Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अर्थमन्त्री र पूर्वमन्त्रीद्वारा मतदान, बिहानै देखि मतदाताहरु लाईनमा

जिल्लाभर ७६ मतदानस्थलमा शान्तपूर्वक मतदान हुँदै
२०७९ वैशाख ३०
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका सबै मतदान केन्द्रहरुमा मतदान सुरु भएको छ । बिहान ७ बजे नै अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचनको लागि मतदान गर्नुभएको छ ।

अर्थमन्त्री शर्माले रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ स्थित यमुना नन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उक्त केन्द्रमा पहिलो मतदाताको रुपमा अर्थमन्त्री शर्माले मतदान गर्नुभएको मतदान अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक योजना मन्त्री तथा प्रदेश सभा सदस्य गोपाल शर्मा र प्रदेश सभा सदस्य रातो कामीले पनि मतदान गर्नुभएको छ । शर्माले चौरजहारी नगरपालिका ५ स्थित निमावि खहरेमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो भने कामीले आठबिसकोट नगरपालिका ११ स्थित नेपाल राष्ट्रिय मावि गत्तासैनामा मतदान गर्नुभएको हो ।

कर्णाली प्रदेश सरकारका पूर्व कृषि मन्त्री एवम् नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संयोजक बिमला केसीले जिल्लाको सानीभेरी गाउँपालिका ९ स्थित राप्ति ज्ञानोदय माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

पूर्व राज्य मन्त्री मिठ्ठु मल्लले जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ५ मा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । उहाँले यमुना नन्द नमुना माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको जनाईएको छ ।

नेपाली काँग्रेसका नेता एवम् पूर्व राज्य मन्त्री गोपाल जि जंग शाहले पनि मतदान गर्नुभएको छ । उहाँले मुसिकोट नगरपालिका १३ मा रहेको महेन्द्र माविमा मतदान गर्नुभएको हो ।

जिल्लाभर उत्साहपूर्वक मतदान भैरहेको छ । जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले रुकुम पश्चिमका सबै मतदान केन्द्रमा शान्तपूर्वक समयमै मतदान सुरु भएको जनाउँनुभयो । मतदान गर्नको लागि बिहान ५ बजे देखि नै जिल्लाका कतिपय मतदान केन्द्र मा मतदाताहरु लाईनमा लागेको बताईएको छ ।

रुकुम पश्चिममा कुल एक लाख चार हजार चार सय ८२ जना मतदाता छन् । जिल्लामा स्थानीय तहको निर्वाचनका लागि ७६ मतदान स्थल र एक सय ३९ वटा मतदान केन्द्र तोकिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १०:०५
प्रतिक्रिया दिनुहोस्