Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मैदानमा युवा उम्मेदवार, सकारात्मक संचार

२०७९ वैशाख २३
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका अधिकांस राजनीतिक दलहरुले युवा उम्मेदवारहरुलाई प्राथमिकता दिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा स्थानीय तहका बिभिन्न पदमा युवा उम्मेदवारी समेत रहेको छ ।

जिल्लाको सानीभेरी गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार प्रकाश खड्काले भर्खैरै २४ बर्षमा लागेको बताउँनुभयो । नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका उहाँले युवा वर्तमानका हिस्सेदार भएकोले पनि प्राथमकितामा परेको बताउँनुभयो । अन्य पार्टीले पनि युवा उम्मेदवार रोज्नु सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभयो ।

आठबिसकोट नगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार रबि केसीले काम गर्ने जोश र ताकत युवा शक्तिमा बढी हुने भएकोले पनि पार्टीले आफूलाई प्राथमिकता दिएर उम्मेदवार बनाएको बताउँनुभयो । ३३ बर्षिय केसी माओवादी केन्द्रले तर्फबाट नगरप्रमुख पदको उम्मेदवार हुनुहुन्छ । उहाँले पार्टीको भरोसा पनि युवा पंत्ति रहेको उल्लेख गर्नुभयो ।

३० बर्षको उमेरमा जिल्लाको त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार रहनुभएकी सृष्ठि बाँठा मगरले पनि युवा सबैको रोजाई हुनु स्वभाविकै रहेको बताउँनुहुन्छ । उहाँले नयाँ योजना बनाउन सक्ने, वर्तमानको आवश्यकता, कामप्रतिको लगाव युवा वर्गमा बढी हुने भएकोले पार्टीले युवालाई उम्मेदवारको प्राथमिकतामा राखेको बताउँनुभयो ।

सानीभेरी गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदमा उम्मेदवार हुनुभएका गोरख चन्दले सबैतिर युवा उम्मेदवारहरुले अवसर पाएको बताउँनुभयो । ३४ बर्षका चन्दले युवाले केहि गर्न सक्छन् भन्ने आशा सबैतिर रहेको जनाउँनुभयो । पालिका प्रमुख, अध्यक्ष तथा उपाध्यक्ष बाहेक वडा अध्यक्ष, सदस्यहरुमा जिल्लाका सबै राजनीतिक दलले युवा उम्मेदवारलाई प्राथमिकता दिएका छन् ।

माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले युवा जगत पार्टीको हरेक कार्यमा प्राथमिकतामा रहेकोले स्थानीय तहको उम्मेदवारमा पनि युवालाई रोजेको बताउँनुभयो। युवालाई भविष्यका कर्णाधार भनेर युवा उमेरमा अवसर नै नदिने चलनलाई चिर्न युवालाई कामको अवसर दिनुपर्नेमा उहाँको जोड छ ।

नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्ववियूका केन्द्रीय सदस्य हुकुम बिसीले नीति, योजना निर्माणको तहमा युवा सहभागिता रहनु सुखद रहेको बताउँनुभयो । जिल्लामा युवाहरुको उम्मेदवारीमा पार्टीले यस पटक ध्यान दिएको उहाँको बुझाई छ । युवाहरुले जितेर नीतिगत तहमा प्रभावशाली सहभागिता जनाउने अवसर पनि रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारीले पार्टी पुरानो भएतापनि युवाहरुको नेतृत्वमा रहेकोले युवा उम्मेदवार बनाउँनु स्वभाविक रहेको बताउनुभयो । युवाहरु काम गर्न सक्ने भएकोले राजनीतिमा युवा सहभागिता जरुरत रहेको उहाँको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्