Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
स्थानीय तह निर्वाचन

काँग्रेससँग तालमेल गर्नलाई निर्वाचन कार्यालयमै फेरिए एमालेका उम्मेदवार

माओवादी र समाजवादीको पनि गठबन्धन
२०७९ वैशाख १३
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको उप प्रमुख पदको लागि नेकपा एमालेबाट सिफारिस हुनुभएकी डण्डी कार्कीको उम्मेदवारी नगर प्रमुख पदमा दर्ता भयो । सोमबार स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न चौरजहारी स्थित निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा उपप्रमुखबाट नाम हटाएर प्रमुख पदमा मनोनयन दर्ता गरियो । उपप्रमुखमा भने नगर प्रमुखको लागि पार्टीले सिफारिस गरेका टंकप्रसाद ओलीको उम्मेदवारी परेको छ ।

मुसिकोट नगरपालिकामा नगर प्रमुखको लागि पार्टीबाट निर्णय भएका थलबहादुर ओलीले पनि अन्तिम समयमा उप प्रमुख पदमा उम्मेदवारी दर्ता गराउँनुभयो । उप प्रमुख पदमा पार्टीले उम्मेदवारीका लागि निर्णय गरेकी चन्द्री महतारालाई हटाएर प्रमुख पदमा अन्जना चन्द गौतमको नाम मनोनयन दर्ता गरियो । यो पनि उम्मेदवारीको अन्तिम समयमा मुख्य निवर्वाचन अधिकृतकै कार्यालयमा फेरिएको एमालेको निर्णय हो ।

उम्मेदवारी दर्ताको अन्तिम समयमा नेपाली काँग्रेस र नेकपा एमालेले रुकुम पश्चिममा चुनावी तालमेल गर्नेगरी पार्टीले सिफारिस गरेका उम्मेदवार परिवर्तन गर्नुपरेको एमाले रुकुम पश्चिमले जनाएको छ । एमालेका उम्मेदवाहरुको उम्मेदवारी दर्ता पार्टीले सिफारिस गरेको भन्दा भिन्न तरिकाले भएको छ । काँग्रेससँग तालमेल हुने सम्भावनालाई स्विकार गरेर एमालेले निर्वाचन कार्यालय पुगेपछि उम्मेदवार परिवर्तन गर्न पुगेको छ ।

नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले उम्मेदवारी दर्ताको अन्तिम अवस्थामा निर्णय बदल्नुपरेको बताउँनुभयो । उहाँले एकदमै तनावग्रष्त अवस्थामा निर्णय गर्नुपरेको उल्लेख गर्नुभयो । काँग्रेसले बेलैमा छलफल नगरेर अन्तिम समयमा तालमेलको प्रस्ताव गर्दा यसो गर्नुपरेको उहाँको भनाई छ ।

जिल्लाका लगभग सबै स्थानीय तहमा कांग्रेस–एमाले गठबन्धन बन्ने देखिएको छ । कांग्रेसले प्रमुख र अध्यक्ष तथा एमालेले उपप्रमुख र उपाध्यक्ष लिने गरी उम्मेदवारी दर्ता भएको देखिन्छ । अहिले दुवै दलले प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षमा आ–आफ्नै उम्मेदवार बनाएपनि पछि उम्मेदवारी फिर्ता लिने गरी तयारी भएको छ ।

जिल्लाको आठबिसकोट नगरपालिकामा पनि नगर प्रमुख र उपप्रमुखको उम्मेदवारी परिवर्तन गरेर दर्ता गरिएको छ । पार्टीबाट नगर प्रमुखमा सिफारिस हुनुभएका दिनेश चन्दले उप प्रमुखमा उम्मेदवारी दर्ता गराउँनुभएको छ भने उप प्रमुखमा सिफारिस हुनुभएकी कृष्ण कुमारी मल्लले प्रमुखमा उम्मेदवारी दर्ता गराउँनुभएको छ । यहाँपनि नगर प्रमुखमा काँग्रेस र उप प्रमुखमा एमालेलाई सहयोग गर्नेगरी कुरा मिलाईएको छ । आठबिसकोटमा ८ वडा वडा नेपाली काँग्रेस र ६ ओटा वडा एमालेको भागमा परेको छ ।

