Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
चुनावी प्रतिबद्धता

मुसिकोटमा माओवादी, नेकपा एस र जसपाको संयुक्त प्रतिवद्धता : 'हेलो मेयर' टोल फ्रि टेलिफोन सेवा

सुखी र खुशी जनताको अवधारणा कार्यान्वयन गर्न र समाजवादको आधारशिला तयार गरिने
२०७९ वैशाख १९
tribeni2

रुकुम पश्चिम / स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका मुसिकोटका तीन राजनीतिक दलले संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले मुसिकोट नगरपालिकाको प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

बिभिन्न १८ ओटा मुख्य शिर्षकमा बिभिन्न योजनाहरु राखेर प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो । नगर प्रमुख पदका उम्मेदवार बसन्त शर्माले माओवादी पार्टीको आठौं महाधिवेशनले ‘समाजवाद उन्मुख समृद्धि’ को कार्यनीति अघि सारेको र यसलाई सफल पार्न रुकुमलाई समाजवादको आधार इलाकाको रुपमा विकास गरिनेगरी योजना बनाईएको बताउनुभयो ।

उहाँले 'सुखी र खुशी' जनताको अवधारणा कार्यान्वयन गर्न र समाजवादको आधारशिला तयार गर्ने उद्देश्यले रुकुम पश्चिममा आर्थिक समृद्धि तथा सामाजिक सांस्कृतिक रुपान्तरण अभियान चलिरहेको रत्यसको कार्यान्वयनमा आफूहरु लागि पर्ने प्रतिबद्धता तयार गरेको उल्लेख गर्नुभयो ।

प्रतिबद्धता पत्रमा गरिबी निवारण/रोजगारीको लागि जनता रोजगार कार्यक्रम सञ्चालन गर्ने, पाँच वर्षभित्र मुसिकोट नगरपालिकामा गरिवी न्यूनीकरण गर्ने, सबै नागरिकको बास बनाईदिने लगायतका योजना समेटिएको छ ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरुमा टीनको छाना हटाई पक्की संरचना निर्माण गर्ने, नगरपालिकालाइ पूर्ण साक्षरतायुक्त बनाउने, पढ्दै कमाउदै कार्यक्रम संचालन गर्ने लगायतका कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी प्रतिबद्धतापत्रमा स्वास्थ्य क्षेत्रमा जिल्ला अस्पतालमा विशेषज्ञ सेवा संचालन, स्वास्थ्य बीमा कार्यक्रम लगायत हरेक वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रको भौतिक पूर्वाधार र सेवा प्रवाहमा स्तरोन्नती, बर्थिङ्ग सेवा जस्ता योजना समावेश गरिएको छ ।

सामाजिक सुरक्षा क्षेत्र, यातायात, सडक पूर्वाधार, उद्योग, पर्यटनका क्षेत्रमा पनि बिभिन्न आकर्षक कार्यक्रम बनाईएको छ । नगर बस सेवा संचालन, जेष्ठ नागरिक, शहिद परिवार र घाइते अपाङ्गता भएका नागरिकहरुलाई निःशुल्क सेवा, नगरपालिकाको चक्रपथ निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने गरी प्रतिबद्धता ल्याईएको छ ।

सयुक्त प्रतिबद्धता पत्रमा कृषि/उत्पादनको क्षेत्रमा कृषि एम्बुलेन्स संचालन, कृषि तथा पशु बीमा निशुल्क, पैंचो पसल संचालन लगायतका कार्यक्रम ल्याउने उल्लेख गरिएको छ ।

खानेपानी/सिंचाईको लागि खलङ्गालगायतका बजार क्षेत्रमा खानेपानी निःशुल्क, 'एक घर एक धारा' अभियानलाई पूर्णता जस्ता कार्यक्रम राखिएको छ भने युवा तथा खेलकुद, सरसफाईको बिषयमा योजनाहरु बनाईएको छ ।

सुशासनलाई प्रवद्र्धन गर्न प्रविधिको प्रयोगलाई बढावा दिने, हेलो मेयर टोल फ्रि टेलिफोन सेवा संचालन गरिने कार्यक्रम सहित आगामी पाँच वर्षभित्र नरपालिकामा पूर्ण विद्युतीकरण गरिने, हरित नगर ः सभ्य नगर बनाईने कार्यक्रम प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

विपद व्यवस्थापन, सहिद सम्मान, श्रम सहकारी जस्ता बिषयमा पनि महत्वपूर्ण कार्यक्रम तयार गरेर मतदाताको माझ गएको चुनाव प्रचार प्रसार समितिले जनाएको छ ।

मुसिकोटमा नेकपा माओवादीका नेता बसन्त शर्मा प्रमुख र एकिकृत समाजवादीका नेता बिमल कुमार पुन उपप्रमुख पदको उम्मेदवार हुनुहुन्छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्