Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
महिला सहभागीता

गठबन्धनका नाममा महिलाको उम्मेदवारीलाई उपेक्षा

उम्मेदवारीमा पुरुषकै वर्चस्व
२०७९ वैशाख १९
tribeni2

रुकुम पश्चिम : बिभिन्न राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनको लागि गरेको गठबन्धनका कारण रुकुम पश्चिममा महिला उम्मेदवारहरु उपेक्षामा परेका छन् । मनोनयन गरिएका उम्मेदवारीहरु गठबन्धनको नाममा फिर्ता लिन बाध्य पारिएपछि उम्मेदवारहरुले महिलाको उम्मेदवारीलाई उपेक्षा गरेको जनाएका छन् ।

मुसीकोट नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएकी अन्जना चन्द गौतमले आफूलाई अन्तिम समयमा बाध्य पारेर उम्मेदवार हुनबाट बञ्चित गराईएको बताउँनुभयो । उहाँले दलिय प्रणालीले राजनैतिक व्यक्तिको स्वतन्त्रता हनन् हुन पुगेको अनुभुति भएको बताउँनुभयो । नेपाली काँग्रेससँग चुनावी तालमेल हुने भएपछि आफूले नगर प्रमुख पदको उम्मेदवारी फिर्ता लिनु परेको उहाँले बताउँनुभयो ।

नेपाली काँग्रेसबाट मुसीकोट नगरपालिकाको उप प्रमुखको उम्मेदवार हुनुभएकी निर्मला गिरीले पनि महिला भएकै कारण आफ्नो उम्मेदवारी फिर्ता लिनु परेको बताउँनुभयो । उहाँले आफू पुरुष उम्मेदवार भएको भए फिर्ता नलिनुपर्ने अवस्था रहेको जनाउँनुभयो ।

मुसीकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी र उपप्रमुखमा एमालेका थलबहादुर ओलीको उम्मेदवारी कायम गरिएको छ । एमालेबाट प्रमुखमा उम्मेदवारी दिनुभएकी अन्जना चन्द गौतम र कांग्रेसबाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराउँनुभएकी निर्मला गिरीले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

त्यसैगरी एमालेबाट चौरजहारी नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिनुभएकी डण्डी कार्की र नेपाली काँग्रेसबाट उप प्रमुखमा उम्मेदवार रहनुभएकी दीपा डाँगी खड्काले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । चुनावी गठबन्धको लागि नगर प्रमुख पदमा नेपाली काँग्रेसका प्रेमबहादुर ओली र नेकपा एमालेका टंकप्रसाद ओलीको लागि उहाँहरुले उम्मेदवारी फिर्ता लिनुपर्ने अवस्था आएको हो । त्यहाँ पनि नेपाली काँग्रेस र एमालेको चुनावी तालमेल भएको छ ।

आठबीसकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका धिरेन्द्रकुमार बटालाको उम्मेदवारी कायमै छ भने उप प्रमुखमा एमालेका दिनेश चन्दको उम्मेदवारी कायमै छ । कांग्रेसको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएकी कमला थापाले उम्मेदवारी फिर्ता लिनुभएको छ । तर एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिनुभएकी कृष्णकुमारी मल्लले भने उम्मेदवारी फिर्ता लिन मान्नुभएन । उहाँको यस अडानलाई एमालेले पार्टीको निर्णय विपरित भएको जनाएको छ ।

मुसीकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन हुँदा महिला उम्मेदवार बन्ने अवसर नै आएन । माओवादीको तर्फबाट उपप्रमुखका लागि सिफारिस हुनुभएकी मिलन खड्काले उम्मेदवारी नै दर्ता गर्न पाउनुभएन । यहाँ नगर प्रमुखमा माओवादी केन्द्रका वसन्तकुमार शर्मा र उपप्रमुखमा समाजवादीका विमलकुमार पुनको उम्मेदवारी कायम रहेको छ ।

सानीभेरी गाउँपालिकामा कांग्रेसबाट गोरखप्रसाद चन्दले अध्यक्ष र एमालेबाट प्रकाश खड्काले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । यहाँ उम्मेदवारी पनि यी दुई जनाको मात्रै परेको थियो । कांग्रेस र एमालेले वडा तहसम्म गठबन्धन गरेको कारण प्रमुख पदमा महिला उम्मेदवार प्राथमिकतामा नपरेका हुन् ।

जिल्लााको बाँफिकोट र त्रिवेणी गाउँपालिकामा भने कसैको पनि गठबन्धन नहुँदा आ–आफ्नै उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्