Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीको दुर्गम गाउँका किसानलाई भकारो सुधार, खानेपानी र सिँचाई

tribeni2

रुकुम पश्चिम / सानीभेरी गाउँपालिका वडा नम्वर ६ का दुर्गम गाउँमा भकारो सुधार, खानेपानी र सिँचाई आयोजना सञ्चालन भएका छन् ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयद्वारा संचालित पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) को सहयोगमा दुई ओटा सिँचाई र एक ओटा खानेपानी उप आयोजना सञ्चालन गरिएको हो ।

यसै वडामा कुकुरगारे सिँचाई उपआयोजना, छहरा सिँचाई उपआयोजना र लिस्नेखोला मुहान संरक्षण तथा खोनपानी उप आयोजना सञ्चालन गरिएको पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आशा)का जिल्ला आयोजना संयोजक खिमराज वलीले बताउनुभयो ।

चालु आर्थिक बर्षमा सम्पन्न हुने गरी उक्त उपआयोजना सुरुवात गरिएको आशा आयोजनाका सव इन्जिनियर धनसिंह केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कुकुरगारे सिँचाई उपआयोजना ४ लाख ८५ हजारमा सम्पन्न हुनेछ भने छहरा पाईप सिँचाई उपआयोजना ७ लाख ९१ हजारमा निर्माण हुनेछ । त्यसैगरी लिस्नेखोला मुहान संरक्षण तथा खानेपानी उपआयोजना ७ लाख ७४ हजार लागतमा सम्पन्न गर्ने योजना रहेको छ ।

सिंचाई आयोजना निर्माण सम्पन्न भएपछि दुबै आयोजनाबाट ३९ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् भने करिब १२४ रोपनी जमिनमा सिँचाई सुविधा पुग्ने स्थानीय डिलबहादुर खत्रीले बताउँनुभयो । त्यसैगरी लिस्नेखोला मुहान संरक्षण तथा खानेपानी उपआयोजना सम्पन्न पश्चात ३४ घरधुरीले घरघरमै खानेपानीको सुविधा पाउनेछन् ।
यी तीन ओटै उप आयोजनामा आशा आयोजना र स्थानीयको संयुक्त लगानी रहने छ । सञ्चालन भएका उप आयोजनाको सयुक्त अनुगमन समेत गरिएको छ ।

आशा आयोजनाका जिल्ला आयोजना संयोजक खिमराज वली, प्राबिधिक सहयोग इकाई सुर्खेतका इन्जिनियर आकाश उपाध्याय, सामाजिक परिचालन अधिकृत केशव कुमार बिसी, लेखापाल शिवराज खड्का, सव इन्जिनियर धनसिंह केसी र रामबहादुर पुन, पशु सेवा प्राविधिक रिमबहादुर खड्का, लापा समुहका प्रतिनिधि लगायतले निर्माणाधिन उप आयोजनाको अनुगमन गर्नुका साथै निर्माण समितिलाई प्राबिधिक सहयोग उपलब्ध गराएको थियो ।

खेत छहरा टोलमा भकारो सुधार कार्यक्रम

सोहि वडामा ३४ घरधुरी लाभान्वित हुनेगरी आशा आयोजनाको ४ लाख ७५ हजार लगानिमा खेत छहरा भकारो सुधार उपआयोजना पनि सञ्चालित छ । उक्त आयोजनाबाट भकारो निर्माण सम्पन्न भएपछि पशु बस्तु पालन गर्न सजिलो हुने तथा सरसफाइमा समेत सहयोग पुग्ने समुहकि अध्यक्ष बिमला पुनले जानकारी दिनुभयो ।

भकारो सुधार कार्यक्रमबाट मलमुत्र संकलन, ब्यवस्थापन र प्रयोगबाट बालि उत्पादनमा बृद्धि हुने, पशुबस्तुको सरसफाईबाट पशुजन्य उत्पादनमा गुणस्तर आउने, जैबिक उत्पादनमा मद्दत पुग्ने साथै बँधुवा प्रणाली अवलम्बनबाट वन ब्यवस्थापनमा मद्दत पुग्ने जस्ता कार्यबाट किसानलाई सहयोग पुग्ने भएकोले यो कार्यक्रम संचालन गरिएको आयोजनाका पशु सेवा प्राबिधिक रिम बहादुर खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ०९:०३
प्रतिक्रिया दिनुहोस्