डोल्पा जाँदै गरेको मिनि ट्रक भेरीमा खस्दा एकको मृत्यु, दुई घाईते, एकजना बेपत्ता

चालकको अवस्था गम्भिर, बेपत्ताको खोजी कार्य जारी

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबिसकोटमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परेर एक जनाको बेपत्ता भएका छन् भने अन्य दुई जना घाईते भएका छन् ।

दुर्घटनामा परेर आठबिसकोट नगरपालिका ६ का २२ वर्षीय ट्रक सहचालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर आठबिसकोट नगरपालिका–६ का २३ वर्षीय अनिल बिक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरिक्षक डेकेन्द्र शर्माका अनुसार सोमबार आठबिसकोट नगरपालिकाको वडा नम्वर ६ मनकाबगरमा मिनी ट्रक भेरीमा खसेको हो ।

रुकुम पश्चिमको गोतामकोटबाट डोल्पाको खदाङतर्फ खुद्रा सामान लिएर जाँदै गरेको वानटेस्ट मिनी ट्रक अनियन्त्रित भई भेरि नदिमा खसेको प्रहरी निरिक्षक शर्माले बताउँनुभयो । ट्रक सडकबाट अन्दाजी एक सय मिटर तलको भेरी नदिमा खसेको थियो ।

प्रहरीका अनुसार मिनी ट्रकमा चारजना सवार रहेको पाईएको छ । अन्य दुईजना घाईते रहेका छन् । सुर्खेतको बराहाताल गाउँपालिका ३ का ट्रक चालक जितबहादुर बिष्ट र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ८ का मोहन ओली घाईते हुनुभएको हो ।

उहाँहरु दुबै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहको प्रहरीले जनाएको छ । चालक बिष्टको टाउको र खुट्टामा चोट लागेको कारण अवस्था गम्भिर रहेको बताईएको छ भने अर्का घाईते ओलीको टाउको र शरिरमा सामान्य चोट लागेको छ ।

बेपत्ता अनिलको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  २१:०३
प्रतिक्रिया दिनुहोस्