सोसल मिडिया
(राजकुमार शर्मा, कम्युनिष्ट आन्दोलनको एउटा सिपाहि हो । सल्यानमा जन्मेर, रुकुममा हुर्केर पश्चिम नेपालको माओवादी आन्दोलन बलियो बनाउने एउटा अविचलित स्तम्भको रुपमा माओवादी भित्र उहाँलाई लिईन्छ । प्रष्ट विचार, सिधा निर्देशन र शैली उहाँका बिशेषता हुन् । कतिपयले बोलिमा छुच्चो भनेर आलोचना गर्छन, तर मनमा कुनै तुष पालेर नबस्ने, कुरा घुमाएर नबोल्ने शैली छ उहाँको । गहन अध्ययन, तथ्यगत प्रस्तुती, संगीत र संस्कृतिप्रति उच्च लगाव उहाँसँग छ । कम्युनिष्ट आन्दोलनमा उहाँको आगमन, योगदान, जनयुद्धको जिम्मेवारी, अप्ठ्याराहरुको सामना, परिवर्तनको सबल पक्ष र जनता बिचको दुरीका बिषयमा उहाँसँग मूलपाटीले गरेको संवाद उहाँकै शैलीमा प्रस्तुत गरेका छौ । - सम्पादक)ठ्याक्कै याद त छैन । सायद २०३४, ३५ सालतिर म जन्मेको सल्यानी भूगोल रुकुममा पर्न गयो । र, म रुकुमेली भए । ०३६ सालको जनमत संग्रहको बेला आयो । म आठ बर्षको थिए । त्यो बेलाका साँझहरुमा अगेनामा बलेको आगोको मधुरो उज्यालोसँगै घरको चुले बैठकमा जनमत संग्रह बारेका घाँईघुई कुरा हुन्थे ।
दाई भन्नुहुन्थ्यो, ‘बहुदललाई भोट दिनुपर्छ यो पाली ।’
बुवा भन्नुहुन्थ्यो, ‘राजतन्त्रसँग लड्ने कुरा गर्नुहुन्न, काँ हुन्छ त्यस्तो ।’
म दिनहुँ उहाँहरुका यस्ता बातचित सुनिरहन्थे । मलाई यस्ले के बुझ्लार ! भनेर वास्ता गर्नुहुन्नथ्यो । बाबुछोराले एकले अर्कालाई कन्भेन्स गर्ने कुरा भैरहेका हुन्थे । छलफल चलिराख्ने, मैले सुनिराख्ने हुन्थ्यो ।
निर्दल र बहुदलको चुनाव भयो । हाम्रो घर नजिकै एउटा गोठमा चुनावी केन्द्र थियो । मलाई त्यतिबेलै देखि चुनाव के हो ? कसो हो ? भनेर जिज्ञासा बढ्न थालेको थियो ।
मेरो दाई चन्द्रप्रसाद शर्माले म जन्मेको बर्ष २०२८ सालमा नै एसएलसी पास गर्नुभएको थियो । सामान्य खोलाटोला (त्यो बेलाको विकटता) मा जन्मेको मान्छे, त्यो लेभलको अध्ययन पुरा गर्नु सामान्य कुरा थिएन उबेला । बुवाले पनि रामायण पढ्ने, अरुलाई सुनाउँने काम गर्नुहुन्थ्यो । गाउँघरमा कागज लेख्ने, कुरा सुनिदिने अगुवा हुनुहुन्थ्यो बुवा । केहि समस्यापर्दा सोधपुछ गर्नेहरुको आउजाउ भैरहन्थ्यो घरमा ।
हाम्रो घरको पल्लोपट्टी ठकुरी खलकको बसोबास थियो, जसले हामीमाथी उत्पीडन गर्थे । हेपेर बोल्ने, कुट्ने, पिट्ने, मुद्धा मामिला गरेर दुःख दिने गर्थे । हामी कमजोर भएर हेपिएर बाँचेको जस्तो लाग्थ्यो ।
म सानै थिए । एकदिन, हाम्रो रोपाईमा आएका एकजना दाईलाई अर्को रोपाईबाट आएकाहरुले कुटेर घाईते बनाईदिए । कुटाकुटको अवस्था सिर्जना भयो । हाम्रो तर्फकाले लखेटे । भोलिपल्ट दार्मातिरबाट सयौ मान्छेहरु आएर घरमा लगाएका केराका बोटहरु काटे, जसलाई भेट्यो उसलाई कुटे, आमाचाकरी बोले, गालि गरे, मनलाग्दी गरे । हामी थोरै घरका थियौ ।
