Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
चुनावी प्रतिबद्धता

त्रिवेणीमा काँग्रेसको नारा : 'कृषिको बजार - हात हातमा हजार'

संकल्प पत्र सार्वजनिक
२०७९ वैशाख १९
tribeni2

रुकुम पश्चिम :  स्थानीय तह निर्वाचनमा होमिएको नेपाली काँग्रेस त्रिवेणी गाउँपालिका रुकुम पश्चिमले आफ्नो चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ ।

'गौरवपूर्ण इतिहास, शानदार वर्तमान र सुनौलो भविष्यका लागि रुख चिन्हमा मतदान' भन्ने मूल नाराका साथ तयार गरेको संकल्प पत्रमा १२ ओटा मुख्य क्षेत्र छुट्याएर आकर्षक नारा र योजना तयार गरिएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, सामाजिक न्याय, दिगो विकास र वातावरणीय संरक्षणका बिषयलाई मुख्य प्राथमिकतामा राखेको बताउँनुहुँदै अध्यक्ष पदका उम्मेदवार अमरसिं खड्काले त्रिवेणीको भूगोलको अध्ययन, जनताको माग, आवश्यकता, विगतको स्थानीय सरकारको गलत अध्यासलाई चिरेर समृद्ध गाउँपालिका बनाउन संकल्प पत्र तयार गरेको बताउनुभयो ।

चुनावी संकल्प पत्रमा 'प्रविधिमैत्री शैक्षिक लगानी, बालबालिकाहरुको सुनौलो बिहानी' भन्ने नारालाई प्राथकिमता दिएर शिक्षा तथा सामाजिक विकासको क्षेत्रमा गर्न सकिने योजना तयार गरिएको छ । प्राविधिक शिक्षाको लागि लगानी देखि लिएर एक बिद्यालय एक नर्स, एक बिद्यालय एक खेलकुद शिक्षक, जस्तापाताका छानामुक्त बिद्यालय, बहुप्राविधिक शिक्षालय स्थापना लगायतका योजना यसमा राखिएको छ ।

त्यसैगरी स्वास्थ्य र जीवनशैली शिर्षकमा पनि बिभिन्न योजना समावेश गरिएको छ । गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार सृष्टि बाँठा मगरले दक्ष जनशक्ति, मनोपरामर्श सेवा, स्वास्थ्य बीमा, गाउँमै प्रभावकारी स्वास्थ्य सेवाको योजना बुनिएको बताउँनुभयो । 'कृषिमा प्राविधिक सेवा, कृषि विकास र किसानलाई टेवा' भन्ने नाराका साथ कृषि तथा पशु सेवा क्षेत्रका योजना बनाईएको छ । 'बीउ बाँच्छ, त जीउ बाँच्छ', 'कृषिमा उत्पादन-साथमा आधुनिक साधन', 'कृषिको बजार- हात हातमा हजार', 'खेतबारीमै प्राविधिक सेवा र किसानलाई टेवा' जस्ता नाराका साथ बिभिन्न कृषि योजना संकल्प पत्रमा राखिएको छ ।

यसैगरी 'रहरलाग्दो त्रिवेणी, जानुपर्छ फेरि' भन्ने नारा राखेर पर्यटनका योजना बनाईएको छ भने उद्यमशीलता, रोजगारी र सामाजिक सशक्तिकरणका लागि पनि धेरै योजना राखिएको छ । संकल्प पत्रमा सार्वजनिक सेवा प्रवाह, सुशासन तथा जवाफदेहिताको बिषय उठाएर दिर्घकालिन ग्रामिण विकास र शहरउन्मुख बजारको व्यवस्थितिकरणका लागि विज्ञहरुको सल्लाह लिई एक आईडिया बैंक (सोच बैंक) बनाई कार्यान्वयनमा गर्ने नयाँ अवधारणा ल्याईएको छ ।

सडक, यातायात र पूर्वाधारको क्षेत्रमा 'मुख्य सडकमा हुने छैन धुलो र हिलो, बनाउने हो त्रिवेणी सुकिलो' भन्ने नारालाई ल्याईएको छ ।

त्यसैगरी संकल्प पत्रमा उद्योग तथा व्यापार, विद्युत, खानेपानी, सरसफाइ तथा फोहोर ब्यवस्थापन, कला, संस्कृति, युवा र खेलकुद, सामाजिक न्याय र समावेशीता र खाद्य, आवास र विपद् व्वस्थापनका योजनाहरु सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्