Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्थानीय चुनावका निर्वाचन अधिकृत तोकियो (रुकुम पश्चिम र रुकुम पूर्वमा खटिनेको विवरण)

tribeni2

रुकुम पश्चिम / निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी खटिने भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ ।

उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने सूचनामा उल्लेख छ ।

आइतबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको सुचिमा रुकुम पश्चिमका जिल्ला न्यायाधीस विद्याराज पौडेललाई जिल्लाको मुसिकोट नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको रुपमा खटाइएको छ ।

यस्तै जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमका जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेललाई चौरजहारी नगरपालिकामा निर्वाचन अधिकृतको जिम्मेवारीमा खटाइएको छ भने आठबिसकोट नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गणेशकुमार गौतमलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिईएको छ ।

बाँफिकोट गाउँपालिकामा जिल्ला अदालत रुकुम पश्चिमका स्रेस्तेदार कृतबहादुर बोहोरा, सानीभेरी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवल, रुपन्देहीका उपसचिव कमान सिं थापा मगर र त्रिवेणी गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत कृतिबहादुर बस्नेतलाई निर्वाचन अधिकृतका रुपमा खटाइएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा मूख्य निर्वाचन अधिकृतको रुपमा रुकुमकोट जिल्ला अदालतका जिल्ला न्यायाधीस सनतचन्द्र लवटलाई तोकिएको छ ।

जिल्लाको भूमे गाउँपालिकाको निर्वाचन अधिकृतको रुपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयमा कार्यरत उपसचिव विमलप्रसाद बराल र पुथा उत्तरगंगा गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारीमा सर्वोच्च अदालतका इजलास अधिकृत नारायण प्रसाद चापागाँईलाई तोकिएको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्ने छ ।

निर्वाचन कार्यक्रमअनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी हो ।

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १०:०३
प्रतिक्रिया दिनुहोस्