सोसल मिडिया
दैलेख / स्थानीय तहको चुनावमा भागवण्डा मिलाउन बसेको सत्तारुढ दलहरूको बैठक विनानिष्कर्ष टुंगिएको छ ।
दैलेखमा सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) दल आ–आफनो अडानबाट पछि नहटेपछि सहमति जुट्न नसकेको हो ।
स्थानीय तहको नेतृत्व बाँडफाँट नटुंगिएकाले सोमबार दिउँसो फेरि बैठक बस्ने मात्र सहमति भएको छ । दैलेखमा माओवादी र एकीकृत समाजवादीले ५० प्रतिशत पाउनुपर्ने अडान लिएका छन् । तर काँग्रेस दिन तयार छैन् ।
स्थानीय निर्वाचन २०७४ मा दैलेखका ११ स्थानीय तहमध्ये ४ पालिकामा नेपाली कांग्रेसले जितेको थियो भने ७ पालिकामा नेकपा एमालेले जितेको थियो ।
दैलेखमा नेकपा एमाले विभाजित हुँदा एक पालिका प्रमुख र तीन उपप्रमुख एकीकृत समाजवादीतिर लागेका छन् । जिल्लामा आफ्नो पकड राम्रो रहेको भन्दै एकीकृत समाजवादीले तीन पालिकाको नेतृत्व आफूले पाउनुपर्ने अडान लिएको छ ।
जिल्लामा कांग्रेसले ७, माओवादीले तीन र एकीकृत समाजवादीले तीन पालिकाको नेतृत्व पाउनु पर्ने बताउँदै आएका छन् ।