जिल्लाको सानीभेरी गाउँपालिकामा पनि अध्यक्षका रुपमा एमालेको तर्फबाट उम्मेदवार सिफारिस गरिएका प्रकाश खड्काले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउँनुभएको छ । उहाँले नेपाली काँग्रेससँगको चुनावी तालमेल हुने भएपछि उपाध्यक्षमा सिफारिस हुनुभएकी पवित्रा डाँगीलाई रोकेर आफूले मात्र उपााध्यक्षमा उम्मेदवारी दर्ता गरेको बताउँनुभयो । उहाँका अनुसार एमालेले तीन ओटा वडामा मात्र वडा अध्यक्ष उम्मेदवारी दर्ता गराएको छ । पालिका अध्यक्ष र अरु सबै वडामा काँग्रेसका उम्मेदवारलाई एमालेले सहयोग गर्ने उहाँले बताउँनुभयो ।

दुई पालिकामा छलफल हुँदै

जिल्लाको बाँफिकोट र त्रिवेणी गाउँपालिकामा भने हालसम्म एमालेसँग तालमेलको कुरा मिलेको छैन । यी दुवै पालिकामा भने एमाले र काँग्रेसले पार्टीले गरेको सिफारिस अनुसार नै उम्मेदवारी दर्ता गराएका छन् । बाँफिकोटमा नेपाली काँग्रेसका जनकुमार बाँठा र नन्दा केसीले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ भने एमालेका गणेशकुमार केसी र देउमी पौडेलले उम्मेदवारी दिनुभएको छ ।

त्रिवेणी गाउँपालिकामा नेपाली काँग्रेसका अमरसिंह खड्काले अध्यक्षमा र सुष्टि बाँठा मगरले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेका चोपलाल खड्का र धनकला बिष्टले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी हाल्नुभएको छ । एमालेबाट गाउँपालिका अध्यक्षको लागि सिफारिस हुनुभएका डिल्लीबहादुर ओलीले भने स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत कृतबहादुर बस्नेतले जनाउँनुभयो ।

रुकुम पश्चिममा केन्द्रीय सर्कुलर अनुसार सत्ता गठबन्धन बन्न नसकेपछि कांग्रेसले एमालेसंग तालमेल गरेको हो । केन्द्र र प्रदेशले सत्ता गठबन्धन भन्दा बाहिर गएर गठनबन्धन नगर्न चेतावनी दिएपनि रुकुम पश्चिममा भने कांग्रेसले नेकपा एमालेसंग सत्ता गठबन्धन गर्ने भएको हो ।

माओवादी – समाजवादी गठबन्धन

जिल्लाका केहि पालिकाहरुमा नेकपा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) ले गठबन्धन गर्ने भएका छन् । मुसीकोट नगरपालिकामा भने माओवादी केन्द्रले नगरप्रमुख सहित १३ ओटा वडा अध्यक्ष र समाजवादीले उप प्रमुख सहति एक ओटा वडा लिने गरेर सहमति पूर्वक उम्मेदवारी दर्ता गरिएको छ । नगर प्रमुख र उप प्रमुखमा दुवै पार्टीका केन्द्रीय सदस्यहरु वसन्त कुमार शर्मा र बिमल कुमार पुनले उम्मेदवारी दर्ता गराउँनुभएको छ ।

आठबिसकोट नगरपालिकामा पनि समाजवादीबाट नगर प्रमुखमा सिफारिस हुनुभएका हरिप्रसाद शर्माले उप प्रमुखमा र उप प्रमुखमा सिफारिस हुनुभएकी भगवती शाहीले प्रमुख पदममा उम्मेदवारी दर्ता गराउनुभएको छ । यहाँ नगर प्रमुखमा माओवादी केन्द्रलाई र उप प्रमुखमा समाजवादीलाई सहयोग गर्नेगरी कुरा मिलेकाे बताईएको छ ।

यद्यपी यसबारेमा १६ गते जानकारी हुने छ । निर्वाचन कार्यतालिका अनुसार १६ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्