहरु केही कुण्ठा छोड्न नसकेर पछि परेको पाइन्छ । त्यसमध्ये पाँच मोह पनि हो । उनीहरु सवथोक पंचमहाभुतको एक सारभुत भन्दै मान्छेको मन, शरीर, स्वास रगत र आवेग विवेकलाई, आकाश, जमिन, हावा, पानी र आगोबाट बनेको मान्दथे । हरेक यौगिकहरु यिनै पाँच तत्वबाट बन्ने ठोकुवा गर्दथे ।
प्राचिन समयको अग्रगामी दर्शन हिन्दु फिलोसोफीले त्यो भन्दा अगाडिको बाटो बिराएको देखिन्छ । उनीहरुले पंचमोह, जपतप शिवमोह र तपस्याको बाटोबाट मोक्ष पाउने भ्रम त्यागेको भए मानव समाजको विकास हजार देखि पन्ध्रसय बर्ष अगाडी बढिसकेको हुने थियो ।
द्वन्द्व र द्वन्द्ववाद
द्वन्द्व निर्णय गर्ने बिधिमात्र होइन यो निष्कर्षको संरचना पनि हो । बस्तुको संरचना पनि हो । सामाजिक मान्यताहरुको संरचना पनि हो । हरेक वस्तु आन्तरिक र बाह्य दुई स्थानमा द्वन्द्व घनिभुत भएर मात्र टिकेको हुन्छ । मानव शरीर निरोगिता र रोगविचको द्वन्द्वमा गुज्रिन्छ ।
जव एक पक्ष कमजोर हुन्छ, तव शरीर कमजोर हुन्छ । निरोगिता कमजोर भएर मात्र होइन रोग कमजोर भएर पनि शरीरलाई मर्का पर्दछ । अर्थात शरीरमा रोगको उपस्थिती कमजोर हुँदा समेत शरीरको प्रतिरक्षा प्रणाली निश्क्रिय भएर वातावरणमा आइपर्ने कठिनाईको सामना गर्न नसकेर शरीरको अस्तित्व समाप्त हुने तथ्य पुष्टि भएको छ । यसले हाम्रो शरीरमा निहित द्वन्द्ववादको संरचनालाई प्रष्ट पार्दछ ।
द्वन्द्ववादलाई सापेक्षतावादसंग समेत जोड्न सकिन्छ । झिँगासँग लडाँई खेल्नुछ भने खुकुरी, भाला, बन्दुक जस्ता हतियार चाहिदैनन् । ती हतियार भएपनि हामी झिगाँलाई परास्त गर्न सक्ने ग्यारेन्टि हुदैन । त्यतिमात्र होइन, एक पक्षसँग हतियार छ र अर्कोसँग छैन भने पनि लडाई हुदैन ।
यहाँनेर द्वन्द्वात्मक सिद्धान्तका अनुयायीहरु लड्ने लडाई र दक्षिणपन्थिहरु लड्ने लडाईबारे माओत्सेतुङको भनाई स्मरण गरौं । द्वन्द्वात्मक सिद्धान्तका अनुयायीहरु लड्ने लडाँई, लडाईको अन्त्यको लागी हो । सामाजिक न्यायका क्षेत्रमा रहेका द्वन्द्वहरुको न्यायपुर्ण ढंगले हल गर्नका लागी हो । जहाँ, सवै खालका प्राकृतिक द्वन्द्वहरुलाई अस्तित्ववान हुन दिएर सामाजिक न्यायलाई हल गर्ने अपेक्षा गरिन्छ ।
दक्षिणपन्थीहरु लड्ने लडाईले द्वन्द्वको सारभुत नियमलाई अंगिकार गर्दैन । बरु द्वन्द्वको खराब प्रकटिकरण मात्र गर्दछ । सामाजिक न्यायका क्षेत्रमा रहेका द्वन्द्वहरुको न्यायपुर्ण ढंगले हल गर्नुको सट्टा एकपक्षिय शक्ति कव्जाको अपेक्षा गर्दछ । फलस्वरुप सामाजिक न्याय मानव समाजमा चुनौती बनिरहेको अवस्था छ ।
आधुनिक जमानाको अति चर्चित कम्प्युटर मेसिन होस् की कोरोना भाइरसको खोप होस् । बिपरीत फलनलाई सदुपयोगमा ल्याएर मात्र सार्थक रुपमा अस्तित्ववान हुन सकेका छन् । कम्प्युटरमा हिन्दु अरेविक संख्यालाई दुई मात्र रुप ० र १ मा परिणत गरेर बिद्युतिय प्रणालीको अन र अफ सर्किटमा उपयोग गरीन्छ । जहाँ ० र १ ले अन र अफ को रुपमा नितान्त बिपरित चरित्र ग्रहण गर्दछन् । ३ शुन्य बन्दछ भने ४ एक बन्दछ ।
माथिल्लो मानसम्म पुग्नै नसकिने गरी फैलिएका सवै संख्याहरु दुईमात्र रुपमा ब्यक्त हुन्छन । यसरी भौतिक वा सिम्बोलिक मानव ज्ञानका रुपहरु सबै द्वन्द्वात्मक चरीत्रले निर्माण भएका छन् । भौतिक बस्तु वा सिम्बोलिक सिद्धान्तको निर्माण गर्दा या जुनसुकै पनि प्राप्त नयाँ ज्ञानलाइँ प्रमाणिकरण गर्दा समेत लजिसियनहरु Contradiction, contrapositive Converse, Inverse जस्ता आपसि बिपरित बिधिहरु उपयोग गर्ने गरेको पाइन्छ ।
नेपाली समाजमा द्वन्द्ववाद
