कर्णाली यात्रा

'कर्णाली काठमाडौ भन्दा फराकिलो छ'

कर्णाली यात्रा- दैलेखदेखि मान्मसम्म
  • पूर्ण ओली
कर्णाली यात्रा-३ (दैलेखदेखि मान्मसम्म)
मुस्किलले मृत गाईको छेउबाट गाडी निकालेर हामी अगाडि बढ्छौँ । अलिकति पर बोर्डमा सिस्नेबजार नाम लेखिएको ठाउँ आइपुग्छ । दुईवटा मात्र छाप्रो बाहेक अरू भौतिक संरचनाको नामोनिशान कतै छैन । तैपनि बजार रे । दुई छाप्रे बजार देखेर परिक्षित हाँसो थाम्न सक्दैन, देवकुमारी खितखिताउँछिन्, म हाँसोको फट्को लगाउँछु । अनि सुनिलको मुखबाट हाँसो फुत्कन करै लाग्छ ।
 
साँघुरिएको अनुहारबाट फुटेको हाँसो यति सुन्दर लाग्छ कि सुख्खा पहरबाट कञ्चन जलको मूल फुटेझैँ । असराबजार कटेपछि त अगाडिको बाटो पनि भर्खरै कालोपत्रे गरिएको भेटिन्छ । कालो पनि उज्यालोको प्रतीक झैँ लाग्छ गाडीमोटरलाई । पक्की बाटो पाएर गाडी पनि गलललल हाँस्न थालेको छ । सलललल चिप्लिँदै बग्न थालेको छ । गाडी घिस्रिँदै बामे सर्नुभन्दा चिप्लिँदै बग्नु सुनिलको लागि सुखद कुरा हो ।
छेउमै कर्णाली पनि त सललल बगिरहेकी रहिछन् नि । नदी सलललल बग्न दिएर अब डाँडाकाँडा साँघुरिनबाट परपर टाढिएका छन् । पहाड परपर सरिदिएकोले कर्णाली फैलिन थालेको छ । कर्णाली फैलिएको मौका छोपेर मानव बस्ती पनि बाक्लिन थालेको छ । टुनीबगर, साईगाउँभन्दा राकम बजार झन् फैलिएको छ । कर्णालीपारिका वस्तीहरू पनि बाक्लिँदै र फराकिँदै गएका छन् । गन्तव्य फराकिएको देखेर हाम्रो छाती पनि फराकिएको छ । मेरो साँघुरो मनको कालो धुलोलाई वास्तविक स्थितिले झारझुर पार्न थालेको छ ।
जति अगाडि बढ्यो उति पक्की बाटो । उति पक्की घर । उति पक्की पुल । उति पक्की विकास । यति भए हाम्रो मन कच्ची रहने कुरै भएन ।
हजारौँ किलोमिटरको यात्राको क्रममा जाबो पन्ध्रबीस किलोमिटरको यात्राको दुरावस्था देखेर म बेकारमा खुम्चिएछु भनी चुकचुक लाग्छ । खुम्चनु र फैलनुमा प्रकृतिको अन्तर्निहित सौन्दर्य लुकेको हुन्छ । उज्यालिनु र अँध्यारिनु प्रकृतिको नियम हो भने सुख र दुःख मानवजातिको नियम हो भन्ने कुरा कति छिटो बिर्सेछु । आफ्नो नकारात्मक सोचाइप्रति धारे हात लगाउँछु ।
 
म यतिखेर काठमाण्डौको गन्ध सरेको सुखारी यात्री हुँ । मसँग आफ्नै गाडी छ । गाडीमा तीनजना मात्र यात्री छौँ । हामीसँग लचकदार सिट उपलब्ध छ । जसमा आनन्दले यात्रामा निदाइदिन सक्छु । तेर्सिएर वा खुट्टा पसारेर वा आसन फेरी फेरी रमाइला गफ हाँक्न सक्छु । आफ्नै गाडी भएकोले चाहेको ठाउँमा विश्राम गर्न र चाहेको गतिमा हुइँकिन म स्वतन्त्र छु । बजार भेटिनेबित्तिकै पैँसा तिरेर खाजा खाने हैसियतमा छु ।
 
