Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पढ्दै, कमाउँदै कार्यक्रमका लागि रुकुम पश्चिमका पाँच बिद्यालय छनौट

सीपमूलक र व्यावसायिक शिक्षाको नमूना कार्यक्रम
२०७८ चैत १६
tribeni2

रुकुम पश्चिम / सीपमूलक र व्यावसायिक शिक्षाको विकासका लागि सरकारले ल्याएको पढ्दै, कमाउँदै कार्यक्रमका लागि रुकुम पश्चिमका पाँच ओटा बिद्यालय छनौटमा परेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जिल्लाका पाँच ओटा बिद्यालयलाई पढ्दै, कमाउँदै कार्यक्रमको लागि छनौट गरेको हो ।

जिल्लाको मुसिकोट नगरपालिकाको प्रभात मावि दोपाई, चौरजहारी नगरपालिकाको हिमालय मावि खोलागाउँ, आठबिसकोट नगरपालिकाको ज्ञानोदय मावि गोतमकोट उक्त कार्यक्रमका लागि छनौटमा परेको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख तारा प्रकाश पुनले जानकारी दिनुभयो ।

त्यसैगरी सानीभेरी गाउँपालिकाको राप्ति ज्ञानोदय मावि र त्रिवेणी गाउँपालिकाको जनप्रिय मावि पेउघा पढ्दै, कमाउँदै कार्यक्रमको लागि छनौटमा परेका हुन् ।

छनौटमा परेका बिद्यालयहरु मध्य हिमालय मावि खोलागाउँमा माछापालन कार्यक्रम स्विकृत भएको छ भने अन्य सबै बिद्यालयमा कृषि तथा पशुपालन कार्यक्रम परेको छ ।

यस बर्ष जिल्लाबाट २२ ओटा बिद्यालय मन्त्रालयमा सिफारिस गरिएको तर पाँच ओटा मात्र छनौट भएको कार्यालय प्रमुख पुनले बताउँनुभयो । कक्षा ९ देखि १२ सम्म अध्ययनरत बिद्यार्थीहरु यस कार्यक्रममा जोडिनेछन् । यस कार्यक्रममा जोडिएका बिद्यार्थीहरुले बिद्यालयकै निगरानीमा प्रयोगात्मक कार्य गर्ने र आएको मुनाफा आपसका बाँड्ने काम गर्नेछन् ।

प्रभात मावि दोपाईका प्रधानाध्यापक बिजय कुमार ओलीले उक्त कार्यक्रमले बिद्यार्थीहरुलाई व्यवसायीकरणका जोड दिने बताउँनुभयो । उहाँका अनुसार बिद्यालयमा पढ्ने समयभन्दा बाहिर व्यवसायीक काममा बिद्यार्थीहरुलाई जोड्ने उद्धेश्यले यो कार्यक्रम आएको हो । आफ्नो बिद्यालयमा पशुपालनका लागि फर्म तथा खोर निर्माण, कृषिका लागि जग्गा लिजमा लिएर उक्त कार्यक्रम कार्यान्वयन गरिने प्रधानाध्यापक ओलीले जानकारी दिनुभयो ।

देशभर पहिलो पटक सञ्चालन हुन लागेको यस कार्यक्रमले व्यवसायीक शिक्षामा जोड दिने बताईएको छ । यसले गर्दा बिद्यार्थीहरु पढ्न रहर गर्ने र आफ्नो पढाई खर्चको जोहो आफै गर्न सक्षम हुनेछन् । शिक्षालाई सीपसंग, सीपलाई श्रमसंग, श्रमलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडी भविष्यमा उद्यमी, व्यवसायिक, सीपयुक्त स्वालम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित कमाउँदै पढ्दै कार्यक्रम ल्याईएको हो ।

साधारण र प्राविधिक तथा व्यवसायिक धारका विद्यालय मार्फत आय आर्जनको अवसर प्रदान गरी पढ्दै, कमाउँदै कार्यक्रम सरल, सहज र प्रभावकारी ढंगले कार्यान्वयन गरिने सरकारको लक्ष्य रहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्