रुकुमकोटमा आयोजित भलिबल प्रतियोगिता निसीखोलाको हातमा

२०७८ चैत २३

रुकुम पूर्व / रुकुम पूर्वको रुकुमकोटमा आयोजित भलिबल प्रतियोगितामा बाग्लुङको टिमले प्रथम स्थान हाँसिल गरेको छ । कमलदह प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण केन्द्रले सिस्ने गाउँपालिका ६ मा आयोजना गरेको खुल्ला वडा स्तरिय भलिबल प्रतियोगितामा बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर ३ ले प्रथम स्थान हात पारेको छ ।

निसिखोलाले नगद एक लाख सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बुधबार भएको फाइनल खेलमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ लाई ३-० को सेटमा पराजित गर्दै निसीखोला प्रथम भएको हो ।

दोस्रो स्थान प्राप्त गरेको बाँफिकोट ३ ले नगद ६० हजारको साथमा कप, मेडल र प्रमाणपत्र हात पारेको छ भने तस्रो स्थान आएको सिस्ने गाउँपालिका वडा नम्बर ६ ले नगद ४० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त भूमे गाउँपालिका वडा नम्बर ४ ले नगद २० हजारको साथमा प्रमाणपत्र पाएको छ ।

पुरुष तर्फको प्रतियागितामा रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा र बाग्लुङ जिल्लाका गरी २३ टिमले प्रतिस्पर्धा गरेको आयोजकले जानकारी दिएको छ ।

यस्तै ७ टिमले प्रतिस्पर्धा गरेको महिला भलिबल प्रतियोगिता तर्फ भूमे गाउँपालिका वडा नम्बर ९ चुनवाङ प्रथम भएको छ । फाइनलमा भूमे गाउँपालिका वडा नम्बर १ लुकुमलाई ३-० सेटमा पछि पारेर भूमे ९ प्रथम भएको हो ।

महिलातर्फको भलिबल प्रतियोगितामा ब्राहा युवा क्लब भूमे गाउँपालिका वडा नम्बर १ दोस्रो भएको छ। सोहि वडाको धुपीसल्ला युवा क्लब भने तेस्रो भएको कमल दह प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण केन्द्रका सचिव देबबहादुर हमालले जानकारी दिनु भयो ।

प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल टिमले नगद ५१ हजार, ३१ हजार र २१ हजारको साथमा कप, मेडल र प्रमाणपत्र हात पारेका छन् । यस्तै सान्त्वना स्थान प्राप्त गरेको सिस्ने गाउँपालिका वडा नम्बर ८ ले नगद ११ हजारको साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  २०:०४
प्रतिक्रिया दिनुहोस्