तर मभित्र भत्किएको बाटोभन्दा कच्ची मन रहेछ । थोत्रो गाडीका पार्टपुर्जाभन्दा कच्ची मुटु रहेछ । विस्तार हुन नसकेको कच्ची नजरले कच्ची सोचको निर्माण भएको रहेछ । अलिकति बिग्रिएको बाटो देखेर आफ्नो पूरै यात्रालाई नै निरासिलो र बेस्वादिलो बनाउन थालेको रहेछु । कति कच्ची रहेछु म । उफ् ।
 
यही सडकमा चल्ने थोत्रा गाडीभित्र वा छतमा कोच्चिएर निस्सास्सिँदै यात्रा गर्नेहरूको हालत के हुन्छ होला ? यही बाटोमा गाडीमोटरको छेउ लागेर नाङ्गै खुट्टा भोकै पेट हिड्नेको मन कस्तो हुन्छ होला ? यहाँसम्म सडक आइनपुग्दै आफ्नो जीउभन्दा चौबर ठूलो भारी बोकेर डोरेटाहरूको माध्यमबाट पन्ध्र दिने कर्णाली यात्रा गर्नेको दुःख पिडा मेरोभन्दा कति गुणा बढी थियो होला ? दुःख, पिडा, अभाव र विविध संकट निरन्तर झेलेर यहीँ आसपासमा आफ्नो पूरै जीवन व्यतित गर्नेको हविगत के हुन्छ होला ? मैले यति मात्र पनि बुझ्न सकिनँ वा कर्णाली यात्राको क्रममा काठमाण्डौवासीबाट कर्णालीवासीमा साटिन सक्दिनँ भने यस यात्राको के प्रयोजन ?
 
म भने यताको अल्पकालीक सुकिलो यात्री भइटोपलेर यहाँको नकारात्मक पक्षहरू कुरा कोट्याई कोट्याई हेर्छु र सर्वज्ञाताको धक्कू लगाउँदै छापाहरू र सामाजिक सञ्जालमा प्रचारप्रसार गर्छु । यस प्रकारको आफ्नो सोचाइलाई म धिक्कार्न थाल्दछु ।
 
कर्णालीको किनारैकिनार हामी अब उत्तरतर्फ हानिन थालेका छौँ । जति माथि गयो उति सुन्दर फराकिला एवम् बाक्ला वस्ती देखिँदै छन् । डाँडा र वेँशीहरूको हरियालीमा गाढापन चढ्दै छ । बाटोमा मभन्दा सभ्य कर्णालीवासीहरू पनि ओहोरदोहोर गरिरहेका छन् । उनीहरू स्वाभिमान र इमान्दारिताले धपक्क बलेका छन् ।
 
अलि माथि पुगेपछि कर्णालीलाई वारपार गरेको एउटा लामो पक्की पुल दृष्टिगोचर हुन्छ । राकम पुल रहेछ यो । यही पुल भएर पारि गए अछाम जिल्ला टेकिँदो रहेछ । कर्णाली छेउको अछामको फराकिलो वस्ती र होचा पहाडलाई नजरले मात्र छोएर हामी भने अविराम उत्तरतिरै हानिन्छौँ । केही बेरमै राकमको ठूलो बजार भेटिन्छ । यति माथि आइपुग्दा पनि ठूलो बजार भेटिनु यात्रीको लागि सुखद कुरा हो । सायद यही बजारले नै आठबीस नगरपालिकाको इज्जत छोपिदिएको छ ।
गाडीबाट ओर्लेर सुनिल र परिक्षितले प्यास भुजाउन दहीमोही खोजिरहेका छन् । झन्डै दशपन्ध्र होटेल तथा रेष्टुँरा चहार्दा पनि गोरस भेटिँदैन । “दही नपाइने ठाउँलाई किन दैलेख नाम राख्नुपरेको होला ?” गुनासोघुलित सुख्खा ओठ ट्यापट्याप पार्दै उनीहरू गाडीमै फर्किन्छन् ।
 