बिषयबस्तुलाइ शिर्षक वरिपरी नघुमाएर माथिका सवै दृष्टान्तहरु पेश गर्नुको तात्पर्य चाँहि द्वन्द्ववाद के हो भन्ने कुरामा हाइलाइट गर्नु हो । नेपाली समाजमा बिद्यमान सवै किसिमका गुनासाहरुलाई द्वन्द्वात्मक कोणबाट हेर्न प्रस्तुत शिर्षक चयन गरीएको हो ।
नेपाली समाजमा हाल एकातिर तिव्र भौतिक विकास गतिवान छ । डोजर, लेवर, सुपरभाइजरको दौडादौड छ । इन्जिनका आवाजहरु जहाँतही बजिरहेकाछन् । पहाडहरु कोरीदैछन । नागढुँगामा सुरुङ्ग नामको प्वांलबाट गाडीमा हुइकिन पाइने भएको छ । कलंकिमा अव जाम होइन, अन्डर ग्राउण्ड रेस छ । अनि बाह्रैमास जाम हुने मुग्लिन नारायणगढको रुटमा चालकलाई जाम होइन तिव्र गतिबाट रोक्न स्पीड ब्रेकर बनाइएको छ । भेरी नदीलाई बबई तिर कोल्टो पारिदै छ । अनि रुकुम जाजरकोट हुदै बग्ने भेरीको हंगालो उत्तरगंगा बाग्लुङतिर बटारियर त्रिशुली हुदै बग्ने भएको छ । चिसापानीको पुल मुनीबाट बिदेशिने हजारौ नेपाली पत्थरका पसिनाहरु नारायणीको रुपमा नारायणगढको पुलमुनीबाट बिदेशिदैछन् । देशैभरी सुरुङ खन्ने मेशिनहरु तम्तयार छन ।
अर्कोतिर सवै गुमिसकेको जस्तो, निराशा, नेताहरुलाई सरापवाजी, कुण्ठा ब्याप्त छ । यसमा हामीले दिक्क मान्नुपर्ने केही छैन । यो सवै समाज विकासको द्वन्द्वात्मक चरित्रको कारणले गर्दा हो । चामल निकाल्दा भुस त आउँछ नै । सेम त्यही पाराले बिपरीत गुणहरु उपस्थित भएका हुन् ।
नेताले विकाश गरेन भनेर सराप्नुमा कुनै तुक हुदैन । कुनै ब्यक्ति बिशेषले असल भएकै भरमा केहि गर्छ भन्नु पनि मिथ्याभास मात्र हो । नेताले गरेर हुने भए डोनाल्ड ट्रम्पले सिमानामा पर्खाल लगाउनेवाला थिए । आफै निर्माण ब्यवसायी समेत रहेका शक्तिशाली अमेरीकाका रास्ट्रपतिले जावो पर्खालसम्म लगाउन सकेनन् । अमेरिकी समाज विकाशको द्वन्द्वात्मक चरणहरुको पहिचान नगरेर बोलेकाले उनले धोका पाउँन पुगे ।
द्वन्द्वात्मक सापेक्षतावादी मान्यताले के बताउँछ भने, द्वन्द्वका परस्पर बिपरित पात्रहरुमा सापेक्ष गुणहरु अस्तित्ववान हुन्छन । यो नियमले नेपालका कम्युनिष्टहरु कोरिया, चाइना वा पेरुका जस्ता नहुनमा प्रतिस्पर्धामा सरिक पात्रहरुको चरित्र कारण हुन जान्छ । परिवर्तनमा रमाउने तर परिवर्तनका सवै प्रक्रियामा अवरोध गर्ने अनौठा प्रतिस्पर्धीको सामना गर्दा नेपाली कम्युनिष्ट आन्दोलनको हालको स्वरुप जन्मन गएको सत्य हो ।
राजा महेन्द्र आफै चाइनाबाट प्रभावित हुनु, चिनिँया शासन मन पराउनु तर नेपालमा कम्युनिष्ट होइन काँग्रेस समेत प्रतिबन्ध लगाउने शैलीले रायमाझिपथ जन्मियो । राजा हटाउनुपर्छ भन्दा बिरोध गर्नेहरु रास्ट्रपति हुन तछाडमछाड गर्छन । सिद्धान्तमा त ज्ञानेन्द्र नै राजा हो भनेर अडिग हुदैनन् तर मन्दिरको पुजारी फेर्दा समेत अक्टोबर क्रान्ती गरेको जस्तो आन्दोलन चल्छ । तिनै चरहरु हुन् जसले हालको नेपाली कम्युनिष्ट आन्दोलनमा नेतृत्व वर्गको चरित्र निर्धारण गरिरहेका छन् ।
यी सवै तथ्यहरुको सारबाट नै नेपालको कम्युनिष्ट आन्दोलनले वर्तमान रुप प्राप्त गरेको छ । संक्षेपमा भन्नु पर्दा नेपाली कम्युनिष्ट अन्दोलनको चरित्रमा यसले सामना गर्न परिरहेका बिरोधी शक्तिको चरित्रमा पनि भर पर्दछ र परेको छ ।
सन्दर्भ श्रोतहरु :
https://www.simplypsychology.org/conflict-theory.html
https://www.sfu.ca/~rpyke/History.pdf
https://jontalle.web.engr.illinois.edu/uploads/298/History Math-Burton.85.pdf
https://www.researchgate.net/publication/306017944_History_of_Mathematics_in_Mathematics_Education_Recent_developments
(लेखक खड्का, मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम (पश्चिम) का सहायक प्रध्यापक हुनुहुन्छ।)