मतदान अधिकृतको डायरी

दुर्घटनाबाट जोगिएको मतदानको दिन

मतदान अधिकृतको डायरी

– संजय मानन्धर

मिति : २०७९ वैशाख ३०, शुक्रवार
स्थान : श्री पशुपति मा.वि., रातामाता
मुसिकोट–२, रुकुम पश्चिम

विहान ३ः३० वजे

निद्रा खुलेपछि स्कुलको लाईव्रेरी कक्षको चिसो भुँईमा ओछ्याईएको कालो पि.पि. फोम, त्यो माथिको रातो तन्ना र चाईनिज ओढ्ने ब्ल्याङ्केट पन्छ्याउँदै उठ्छु ।

संगै भुँईमा मस्त निदाएका सहकर्मि साथीहरुलाई नियाल्दै वाहिर निस्कंदा ड्युटिका प्रहरी भाईको मोबाईलमा गित बजिरहेको हुन्छ, “जाग लम्क चम्क हे, नौजवान हो...”
आफु फ्रेस भै ताली र आवाज संकेतबाट अन्य साथीहरुलाई पनि बिउँझाउने र उठाउने प्रयास गर्छु ।

विहान ४ः३० वजे

अघिल्लो दिनको योजनानुसार नै केहि म्यादी प्रहरी भाई–वहिनिहरु खाना बनाउने तरखरमा लाग्छन् । केहि साथीहरु हिजो तयार पारिएको मतदान स्थलमा पोष्टर टाँस्ने, टेवल–कुर्सी लगाएतका सामाग्रीहरुको व्यवस्थापनमा लाग्छन् । विद्यालयमा आवश्यक टेवल कुर्सी पर्याप्त नभएपनि जे–जस्तो पाईन्छ, सो अनुसारकै स्थल व्यवस्थापन गरिन्छ ।

विहान ५ः३० वजे

पालो मिलाउँदै मेस समूहले तयार पारेको खाना, गेडागुडि र झोल अनि अलि पाक्न बाँकि सिमि र आलुको तातो तरकारी सहितको खाना खाईन्छ । अनि पुनः मतदान स्थलको व्यवस्थापनको अन्तिम तयारीमा जुटिन्छ ।

विहान ६ः३० वजे

म्यादी भाई–वहिनीहरु सहित कलमजीको कमाण्डमा खटिएका सुरक्षा सदस्यहरुलाई निडर, निष्पक्ष र उच्च मनोवलका साथ विशेष जिम्मेवारी वहन गर्न निर्देशन सहितको अनुरोध गरिन्छ । अघिल्लो दिनकै विहान ६ः०० बजे उपस्थितिको लागि दल÷उम्मेदवारका प्रतिनिधिहरुलाई अनुरोध गरिए पनि केहि सदस्यहरु ६ः३० बजेसम्म पनि पूर्ण रुपमा उपस्थिती भै सकेका थिएनन् ।

सहायक मतदान अधिकृत केशवजीलाई आवश्यक मुचुल्काहरुको तयारी गर्न र गेदलाल दाई, देविलालजी, गङ्गामायाजी, लक्ष्मणजी, विवेचनाजी लगायतका अन्य सहयोगिहरुलाई मतपेटिका, शिलको तयारी गर्न लगाईन्छ ।

६ः४५ बजे उपस्थित प्रतिनिधिहरुको रोहवरमा मुचुल्का सहित खालि मतपेटिकामा नियमानुसार शिल लगाउने, स्वस्तिक छाप परिक्षण, मतपत्रको शिलवन्दि खोल्ने कार्य गरिए पश्चात ७ः०० बजे मतदान शुरु हुन्छ । मतदान अधिकृतको मोबाईललाई घडिको आधार मान्ने जानकारी गराईन्छ ।

शुरुमा, मतदाता रुजु गर्ने स्वयमसेवक भाई र कर्मचारी साथी, सो पछि नङमा मसि लगाउने बहिनी, सो पछि तथ्याङ्क भर्ने सहयोगिहरु र उनिहरुका पछाडि सिटमा रहेका दल/उम्मेदवारका प्रतिनिधिहरुलाई अघिल्लो दिनको छलफल बमोजिम नै मतदाता रुजु गर्ने र चिन्ने पहिलो जिम्मा लगाई त्यस विषयमा कुनै विवाद नगर्ने र विवाद भए सहमति गराउने अनुरोध गरिन्छ ।