हाम्रो पेटमा भोकले डोजर चलाउन सुरु गरेको छ तथापि हामी त्यहाँ धेरै बेर अल्झँदैनौँ । दहीखोला नामको सुख्खा खोला आइपुग्छ अलि माथि । यही खोलाको नामबाट दैलेख जिल्ला नामाकरण भएको हुनसक्छ । धेरै वर्षपहिले दैलेखमा प्रमुखतासाथ पशुपालन गरिन्थ्यो होला र दही मनग्गे पाइन्थ्यो होला । दहीको उत्पादन अत्यधिक हुँदा खाई वा बेची नसकिएको बाँकी दही खोलामै पो बगाइदिएका थिए कि पहिलेका समृद्ध दैलेखी किसानहरूले ? पछिल्लो पिँढीले आफ्नो इतिहासलाई जोगाउन नसकेको देखी मन कुँडिन्छ ।
 
सानाठूला सुन्दर वस्तीलाई पछि पार्दै हामी अलिकति माथि आइपुगेका छौँ । कर्णालीको सिरानतिर एउटा चाँदीजस्तो झल्झलाकार हिमालले नजर खिँच्छ । हिमालमुनिको अलि होचो डाँडोमा हिउँ थुप्रिएकोजस्तो देखिन्छ । हिमालको नजिक नजिक पुगेको आभाषले मन चङ्गाझैँ फिरफिराउँदै उड्न थाल्छ ।
 
“हिमालको काखमा अर्को हिमाल ? हिमालको बच्चाजस्तो के हो त्यो सुनिल ?” म क्षितिजतिर ल्याउँदै कौतुहलता मेट्न खोज्छु ।
 
“त्यो हिउँको थुप्रो कहाँ हो र ? त्यही त हो मान्मा बजार ! त्यो त कालीकोटको सदरमुकाम मान्माको बाक्लो वस्ती पो हो !” सुनिलले स्पष्टीकरण पेश गर्छन् ।
 
उनको कुरा सुनेर म रोमाञ्चित हुन्छु । आजको गन्तव्य आफ्नै नजरअगाडि आइपुगेको देखेर आल्हादित भएको छु । देवकुमारी र परिक्षित पनि मान्मालाई हेरेको हेरेई भएका छन् ।
“कालीकोट जिल्लाजस्तो यति विकट स्थानमा यति ठूलो बजार त नहुनुपर्ने ?” म सुनिलको कुरा पूरै पत्याउन सक्दिनँ ।
 
“पुगेपछि आफै थाहा पाउनुहुन्छ ।“ पत्याउनैपर्छ भनी विस्तार गर्ने मुडमा सुनिल छैनन् ।
 
हामी जति अगाडि बढ्छौँ त्यति मान्माको वस्ती स्पष्ट हुँदै गइरहेको छ । अग्ला र होचा घर टाढैबाट छुट्याउन मिल्ने भएको छ । सोचेकोभन्दा कालीकोटको फरक रूप देखेर मेरो नजरबाट हर्षाश्रु छचल्किन्छन् घरी घरी ।
अडिएर हेर्नलाई समय घर्किसकेको छ । बेलुकाको ६ बजिसकेको छ तथापि भुँडीभित्रको डोजरले भुँडीको भित्ता नै फोर्न थालेपछि सामुन्नको सानो बजारमा नअडिई सुख्खै पाउँदैनौँ । खिड्कीज्यूला भनिँदोरहेछ यसलाई । यो वस्ती कर्णालीको खिड्की रहेछ जहाँबाट टाउको निकाली डाँडै ढाकिएको मान्माबजार चियाइरहेका छौँ । लामो अविराम यात्राले जीउ कर्करी दुख्न थालेको छ । नहिँडेरै पनि गोडा भत्भती पोल्न थालेका छन् । तर त्यो दुखाइ यतिखेर मिठो लागिरहेको छ । देवकुमारी र म बेन्चमा उपरखुट्टी लाएर रातोनाङ्लेबाट बोकेर ल्याएका सेलरोटी टोक्न थाल्छौँ । परिक्षित र सुनिल पलेटी कसेर कर्णालीका फ्राइमाछा अर्डर गरी मिठो मुखले चपाइरहेका छन् । खाँदाखाँदै होटलेलाई सोध्छुः “अब मान्मा पुग्न कति समय लाग्ला ?” “एकडेढ घण्टामै पुगिन्छ ।“ खोजेकै जवाफ पाएर मन चङ्गा बन्दछ । खाँदाखाँदै खुशीको मारवश् म जुरुक्कै जुठ्छु ।
 