त्यो उपद्रो र दादागीरीको सामु निहिक बन्यौ । भागेर साक्चाको गाउँतिर आयौ । गुहार मागेर ६, ७ दिनसम्म लुकेर बस्यौ । सानो उमेरमा अर्काको घरमा बस्दा, अर्काको घरमा मागेर खानुपर्दा अत्यन्त पीडा भयो, मनमा बेचैनी भयो ।
मेरो बाल मष्तिस्कले बदलाभाव लियो, साह्रै आक्रोश उब्जेको थियो मनमा ।
त्यतिबेला मान्छेले मान्छेलाई यस्तरी किन हेप्छन् होला ? किन अन्याय गर्छन् होला ? किन सोझा र निर्धालाई पेल्छन् होला ? भनेर दिमागमा छाप पर्यो । अलि अलि बुझ्दै पनि गए । सायद ०४१ सालको चैत्र महिनाको कुरा हो । गहुँको नल काट्ने बेला थियो । गर्मी पुरै चढिसकेको थिएन, जाडो पनि थिएन । हाम्रै घरमा मोटो मसाल नजिकको अ.ने.रा.स्व.वि.यु.को क्षेत्रिय भेला भयो । भेला, बैठक हुने कुरा मलाई त्यतिन्जेल जानकारी भएको थिएन ।
रुकुम, जाजरकोट र केहि सल्यानका सरहरु हुनुहुन्थ्यो । जसमध्ये मैले जितबहादुर शाह, यदु गौतम, घमण्ड शाह, हेमन्त प्रकाश ओली, कवि चन्द, केशव केसीलाई चिन्दछु । उहाँहरु मेरो दाईको सम्पर्कमा आउनुभएको थियो । त्यो बेलाको पञ्चायतकालको जगजगीको कारण हो या किन हो दाई घर छोडेर अन्तै कता जानुभयो । उहाँ स्वास्थ्य चौकीको जागिरे पनि हुनुहुन्थ्यो ।
त्यतिबेला जितबहादुर शाह र यदु गौतम दाईले मलाई एक घण्टाको क्लास दिनुभयो । भन्नुभयो, ‘हामी केहिदिन यतै बस्छौ, यो कुरा कहि कसैलाई नभन्नु, सुँईकोसम्म नदिनु, आफ्नो मिल्ने साथीलाई पनि नभन्नु ।’ जतिजति उहाँहरुले मलाई सम्झाउँनुभयो, उति धेरै यिनीहरुले के गर्न लागेछन् भनेर जिज्ञासा बढ्न थाल्यो । काउकुती हुन थाल्यो ।
सम्झाएपछि मलाई पनि गोठमा भैरहेको बैठकमा सहभागी बनाए । कोठाको झ्यालतिर बसाले । कोहि आँउछन् कि भनेर बेला बेला हेर्न लगाउँथे । पानी चाहिदा जाउ बाबु लिएर आउ भनेर जर्किन दिन्थे । म हतार हतार ड्युटी पुरा गर्थें । त्यति बेला उनीहरु दुई दिन बसे । क्षेत्रिय भेला सक्काए ।
मलाई त्यो भेलामा सहभागी भएपछि दुई ओटा कुरा याद छ । पहिलो, राजतन्त्रको ज्यादती, परिवारीक राजकाजको कुरा, बाउ मरेपछि छोराले राजकाज चलाउने, जे भने त्यहि हुने, जे चाह्यो त्यहि हुने, एकतन्त्रिय शासन चलाई राखेका छन् भन्ने कुरा मलाई अलिअलि याद आउँछ ।
अर्को, नैतिक शिक्षाको बारेमा गरेको कुराको याद छ । नैतिक शिक्षा आवश्यकता त छ, तर धर्मसँग सम्बन्धित र ठुलाबडाको जिहजुरीसँग सम्बन्धित छ, बिन्तिभाउवाला यस्तो शिक्षा ठिक छैन । यस्को बिरुद्धमा लाग्नुपर्छ, बिद्यार्थीले आन्दोलन गर्नुपर्छ भनेर गरेको रिपोर्टिङ तथा छलफल याद छ ।
भेला सकाएर जाने बेलामा यदु गौतमले मलाई सम्झाई बुझाई गरेर भन्नुभयो, ‘यो बिद्यार्थीको सगंठन हो, हामीसँग अहिले सदस्यता त अहिलै छैन । तर तिमी आजदेखि सदस्य भयौ, सदस्यता कार्ड भएको बेला दिउँला ।’ अब म भनेर उधारो सदस्यता प्राप्त गरेर पनि संगठनको जिम्मेवारीमा लागे । म समाजको गतिबधि हेरिराख्ने, नियालिराख्ने मान्छे भए ।