विहान ९ः३० वजे

सौहार्द रुपमा करिव करिव आधा मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गरि सक्छन् । मतदाताहरु पनि उत्साहित र खुशि देखिन्छन् । कर्मचारीहरु, प्रतिनिधिहरु पनि हंसिला र जाँगरिला देखिन्छन् । ठुलो कम्पाउण्ड भित्रको माहोल र वाहिरी वातावरण पनि विहानी सुर्यको प्रकाशमा उज्यालो मनमोहक शान्त देखिन्छ । अशक्त मतदातालाई सहयोग गर्ने एकाघरको परिवारको सदस्यको पहिचानमा प्रतिनिधिहरुबाट पूर्ण सहयोग प्राप्त भै रहन्छ ।

विहान १०ः३० वजे

सुर्यको प्रकाश छिप्पिन थालेसंगै संगै माहोल पनि विस्तारै मनतातो भएको हो कि ? भन्ने भान पर्छ । संगैको ‘ख’ वुथमा अलि अलि हल्ला खल्ला गुञ्जन थाल्छ । सौहार्द रुपमा खस्ने मत संख्याको झण्डै साट्ठि प्रतिशत मत खसिसकेको अवस्थामा एकजना महिला मतपत्र हातमा लिई गोप्य कक्ष जाने क्रममा भन्छन् ‘म आँखा देख्दिन, सहयोग गर्नु पर्यो, सर।’ तत्कालै दिमागमा आएको विचार सँगै मेरो दाहिने हातको केहि औंलाहरु देखाएर ‘कति छन भन्नुस त?’ भनि सोध्दा राख्दा ति दिदी त हौसिएर ‘तीन’ भन्नुहुन्छ ।

एकपटक पछाडि प्रतिनिधिहरु तर्फ फर्के । सवैजना हामीलाई हेरि मुसुमुसु हाँसिरहेको पाए । तत्कालै उत्साहित हुँदै ति दिदीलाई आफै मत हाल्न सक्नेमा विश्वस्त गराई अगाडि पठाए । उनले सहजै रुपमा आफ्नो दायीत्व पुरा गरी त्यहाँबाट वाहिरिन् ।

धेरै जनाले मतपत्र पाएपछि कहाँ जाने ? के गर्ने ? कसरी चिन्ह लगाउने ? भनि अल्मलिरहँदा आफुले केहि गर्न नसकिएको मनमनै महशुस गरें । सायद मतदाता शिक्षामा थप जोड आवश्यक छ ।

विहान ११ः३० वजे

शान्तीपूर्ण रुपमा, खस्ने मत संख्याको झण्डै असी प्रतिशत मत खसिसकेको अवस्थामा संगैको केन्द्रमा केहि वादविवाद सुनिन्छ । धेरै हल्लाखल्ला भएपछि सुरक्षा प्रमूखलाई शान्त पार्न अनुरोध गर्छु । संगै जोडिएको ‘ख’ बुथका मतदान अधिकृत कुवेर सर सरल, शान्त स्वभावका छन् । भएछ के भने, ‘ख’ वुथमा एउटा काका नाता पर्ने व्यक्तिको मत अर्कोसँगै आएको भाइले संगै आएर हाल्न भ्याएछन् ।मतदान प्रतिनिधिहरु र कर्मचारीहरुले मेसो नै पाएनछन् ।

सो देखिरहेका लाईनका व्यक्तिहरुले ‘उनिहरु दुई जना सम्बन्धित होईनन्’ भन्दै सो को आवाज सहित विरोध जताइरहेको हो कि ? भन्ने महशुस गरे ।