मान्माको दृश्यपान र होटेलको चियापानले भोक सर्लक्क मेटिएर हामीमा फुर्ति थपिएको छ । गाडी चियानास्ता नगरेरै फुर्तिलो भएको छ । हामी अगाडितिर गतिशील हुन्छौँ । दैलेख जिल्लाको सीमा समाप्त भएको र कालीकोट जिल्लाको सीमा प्रारम्भ भएको जानकारी लेखिएका बोर्डलाई पछि पार्दै अघि बढ्छौँ । कालीकोट टेक्न पाएकोमा हाम्रो अनुहारबाट खुशी छचल्किरहेको छ । नजिकै अर्को प्रवेशद्वार भेटिन्छ, लेखिएको छः ‘खाँडाचक्र नगरपालिकामा स्वागत छ !’
 
सामुन्नेका अग्ला डाँडाहरूले मान्मा बजार छेकिइसकेको छ । अब त सन्ध्या हाम्रो छेउमै आइपुगेर वरिपरिका डाँडाकाँडाहरूमा कालो पोत्न थालेकी छिन् । तल बगिरहेको कर्णालीमा कालो रङ मिस्याउँछिन् । हरिया वनस्पतिमा कालो रङ्ग घोल्छिन् । एक कप्टेरो जून र झिमझिमे ताराहरूलाई छोडेर बाँकी सगरमा कालोले पोत्छिन् । मनबाट झरिसकेको कालोमैलो फेरि थोपरिन थालेको छ । अतितको कालो गुफा फेरि मनमा फर्केर आतङ्क मच्चाउन थालेको छ ।
 
ताँती लागेका पत्थरिला लेकहरूका छाती चिरेर सडकबाटो खनिएको छ । तलमाथि छाङ्गाछुर भिरैभिर छ । सडक फेरि साँघुरिएको छ । जर्जर पहाड साँघुरिएको छ र कर्णाली पनि बाध्यतावश् साँघुरिएकी छिन् । तर अहिलेचाँहि हाम्रो मन पटक्कै साँघुरिएको छैन । किनकि मान्माबजार देखेर यो क्षणिक साँघुरोपश्चात् फेरि फराकिलो ठाउँमा पुग्दैछौँ भनी विश्वस्त भएका छौँ ।
 
हामी उकालिएको तेर्सोतिर बढ्दै छौँ । हामीभन्दा अगाडि तलतिरबाट उक्लँदै गरेको ट्रिपर र माथिबाट झर्दै गरेको माइक्रो बस पास हुन नसक्दा बीचमै अड्किएका छन् । उनीहरू दुवैले पछि नसर्ने अड्डी कसेपछि बाझाबाझ सुरू भएको छ । हाम्रो डेढघण्टामै मान्मा पुग्ने सपना भाँचिन पुगेको छ । दुवैमध्ये जुनसुकै गाडी पनि अलिकति पछाडि सरिदिए अर्को गाडी पास हुनसक्ने प्रशस्त सम्भावना छ । तर अँहँ कोही पछि सर्न मान्दैन । तल र माथि गाडीमोटरको लामो लाम लागिसकेको छ ।
 
रोकिएका गाडीहरूबाट यात्रीहरूको जुलुस सडकमा उत्रिन्छ । यात्रीहरूको सुझाव आदेश वा हप्काइले दुवैलाई पटक्कै छुँदैन । लाग्छ तिनीहरूको मुटु पत्थर बनिसकेको छ । तिनीहरूको नजर पत्थर बनिसकेको छ । कतै यही पत्थरिलो मुटुको राशी नै त होइन समग्र कर्णालीको अविकासको परिणाम ?
 
