सोसल मिडिया
रुकुम, माओवादी किल्ला । जनयुद्धको आधारभूमि । माओवादी कार्यकर्ता कै शब्दमा ‘लालकिल्ला’ । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीले 'क्लिन स्विप' गरेको जिल्ला । स्थानीय, प्रदेश र संघीय सरकारमा माओेवादीकै प्रतिनिधित्व । चर्चित नेता तथा बहालवाला अर्थमन्त्रीको जिल्ला । सम्भवत: यसैगरी चिनिन्छ, चिनाईन्छ ।
केन्द्र तथा प्रदेशमा माओवादी र काँग्रेसकै सहकार्यमा सरकार छ । आसन्न चुनावमा पनि गठबन्धन गरेर लड्ने निर्देशन छ । रुकुममा भने यी दुई पार्टी मिल्नु र चुनाव लड्नु अस्वाभाविक ठान्छन् कार्यकर्ताहरु ।
आसन्न स्थानीय तहको निर्वाचनको लागि रुकुम पश्चिममा नेपाली काँग्रेसले आफ्नो शान, औकात र बर्कत बढेको भन्दै सम्भावित चुनावी सत्ता गठबन्धनलाई चुनौति दिईरहेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा १३ ओटा वडाध्यक्षमा जितेको काँग्रेसले अहिले मागेको छ, ३० ठाउँमा वडाअध्यक्ष । २ ओटा नगरपालिका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, एक गाउँपालिका अध्यक्ष, एक नगर उपप्रमुख, दुई गाउँपालिका उपाध्यक्ष । यहि बटमलाईनमा अडिक देखियो काँग्रेस । कतिपयले यसलाई काँग्रेसले सुधारको संकेतको रुपमा लिएका लिएका छन् भने कतिपयले अस्वभाविक शान प्रकट गरेको अर्थमा लिएका छन् ।
जिल्लाका ७३ ओटा वडा मध्य ५८ मा जितेको, ४ ओटामा मिश्रित परिणाम आएको सन्दर्भ अनुसार तालमेल गर्नुपर्ने माओवादीको दाबीले उसको पुरानै रवाफ प्रष्ट पारेको पनि छ । जिल्लाका तीन नगरपालिका प्रमुख र उपप्रमुख र ३ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा आफ्नो दाबी पेश गर्न छोड्ने संकेत माओवादीको । तीनै तहका सरकार सञ्चालनमा सफलता मिलेको, जनताको माग अनुसार मन जितेको माओवादीको बुझाई छ । यसैले पनि उसले आफ्नो जित निश्चित हुँदाहुँदै अरुलाई स्थानीय सरकारको चाबि दिने अवस्था देखिदैन ।
नेपाली काँग्रेस भने जनलहर आफ्नो पक्षमा रहेको भन्ने पक्षमा छ । आफ्नो लोकप्रिय र आकर्षक नारा र योजनामा भने काँग्रेस चम्किएको देखिदैन । माओवादीको पालो पुग्यो, उनीहरुकै कार्यकर्ता रुष्ट छन्, आफुलाई मत दिन्छन्, नाता र स्वार्थमा लिप्त भए जस्ता कुराले काँग्रेस जित्ने अभिलाषामा छन् । काँग्रेसले कार्यकर्ताले आफुलाई अप्ठ्यारोपर्दा पार्टीले साथ नदिएको, कार्यकर्ताको संरक्षण पार्टीले गर्न नसकेको, जिल्लाको चुनावमा पैसासँग पद साटेको भन्ने आरोपको पर्वाह गरेको छैन यतिबेला । काँग्रेसको यो शान, तालुमा आलु फलाउने दाउ हुनसक्ने आँकलन पनि छ ।
माओवादी र काँग्रेसकै दाबी पेश भरिभराउ हुँदा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, र राष्ट्रिय जनमोर्चा पनि अस्वाभाविक दाबीमा छन् । नेकपा (एकिकृत समाजवादी) ले एक पालिका प्रमुख, दुई वा सो भन्दा बढी उप प्रमुख र १९,२० ओटा सम्म वडा अध्यक्ष पाउँनुपर्ने दाबी राखेको छ । उसले विगतको सिंगो एमालेको मत आफ्नै दाबी गरिरहेको छ । तर, कार्यकर्ताको लस्कर भने छैन समाजवादीमा ।
जसपाले एक ओटा पालिका उप प्रमुख सहित ११ ओटा वडा अध्यक्ष दाबी पेश गरेको बताईन्छ भने राष्ट्रिय जनमोर्चाले एक वडा अध्यक्ष, ६ ओटा वडा सदस्य र जिल्ला समन्वय समितिमा महिला सदस्य पाउँनुपर्ने दाबी पेश गरेको छ । यी दुवैमा दाबी गठबन्धनको नाममा थाप्न सकिने पुरस्कार जस्तै हुन् । माओवादीले कठै मानेर वा लचकता देखाएर आफ्नो लहर कमजोर पार्न नसक्ने पक्का छ ।
साझा सहमति हुने सम्भावना क्षिण जस्तै छ । दाबी पेश भएका मागहरु सबैका अस्वाभाविक छन् । आवश्यकता महशुस गरिएको भए कार्यकर्ताले पनि ठिकै छ हो भन्ने गरी प्रस्ताव हुनुपर्नेहो । तर यहाँ, माओवादी र काँग्रेसलाई गठबन्धन नचाहिएको जस्तो हुँकार आईरहेको छ । विगतको सशस्त्र द्वन्द्वका प्रमुख द्वन्द्वरत दलहरु एक हुने र त्यो तित्तता कम गर्ने अवसर पनि हो गठबन्धन । एक भएर लड्ने, विकासका मुद्धा साझा बनाउने मौका पनि हो ।