अर्थमन्त्री शर्माद्वारा रुकुममा चर्च भवनको शिलान्यास

प्रदेश सरकारको लगानीमा भवन निर्माण सुरु

रुकुम पश्चिम / जिल्लाको मुसिकोटमा एक चर्च भवनको शिलान्यास भएको छ । सोमबार अर्थमन्त्री जनार्दन जनार्दन शर्माले मुसिकोट नगरपालिकाको वडा नम्वर १ मुलखोलामा ‘मुसिकोट एजि चर्च’ भवनको शिलान्यास गर्नुभएको हो ।

नेपाल ख्रिटियन समाजका केन्द्रीय सचिव तथा मुसिकोट एजि चर्चका संस्थापक मुकुन्द शर्माले कर्णाली प्रदेश सरकारको सहयोगमा भवन निर्माण सुरु गरिएको बताउँनुभयो । हाललाई प्रदेश सरकारले ३० लाख बजेट उक्त भवन निर्माणका लागि बिनियोजन गरेको शर्माले जानकारी दिनुभयो ।

निर्माण सुरु गरिएको चर्च भवनको लागत अनुमान तीन करोड रहेको छ । बाँकि बजेटको लागि अर्थमन्त्री शर्माले अन्य मन्त्रालयमा पहल गरिदिने वचन दिनुभएको उहाँले जानकारी दिनुभयो । एजि चर्चका सस्थापक शर्माले आवश्यक बजेट व्यवस्थापनको लागि पर्यटन तथा संस्कृति मन्त्रालयमा आफुले पनि अनुरोध गरिरहेको जनाउँनुभयो ।

मुसिकोट नगरपालिका मार्फत कार्यान्वयन हुने उक्त भवन निर्माणको जिम्मा भने उपभोक्ता समितिलाई दिईएको छ ।

निर्माण समितिका अध्यक्ष भिमबहादुर बोहराले मंगलबार देखि भवन निर्माणको काम तिब्र पारिएको बताउँनुभयो । यस पटकको बजेटबाट भवनको लागि टाईबिम र पिपरहरु बैशाख मसान्त भित्र निर्माण हुने र थप बजेट व्यवस्थापन भएमा अन्य काम हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तीन तले चर्च भवन निर्माण कार्य थालिएको हो ।

 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्