Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

साबुन उद्योगमा लाखौ लगानी, न उत्पादन न त आम्दानी

बजेट भुक्तानी भएको दुई बर्षसम्म पनि मुसिकोटको साबुन उद्योगमा ताला
२०७८ चैत १५
tribeni2

रुकुम (पश्चिम) / सरकारले लगानी गरेको जिल्लाको एक साबुन उद्योग रकम भुक्तानी भएको दुई बर्षसम्म पनि सञ्चालन भएको छैन । जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका ४ काे कोटचौतारामा रहेको साबुन उद्योग दुई बर्षसम्म पनि बन्द अवस्थामा रहेको छ ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास कार्यालय रुकुम (पश्चिम) मार्फत लगानी गरेको साबुन उद्योगको लगानी खेर गएको बताईएको छ । अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रम अन्तर्गत बनाईएको साबुन उद्योगमा सधै ताला लागेको हुन्छ ।

अति विपन्न तथा दलित लक्षित वर्ग विशेष कार्यक्रम निर्माण उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिएको उक्त कार्यक्रमका लागि सरकारले हाल सम्म ६० लाख लगानी गरेको छ । आ.व. ०७६/०७७ मा ४० लाख र आ.व. ०७७/०७८ मा २० लाख रकम उक्त उपभोक्ता समितिलाई भुक्तानी भैसकेको छ । तर, साबुन भने उत्पादन भएको छैन ।

कृषि विकास कार्यालयले सुरुको बर्ष ४० लाख र अर्को बर्ष १० लाख भुक्तानी गरेको छ भने  पशु अस्पताल तथा भेटेनरी सेवा कार्यालयबाट १० लाख भुक्तानी भैसकेको छ ।

पहिलो वर्षको बजेट भवन निर्माण र मेशिन खरिदका लागि खर्च गर्नुपर्ने दोस्रो वर्षको बजेटबाट कच्चा पदार्थ खरिद गरेर साबुन उत्पादन हुनुपर्ने थियो । तर, सबै रकम भुक्तानी हुँदा पनि साबुन उत्पादन हुन सकिरहेको छैन ।

उद्योग निर्माण सम्पन्न भएको र सरकारी रकम भुक्तानी भएको दुई वर्ष नाघेपनि सन्चालनमा कुनै पहल नहुँदा सरकारी अनुदानको दुरुपयोग भएको हो कि भनेर प्रश्न उठ्न थालेको छ ।

यस बिषयमा सावुन उद्योग समितिका संयोजक पुस्कर गाइनले उद्योग दर्ता नभएको र कच्चा पदार्थको अभावको कारण साबुन उत्पादन हुन नसकेको बताउनुभयो । उहाँले ६० लाखको बजेटबाट २५ लाख मात्र साबुन उद्योगमा लगानी भएको र अरु रकमले २ ओटा कुखुरा फर्म, एक ओटा मादल डौरी फर्म , एक ओटा नर्सरी फर्म र एक ओटा भैसी फर्म सञ्चालन गरेको प्रष्ट पार्नुभयो ।

‘उद्योग दर्ता हुन सकेको छैन,’ संयोजक गाइनले भन्नुभयो, साबुनको लागि आवश्यक प्लास्टिक कभर नहुँदा उत्पादन हुन सकिरहेको छैन् ।’ उहाँले तत्काल उद्योग दर्ता गर्ने प्रक्रियामा रहेको र प्लास्टिकको अभावलाई पनि पुर्ति गर्नतर्फ लागिपरेको जानकारी दिनुभयो ।

यसका साथै सावुन उद्योगको लोगो दोहोरो परेकोले पनि उद्योग सन्चालनमा आउन नसकेको बताईएको छ । सहयोगी निकाय जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख मिनबहादुर केसीले उद्योगका लागि भवन र मेसिनरी सामाग्री आपुर्ति भैसकेको बताउनुभयो । उहाँले उत्पादित साबुन बजारमा लैजानलाई प्रमाणिक लोगो आवश्यक पर्ने भएकोले केहि समय साबुन उत्पादन गरेर बजारमा आउन नसकेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्