पढाईको शिलसिलामा खलंगाको मामाघरमा आए । ०४३ सालमा इकाई कमिटिको सदस्य भए । त्यो बेला त्रिभुवन जनता उच्च मावि र यमुना नन्द नमुना माविको एउटै इकाई कमिटि थियो । मेरो जिम्मा सेरीगाउँको स्कुलमा पर्यो ।
बिद्यार्थीको छैठौ जिल्ला सम्मेलन भलाक्चाको लहुँमा भयो । जंगलको एउटा गोठमा, एकरात एकदिन लुकेर सम्मेलन गर्यौ । सबैका रिपोर्ट पनि सुने । मलाई खानपानले साथ दिएन सायद, बान्ता हुन थाल्यो । भटमास र मकै चपाएर बसे ।
हाम्रो बिद्यार्थी संगठन बिस्तार नभएको चौरजहारी र खोलागाउँमा थियो । मलाई त्यतैको जिम्मेवारी आयो । २०४४ सालतिर खोलागाउँमा गएर मेरै अध्यक्षतामा इकाई कमिटि बनाए । त्यसपछि चौरजहारी गएर मेरै अध्यक्षतामा संगठन बनाए । यी दुबै बिद्यालयमा संगठन बनाएर अब्बल हुनु चानचुने कुरा थिएन । त्यो बेला चौरजहारीमा ३६० जना बिद्यार्थी थिए । ६० जना अन्त हुँदा हुन्, ३०० जनाको नेतृत्व मैले नै गरेको थिए । अघिल्लो चरणमा यदु दाईहरुको टिमले तहल्का मच्चाएको थियो, त्यसपछि मैलै पकड जमाए ।
२०४५ को नवौ जिल्ला सम्मेलनबाट बिद्यार्थीको जिल्ला कमिटिमा निर्वाचित भए । त्यसपछि ०४६ सालमा मैले पार्टी सदस्यता पाए । पार्टी सदस्यता पाउँन असाध्यै गाह्रो हुन्थ्यो । कडा अनुशासन पालना गर्नुपथ्र्यो । त्यो मेरा लागि महत्वपूर्ण प्राप्ती थियो ।
०४३ साल देखि नै होलटाईमर थिए । ०४७ साल देखि युवाहरुको टिममा आए । त्यसपछि जिल्लाको लडाकु दल, छापापार संगठनमा आए । त्यहि दलले नै २०५२ मा जनयुद्धको थालनी गरेको हो । अनि पार्टीले मलाई लडाकु दलबाट सांगठानिक जिम्मेवारीमा तान्यो । सांगठानिक विस्तारमा मेरो आवश्यकता पार्टीले बुझेर यता तानेको हुनुपर्छ । २०५४ साल सम्ममा जिल्लामै काम गरे । २०५४ सालको अन्तिममा साबिकको कर्णालीमा मेरो सरुवा भयो ।
म कर्णाली जाने बेला कर्णाली उपब्युरो थियो । कर्णाली उपब्युरो अन्तर्गत कर्णालीले छेकेको कालिकोटको वाल्लो क्षेत्र, बाजुराको वाल्लो भेग, मुगु कर्णालीले छेकेको मुगु र पुरै जुम्लाको एउटा जिल्ला कमिटि थियो ।
त्यहाँ हामी तीन जना जिल्ला कमिटिका सदस्य थियौ । तिलक शर्मा (हिमाल), नेत्र विक्रम चन्द (विप्लव) र म । त्यहि तीन जना जिल्ला कमिटिले कर्णालीमा माओवादी आन्दोलनको बिस्तार गर्यौ । डिसिएसको जिम्मेवारीमा रहेका हिमाल गिरफ्तारमा पर्नुभयो । पछि दुई जनाले मात्र संगठन बिस्तार गर्नमा लाथ्यौ ।
क्रमश .......(नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार शर्मा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख हुनुहुन्छ । रुकुमबाट कर्णाली जाँदा चेक पोष्टमा सेना प्रहरीसँगको संवाद तथा संयोग, विप्लवसँगको भेट, करिब शुन्य अवस्थामा रहेको माओवादी संठगनको विस्तार, असहजता, चुनौती, कर्णालीमा माओवादी विस्तारको अस्त्र लगायत चाख लाग्दा उहाँका अनूभुति अर्को श्रृंखलामा समेट्नेछौ । )