Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
चुनावी सुरक्षा

चुनाव लक्षित सुरक्षा तयारी : हतियार माग, संवेदनशील क्षेत्र चयन, जनशक्ति व्यवस्थापन

७६ मतदानस्थल मध्य १९ अति संवेदनशील, ४५ ओटा संवेदनशील १२ ओटा सामान्य क्षेत्र निर्धारण
tribeni2

रुकुम पश्चिम / २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निर्वाचन लक्षित सुरक्षा तयारी सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले अवैध हतियार संकलन देखि सुरक्षा संवेदनशील क्षेत्र, निर्धारण, जनशक्ति र श्रोत साधनको तयारी लगायतका काम सुरु गरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आईतबार इजाजत प्राप्त गरेका विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको बताउँनुभयो । इजाजत प्राप्त हतियारहरु चैत मसान्तसम्म बुझाउन अनुरोध गरिएको र निर्वाचन पश्चात फिर्ता गरिने उहाँले जानकारी दिनुभयो । कार्यालयले हतियारहरु नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा बुझाउँन सूचनामा उल्लेख गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार साबिक रुकुम प्रशासन कार्यालयबाट ७८७ थान हतियारको लागि इजाजत जारी भएको थियो भने आ.व. ०७८÷०७९ सम्म १२ थान बार बोर र भरुवा बन्दुकको इजाजत जारी भएको छ ।

संवेदनशिल क्षेत्र निर्धारण

प्रजिअ घिमिरेले आसन्न निर्वाचनको लागि जिल्ला सुरक्षा समितिको बैठकबाट संवेदनशील क्षेत्र निर्धारण गरिएको बताउँनुभयो । जिल्लामा निर्धारण गरिएका ७६ ओटा मतदानस्थल मध्य अति संवेदनशील क्षेत्रको रुममा १९ ओटा स्थल तोकिएको उहाँले जनाउँनुभयो ।

त्यसैगरी संवेदनशील मतदानस्थलको रुपमा ४५ ओटालाई हेरिएको छ भने १२ ओटा मतदानस्थल सामान्य क्षेत्रको रुपमा निर्धारण गरिएको छ ।

प्रजिअ घिमिरेले विगतको चुनावको क्षेत्र निर्धारण, भौगोलिक विकटता, सडक र सञ्चारको पहुँच लगायतका सूचकको आधारमा सुरक्षा संवेदनशीलता निर्धारण गरिएको बताउँनुभयो । रुकुम पश्चिममा ७६ मतदानस्थल र १३९ मतदान केन्द्र निर्धारण गरिएको छ ।

सरकारी कर्मचारीलाई निर्देशन

त्यसैगरी चुनावलाई लक्षित गरेर जिल्लामा रहेका सरकारी कर्मचारीहरुको विवरण तयार गरेर लामो बिदा नबस्न, निर्वाचन आचारसंहिताको पालना गर्न निर्देशन दिईएको उहाँले उल्लेख गर्नुभयो । सरकारी कार्यालयमा भएका सवारी साधनहरु कुनै पनि बेला चाँहिने भन्दै चुस्त दुरुस्त राख्न निर्देशन दिएको समेत बताईएको छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले सरकारी गाडिले मात्रै चुनावी प्रयोजनमा पर्याप्तता नहुने भएकोले भाडामा लिएर भएपनि काम चलाउने योजना बनाईएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्