नगर प्रमुखमा बागी उम्मेदवारी दिने वडा अध्यक्षको घोषणा

माओवादीले ज्यादती, मनोमानी, अराजकता, तानाशाही प्रवृति र एकल निर्णय गरेको आरोप

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्षले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिने जनाउँनुभएको छ ।

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष मानबहादुर चनाराले सामाजिक सञ्जाल फेसबुकमा नगर प्रमुख पदको लागि बागी उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उहाँले माओवादीले आठबिसकोट नगरपालिकामा ज्यादती, मनोमानी, अराजकता, तानाशाही प्रवृति देखाएको र एकल निर्णय गरेको भन्दै बागी उम्मेदवारी दिने उल्लेख गर्नुभएको छ ।

सोमबार नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु सिफारिस गर्ने निर्णय गरेको थियो । स्थानीय तहको निर्वाचन प्रयोजनार्थ गठित उम्मेदवार छनौट तथा सिफारिस समितिको बैठकले पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरु टुङ्गो लगाई प्रदेश समितिमा सिफारिस गर्ने निर्णय गरेपछि वडा अध्यक्ष चनाराले आफुले बागी उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

आठविसकोट नगरपालिकाको प्रमुखमा रवि के.सी. र उपप्रमुखमा धनकुमारी शाहीलाई पार्टीले उम्मेदवारको लागि सिफारिस गरेको छ ।

वडा अध्यक्ष चनाराले फेसबुकमा सार्वजनिक गर्नुभएको उम्मेदवारी घोषणा

 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्