संविधान जोगाउनकै लागि गठबन्धन : डा. पौडेल

'ओलीलाई कारबाहि गर्ने अवस्था आएमा कम्यूनिष्ट एकता हुन्छ'
२०७८ चैत २३

रुकुम पश्चिम / नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. बिजय पौडेलले संविधान र व्यवस्था जोगाउँन कै लागि गठबन्धन गरेको बताउँनुभएको छ । उहाँले आफ्नो पार्टीको तर्फबाट आउँदो चुनावसम्म गठबन्धन जोगाउने प्रयास रहने समेत बताउनुभएको छ ।

बुधबार समाजवादी प्रेस संगठन रुकुम पश्चिमले मुसिकोटमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहँदै पौडेलले चुनावपछि संविधान खतराबाट जोगिने र गठबन्धन पनि त्यहाँसम्म जोगाउने प्रयासमा रहको प्रष्ट पार्नुभयो ।

कम्यूनिष्ट आन्दोलन समाप्त हुने डरले नयाँ पार्टी निर्माण गरेको बताउँदै उहाँले एमाले अध्यक्ष केपी ओलीलाई कारबाहि गर्ने अवस्था आएमा कम्यूनिष्ट एकता हुने जनाउँनुभयो । 'वर्ग संघर्षको कारण नेपाली काङ्ग्रेससङ्ग सधै गठबन्धन गर्न सकिन्छ कि सकिँदैन त्यो समयले बताउँला,' उहाँले भन्नुभयो, 'कम्यूनिष्ट एकता अहिलेको आवश्यकता हो ।'

डा. पौडेलले राजनीति बिचौलीयाले कब्जा गर्दा देश संकटमा परेको उल्लेख गर्नुभयो । एउटै मान्छे कतिबेला राप्रपाको सांसद बन्ने, कतिबेला काङ्ग्रेस र कहिले कम्यूनिष्ट बन्ने गरेको बताउँनुभयो ।

राम्रो विचार भएको पार्टी स्थापनाको ६, ७ महिनामा मै राष्ट्रिय पार्टी बनेको विश्व इतिहास रहेको बताउँदै उहाँले एउटा चुनाव हार्दैमा नयाँ पार्टीलाई केही फरक नपर्ने जनाउँनुभयो । ठिक समयमा ठिक एजेन्डा उठाउने पार्टी बलियो छिट्टै बन्ने विश्वास उहाँले राख्नुभयो ।

आसन्न चुनावमा तत्कालिन नेकपा एमालेको मत नै एकिकृत समाजवादीको मत हुने उहाँले उल्लेख गर्नुभयो । कम्यूनिष्ट एकता गर्दा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोप्य रुपमा आलोपालो गर्नेगरी एकता गरेकोले टिकाउ हुन नसकेको उहाँको भनाई छ । उहाँले षड्यन्त्रपूर्वक गरिएको एकता टुट्न सक्छ भन्ने उतिबेलै लागेको समेत बताउँनुभयो ।

समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अमरराज पुनले सञ्चालन गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा पार्टीका पोलिट्ब्युरो सदस्य शेरबहादुर केसी, कर्णाली प्रदेशका सचिव ठकेन्द्र प्रकाश पुरी, जिल्ला इन्चार्ज देवी ओली, सह इन्चार्ज बिमल कुमार पुन, जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्