सोसल मिडिया
रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारहरुको टुंगो लगाएको छ ।
आज सोमबार बसेको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ गठित उम्मेद्वार छनोट तथा सिफारिस समितिको बैठकले पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरु टुङ्गो लगाई प्रदेश समितिमा सिफारिस गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र), रुकुम पश्चिमका प्रचार विभाग प्रमुख ध्रुब बिक्रम बुढाथोकीले जानकारी दिनुभयो।
उहाँका अनुसार चौरजहारी नगरपालिका प्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी कुमारी शर्मा विएमको नाम सिफारिस गरिएको छ । त्यसैगरी आठविसकोट नगरपालिकाको प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाहीलाई सिफारिस गरिएको छ ।
मुसिकोट नगरपालिकाको प्रमुखमा वसन्त कुमार शर्मा र उपप्रमुखमा मिलन खड्कालाई सिफारिस गरिएको बुढाथोकीले जानकारी दिनुभयो ।
त्यसैगरी सानीभेरी गाउँपालिकाको अध्यक्षमा बिर्ख बहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुनलाई सिफारिस गरिएको छ भने त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गणेश कुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउलेलाई सिफारिस गरिएको छ । बाँफिकोट गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसीलाई चयन गरेर सिफारिस गरिएको छ ।
बैठकले जिल्ला समन्वय समिति प्रमुख पदको लागि महिला उम्मेद्वार बनाउने निर्णय गरेको छ भने गठबन्धनको निर्णय कार्यान्वयन गर्नको लागि आवश्यक परेमा जोकोहीको पनि उम्मेद्वारी फिर्ता हुनसक्नेछ जनाईएको छ ।