दिन ढलेर अँध्यारोले ढपक्कै ढाक्दा समेत दुवैको पछि नसर्ने लिँडेढिपी ढल्न सकेको छैन । जहाँ अप्ठ्यारो त्यहीँ विप्ल्याँटो देखी आजित छन् यात्रु । अति नै भएपछि सबै यात्रु जोडजोडले कराउन थाल्छन् । कसैले ट्राफिक प्रहरीलाई फोन लगाउँछन् । बल्ल ‌ओरालोपट्टिको ट्रिपरवालाको मन दहीजस्तो कमलो बन्न पुगेको छ । जसले निकै ठूलो भारी बोकेको छ र उकालोमा छ उही नै पछि सर्न बाध्य हुन्छ । यस्तो छ सडक न्याय । अलिकति मुटु कोतरिन्छ ।
 
अब निकै अँध्यारो भैसकेको छ । दुई कर्णालीमा आफ्ना दुई गोडा धसेर सामुन्ने उभिएको पत्थरिलो डाँडो ठम्याउन मुस्किल हुँदै गएको छ । यही डाँडाको शिरमाथि थपक्क बसेको खाँडाचक्र बजारमा झिलिमिलि बत्तीले झलमल्ल देखिन्छ । त्यो झिलिमिलीलाई क्यामेरामा कैद गर्न खोज्छु । क्यामेराले निकै टाढाको बत्ती खिँच्न नभ्याउँदो रहेछ । परिक्षितलाई सोध्छुः “आँखाले झल्झली देखेको कुरा क्यामेराले किन टिप्न सक्दैन कान्छु ?”
 
उसले बैज्ञानिक कारण पस्कन्छः “हाम्रा गतिला क्यामेराको लेन्स एकसय मेघा पिक्सेल वरिपरिका हुन्छन् तर स्वस्थ एउटा आँखाको लेन्स छसय मेघापिक्सेलको हुन्छ । त्यसैले आँखाले देखेको जम्मै कुरा क्यामेराले देख्नु असम्भव हुन्छ !”
अब हामी मान्मातिर आँखा स्थिर गरेर उकालोतिर घिस्रिरहेका छौँ । अलिकति माथिबाट सिङ्गो कर्णाली चोइटिएर दुईचिरा पर्न जान्छन् । देब्रेतिर हुम्ला कर्णाली र दाइनेपट्टि जुम्ला कर्णाली अर्थात् तिला नदी । हामी तिला नदीलाई तर्छौँ र उकालो मोडमा फनफनी घुम्न थाल्छौँ । करिब एकघण्टाको निरन्तर चढाईपछि मान्माको बजार बिजुलीको प्रकाशमा ज्वाज्वल्यमान हुँदै हाम्रोसामु उपस्थित भैदिन्छ ।
सोचेको भन्दा निकै विशाल छ मान्मा । रातिमा पनि पूरै मान्माको डाँडो चकमन्न उज्यालो छ । सोचेजस्तो कालोपनको लेष कहीँ कतै छैन । काठमाण्डौका जस्तै सुविधासम्पन्न होटेलहरू र असनकाजस्ता बजारहरू सडकका वरपर लहरै देखिन्छन् ।
 
मान्माबजार पुग्दा रातको आठ बजिसकेको छ । हामी बिहान ६ बजेदेखि अविराम कुदेको कुदेइ गर्दा पनि यहाँ आइपुग्न पुरै १४ घण्टा लागेको छ ।
 
