Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका ४०३ जना व्यवसायीहरुको कारोबार मिसम्याचमा, कर दाखिला गर्न अनुरोध

चैत मसान्त सम्म छुट सुविधा लिन सकिने
tribeni2

रुकुम पश्चिम / रुकुमका अधिकांश व्यवसायीहरुले कारोबार घोषणा गर्दा वास्तविक कारोबार अंक भन्दा फरक (मिसम्याच) गरेको पाईएको छ । आन्तरिक राजश्व कार्यालय दांग मार्फत करदाता सेवा कार्यालय श्रीनगर सल्यानले एक सूचना जारी गर्दै रुकुम पश्चिम र रुकुम पूर्वका व्यावसायीहरुको मिसम्याचमा परेको विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार आर्थिक वर्ष ०७३/०७४ देखि ०७६/०७७ सम्मको कारोबार मिसम्याच परेका ४०३ जना व्यवसायीहरु रहेका छन् ।

मिसम्याचमा परेका करदाताहरुले चैत मसान्त सम्म कर दाखिला गरेमा मिसम्याचमा परेको रकमको १.५ प्रतिशत मात्र तिर्नुपर्ने गरी छुट सुविधा दिईएको राजश्व कार्यालयले जनाएको छ । चैत मसान्त भित्र कर दाखिला नगरेमा मिसम्याचको ३६ प्रतिशत कर थप हुने जनाईएको छ ।

उद्योग वाणिज्य संघ रुकुम पश्चिमले जिल्लाका सबै करदाता व्यवसायीहरुलाई समयमै मिसम्याच रकमको छुट सुविधा लिन अनुरोध गरेको छ । वाणिज्य संघका अध्यक्ष पहलबहादुर खड्काले चैत २७ गते सम्म उद्योग वाणिज्य संघमा आएर उक्त छुट सुविधाको काम गर्न सकिने बताउँनुभयो । उहाँका अनुसार करदाताको कारोबार भएको रकम राजश्व कार्यालयमा बुझाएको कारोबार फरक परेकोले छुट सहितको सुविधा लिन यो उपर्युक्त अवसर हो ।

उद्योग वाणिज्य संघका अनुसार रुकुम पश्चिमका ६ ओटा स्थानीय तहका ३३७ जना करदाता व्यवसायीको कारोबार मिसम्याचमा परेको छ भने रुकुम पूर्वका ६६ जना व्यवसायीको कारोबार मिसम्याचमा परेको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका १२७, चौरजहारी नगरपालिकामा रहेका ६९, आठबिसकोट नगरपालिकाका ४८, त्रिवेणी गाउँपालिकाका ४७, बाँफिकोट गाउँपालिकाका २४ र सानीभेरी गाउँपालिकाका २२ करदाताको कारोबार मिसम्याचमा परेको छ ।

त्यसैगरी रुकुम पूर्वको सिस्ने गाउँपालिकाका ३९, भूमे गाउँपालिकाका १९ र पुथा उत्तरगंगा गाउँपालिकाका ८ जना व्यवसायीको कारोबार मिसम्याचमा परेको छ ।

वाणिज्य संघका अध्यक्ष खड्काले नेपाल सरकारले करदाताहरुको हितलाई ध्यानमा राखेर आर्थिक ऐन, २०७८ मार्फत विभिन्न छुट सुविधा दिएकोले मिसम्याचमा परेको रकमको कर समयमै बुझाउन उद्योग वाणिज्य संघले सहजिकरण गरिरहेको छ ।

के हो मिसम्याच ?

उद्योग वाणिज्य संघ रुकुम पश्चिमका उपाध्यक्ष दलबहादुर खड्काले खरिद वा बिक्रि कारोबार धेरै गर्ने तर लेखा सम्बन्धिको ज्ञानको अभावका कारण विवरण दुरुस्त नराखि कर कार्यालयमा जानकारी गराउँदा कम अंकको विवरण पेश गरेको, तर वास्तविक कारोबार र करदाताले पेश गरेको कारोबारमा परेको फरक रकम नै मिसम्याच हो ।

आयकर ऐन तथा नियामावलि अनुसार त्यसरी फरक पर्न गएको हिसाब बाफत लाग्ने कर धेरै हुने तर यस पटक नेपाल सरकार अर्थ मन्त्रालयले कुल मिसम्याच रकमको १.५ प्रतिशत मात्र कर बुझाएमा मिसम्याच रकम फरफारक हुने व्यवस्था मिलाईएको छ ।

उपाध्यक्ष खड्काले मिसम्याचमा परेका करदाताहरुलाई संघले जानकारी गराईसकेकाे बताउनुभयाे । जानकारी प्राप्त नभएका करदाताहरुले उद्योग वाणिज्य संघको सम्पर्कमा आउन कार्यालयले आह्वान गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्