Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
भूमे गाउँपालिका

आर्थिक विकासका लागि कृषिमा उल्लेखनीय काम

१४६ परिवार व्यवसायीक कृषिमा आवद्ध
२०७८ चैत २०
tribeni2

रुकुम पूर्व / 'अर्गानिक उत्पादन : भूमेको पहिचान' भन्ने नारालाई जोड दिएको रुकुम पूर्वको भूमे गाउँपालिकाले आर्थिक विकासको मुख्य माध्याम कृषिलाई लिएको जनाएको छ ।

कृषिको क्षेत्रमा उल्लेखनिय कार्य गरेको गाउँपालिकाले आज आईतबार उत्कृष्ट कार्यहरु सार्वजनिक गर्ने क्रममा कृषि क्षेत्रलाई आर्थिक विकासको मुख्य क्षेत्र तय गरेको जानकारी गराएको हो ।

गाउँपालिकाले पहिलो स्थानीय सरकारले हालसम्म सम्पादन गरेका कार्य प्रगतिहरु सार्वजनिक गर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिं श्रेष्ठले आर्थिक विकासका लागि कृषि क्षेत्रमा गरेका उल्लेखनिय कार्यहरु जानकारी गराउनुभएको हाे ।

स्थानीय सरकारको आधार वर्षमा व्यवसायीक कृषि गर्ने किसानहरुको तथ्यांक नभएको तर अहिले गाउँपालिकाका १४६ परिवार व्यवसायीक कृषिमा लागेको बताईएको छ । गाउँपालिकामा तरकारी र फलफुल व्यवसायको राम्रो सम्भावना गरेकोले कृषक लक्षित कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

उहाँले रैथाने बाली उत्पादनमा अनुदान दिनुका साथै मागमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेर कृषि उत्पादनको लागि गाउँपालिकाले काम गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले उल्लेख गर्नुभयो । गाउँपालिकामा मारिङ एकीकृत कृषि अनुसन्धान केन्द्र स्थापना गरेको जानकारी दिनुहुँदै उहाँले गाउँपालिकाको दुई स्थानमा (खाबाङबगर र चुनबाङ) कृषि उपज सङ्कलन तथा भण्डारण केन्द्र निर्माण गरिएको बताउनुभयो ।

मारिङ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालन गर्ने गरी सहकारी बजार स्थापना गरिएकोले उक्त कार्य नमुना योग्य रहेको छ । गाउँपालिकाले कृषि उपजको संकलन तथा भण्डारणका लागि गाडीको व्यवस्था र व्यवसायिक कृषितर्फ आकर्षण वृद्धि गर्न महत्वपूर्ण काम गरेको बताएको छ ।

गाउँपालिकाको वडा नम्वर १,२, ६ र ७ मा आलु पकेट क्षेत्र, वडा नम्वर ३,४, ५ र ६ मा केरा पकेट क्षेत्र, वडा नम्वर ४, ५ र ८ मा सुन्तला र गाउँपालिकाको अन्य स्थानमा तरकारी बालीको पकेट क्षेत्र स्थापना गरेर कृषि मार्फत आर्थिक विकास गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

एक घर एक करेसाबारी निर्माण कार्यक्रम, एक घर १० फलफूल विरुवा रोपन अभियान सञ्चालन गरेको गाउँपालिकाले महिला कृषि सहकारी मार्फत उन्नत गहुँ बीउको स्रोत केन्द्र समेत स्थापना गरेको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामसुर बुढाले बिभिन्न अवसर र चुनौतिको सामना गर्दै गाउँपालिका यहाँसम्म आएको बताउँनुभयो । उहाँले जग कस्तो बनाउने भन्ने कुरामा अध्ययन गर्दै गर्दा विभिन्न चरण पार गरेर गाउँपालिकाको विकासको लागि सक्दो गरेको उल्लेख गर्नुभयो । सरकारले गरेका कामहरु जनतालाई जानकारी गराउनु महत्वपूर्ण रहेकोले आज पहिलो कार्यकालमा सम्पादन गरेका प्रगतिहरु सार्वजकि गरेको अध्यक्ष बुढाले बताउनुभयो ।

गाउँपालिकाको कार्यालयमा जिल्लाका विभिन्न राजनीतिक दलहरु, पत्रकारहरु, स्थानीय बुद्धिजिवी तथा सर्वसाधारणहरुको उपस्थितिमा प्रगति विवरण सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्