हामी होटेलहरू छान्दै छान्दै ‘ह्वाइटहाउस’ नामको छ तले होटेलमा छिर्छौँ । कालीकोट आइपुगेर अमेरिकाको ह्वाइटहाउस हाम्रै पाउमा परेको छ । नामजस्तै सफेद तथा स्वच्छ मनका होटले साहु तथा कर्मचारीहरू विनीत औ सभ्य मुद्रामा हाम्रो सामु प्रस्तुत हुन्छन् । झोला गाडीबाट झार्न मद्दत गर्छन् । हामी सडकसँगै टाँसिएको भवनको पाँचौँ तलाबाट ओर्लँदै दोस्रो तलामा पुग्छौँ । हामीलाई तोकिएको कोठा सुविधायुक्त, सफा र सफेद छ । टिभी, फोन र फर्निचरको समेत उचित व्यवस्थापन छ । कालीकोटे कालोदेखि तर्सिएर काल्लिएको हाम्रो मन पूरै धोइपखालिएर उज्यालिएको छ । मान्मालाई लेककी सुन्दरी ठिटी के भन्न लागेको थिएँ उसैले भनीः बेँशीको ठिटो लेकमा उक्ली किन लायौ माया ठ्याम्मै लौ भन नढाँटी ?
 
हामी हिमालकै काखमा पुगेका छौँ तथापि सोचेजस्तो जाडो खासै छैन । हामी त यात्राको धपेडीले असिनपसिन भएका छौँ र पसिना पखाल्न हत्तपत्त बाथरूममा छिर्छौँ । चिसो पानीले सातो खान्छ । होटलेसँग गुनासो पोख्दा उनी भन्छन्: “तातो पानीको व्यवस्था पनि थियो, सोधपुछै नगरी किन चिसो पानीले नुहाउनुभएको त ?”
खानाको स्वाद पनि बेहद मिठो छ । ओढ्ने ओछ्याउने सफा, नरम र न्याना छन् । यति विकट स्थलमा पनि सुविधा हेरी कोठाको भाडा चर्को छैन । कोठाको जम्मा एकहजार मात्र । स्वादिष्ट लेकाली खानाको दुईसय पचास मात्र । दुईसय पचास त बासी भात वा गन्हाउने चनाचिउरा बेचेरै त्रिशुली छेउछाउका होटलेले असूल गर्छन् । काठमाण्डौको एकबित्ता माथिका पर्यटकीय स्थलमा पुग्दा पनि खाजाको पैंसा ढाड सेकेर असूल गर्छन् । कर्णालीतिर होटेलबासको खर्च निकै महंगो पर्छ भन्ने कुरा नियतवश् चलाइएको हल्ला मात्र रहेछ ।
कालीकोटसम्म पुग्न सडक यात्रा पनि पूरै खराब होइन रहेछ । बीचबीचमा फाट्टफुट्ट भत्किएको बाटो बाहेक अधिकांश बाटो राम्रो छ । बिग्रिएको बाटो पनि धमाधम मर्मत भैरहेको देखिन्छ । योभन्दा खराब बाटो त केन्द्रीय राजधानी कहलिएको काठमाण्डौकै आसपासमा दिनहुँ मज्जाले भोग्न पाइन्छ ।
 
म बार्दलीमा निस्किएर यहाँका अनुमानित होटेलहरूको सङ्ख्या गन्ने प्रयास गर्छु । हजारजना पाहुना एकैचोटी आए पनि मज्जाले थेग्न सक्छ मान्माले । मान्मा मात्र होइन बिचमै बास बस्नुपरे पनि बिचबिचमा पनि धमाधम होटेलहरू खुलिरहेका छन् । कालीकोटले आजसम्म जोगाएको इमान्दारिता र इज्जतलाई नयाँ खुल्ने होटेलले पनि जोगाऊन् । यात्रीलाई ठगेर बाहिर इज्जत बाहिर नफालून्, बस् यत्ति भए पुग्छ कालीकोटको पर्यटन विकासको लागि ।
कर्णाली यात्राको दोस्रो बास पनि हाम्रोलागि सोचेभन्दा निकै सहज हुन पुगेको छ । उहिलेको बाङ्गेलाँकुरीको बाससँग कालीकोटको बासलाई बेकारमा साँप्दै तर्सेछु भनी आफैदेखि शर्माउँछु ।
प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्