Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा एक नगर प्रमुख र ६ वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी दर्ता

पार्टीबाट टिकट नपाएहरुबाट स्वतन्त्र उम्मेदवारी दर्ता गर्दै
२०७९ वैशाख १२
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा एक नगर प्रमुख र ६ जना वडा अध्यक्षहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आफू आवद्ध राजनीतिक दलबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी हालेको बुझिएको छ ।

सोमबार दिउँसो दुई बजे सम्म मुसिकोट नगरपालिकाको नगर प्रमुखमा बिरबल केसीले उम्मेदवारी दर्ता गराउँनुभएको छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मुसीकोट १ को वडाध्यक्षमा निर्वाचित बिरबल केसीले मुसीकोटको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केसीले नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी वडा नम्बर १ को अध्यक्षका लागि पनि स्वतन्त्रबाट उम्मेदवारी परेको छ । मुसीकोट नगरपालिका १ का कालिबहादुर महताराले वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनुभएको हो । उहाँ नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका मुसीकोट नगर निर्वाचन परिचालन समितिका संयोजक समेत हुनुहुन्छ ।

त्यसैगरी चौरजहारी नगरपालिका वडा नम्वर १ मा यज्ञश बिष्टले स्वतन्त्र उम्मेदवारी दर्ता गराउँनुभएको छ । नेपाली काँग्रेसको वडा सभापति समेत रहनुभएका बिष्टले पार्टीले आफूलाई टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।

चौरजहारी नगरपालिका वडा नम्वर ३ मा प्रेमबहादुर मल्लले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराउँनुभएको छ । त्यसैगरी चौरजहारीकै १० नम्वरमा दुई जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउँनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयमा चौरजहारीमा अमरबहादुर बुढा र जगबिर पुनले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । अहिलेसम्म चौरजहारीमा चार जना स्वतन्त्र उम्मेदवारले वडा अध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत द्रोणदत्त पौडेलले जानकारी दिनुभयो ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा पनि स्वतन्त्र उम्मेदवारी परेको छ । वडा अध्यक्ष सहित ३ जना सदस्यले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । अध्यक्षमा सुन्दर ओलीले मनोनयन दर्ता गराउँनुभएको छ । अध्यक्षमा मनोनयन दर्ता गर्ने ओली माओवादी केन्द्रको त्रिवेणी गाउँपालिकाको वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । 

त्यस्तै महिला सदस्यमा कमला बोहरा, दलित महिला सदस्यमा लालसरा कामी र खुला सदस्यमा खडकबहादुर पुनले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत कृतबहादुर बस्नेतले बताउनुभयो ।

जिल्लाको बाँफिकोट गाउँपालिकामा पनि एक जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । गाउँपालिकाको वडा नम्बर १ को महिला सदस्यमा नन्दी खत्रीको उम्मेदवारी परेकोे निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्