केहि क्षणमा सो काका पर्नेको मत हालिदिने व्यक्ती हाम्रो वुथमा आफ्नो मत प्रयोग गर्न आईपुग्छन् । उनको परिचयपत्र र नामावलि माग्छु, सवै ठिकै देखिन्छ । त्यहाँ रहेका प्रतिनिधिहरुले, ‘उनले आफ्नो मत प्रयोग गरिसके, अब दोहोरो हाल्न पाईन्न’ भनि, सामान्य विवाद शुरु हुन्छ । प्रतिनिधिहरुसँग ‘अव के गर्ने?’ भनि सुझाव माग गर्छु । तर आ–आफ्ना पक्षगत कुरा राख्न शुरु गर्छन् ।सो व्यक्तिलाई केहि समय छुट्टै स्थानमा राखि आफु थप मतपत्रमा दस्तखत गर्ने कार्यमा लाग्छु ।

ठोस समाधान नलाग्ने भएपछि प्रतिनिधिहरुकै रोहवरमा ति काका पर्ने व्यक्तिलाई झिकाई उनको सट्टाको मत ति काका पर्नेलाई नै प्रयोग गर्न दिईन्छ । तत्कालको लागि समस्या समाधान हुन्छ ।
घाम कडा हुन थाल्छ । चर्को घामले कर्मचारी साथीहरु असिना पसिना हुन थाल्छन् । केहि थकित भएका देखिन्छन् । प्रतिनिधि साथीहरु पनि केहि ओईलाएझैं छाता मुनि लुकेको देख्छु । सहयोगि गेदलाल दाईलाई सवैजनालाई चिसो पानी खुवाउन भन्छु ।

पुनः आफु थप मतपत्रमा सहिछाप गर्न तल्लिन हुन्छु । मेहनती सहायक मतदान अधिकृतले नजिक बोलाउँदै, एउटा मतपत्रमा दस्तखत छुटेको जानकारी गराउँछन् । ‘हो र ?’ भन्दै सहिछाप गर्दै ‘राम्रोसँग चेक गरेर मात्र दिनुहोला है’ भनि अनुरोध गर्दछु । आफु पनि दस्तखत छुटेको छ कि ? भनि वेला वेलामा चेक गरिरहेकै हुन्छु । वेलावेलामा गोप्य कक्षको स्वस्तिक छापहरु र मसि पनि परिक्षण गरिरहेकै हुन्छु । सुरक्षाको सर मतदान प्रगतीको विवरण माथिल्लो तहमा रिपोर्टिङ्ग गर्नमा व्यस्त देखिन्छन् ।

दस्तखत गर्न व्यस्त म, एकाएक कतैबाट आएको कोलाहल आवाजले झस्कन्छु । एक्कासिको कोलाहलले भिडको रुप लिन थाल्छ । मतदानस्थलको सिमा पर्खाल, मुलगेटमा आक्रोशित युवाहरु भित्र प्रवेश गर्ने प्रयाश गरिरहेको पाउँछु । के भयो ? भनि जिज्ञासा राख्दा सबै कर्मचारीहरु, प्रतिनिधिहरु, सुरक्षा व्यक्तिहरु अन्योलमा पाउँछु ।

‘पस्यो, पस्यो, त्यसलाई ठोक....’ भन्ने शब्दहरु सुनिरहँदा दल प्रतिनिधि मध्येका एकजनाले एउटा युवकलाई भित्र प्रवेश गराएको स्थिती रहेछ । त्यो पनि वाहिर निस्कने बाटोबाट । तुरुन्त त्यो युवक र प्रतिनिधिलाई नियन्त्रणमा राखि सर्वप्रथम मतपेटिका र वाँकी मतपत्रको सुरक्षाको लागि निर्देशन गर्छु । संगै उभिएको सुरक्षाको साथीलाई थप सुरक्षा व्यवस्थाको लागि खबर गर्न जानकारी गराउँदछु ।

उग्र भिड मध्ये केहि व्यक्तिहरु पर्खालबाट हामफालि भित्र प्रवेश गर्ने क्रममा देखिन्छन्, भने कमजोर मुलगेटलाई उखालि फालिहाल्ने गरि भिड अनियन्त्रित तर्फ अग्रसर भै रहेको पाउँछु । सामान्य अवस्थाको त्यो मतदानस्थल मिनेट भरिमै रणभूमि हुने अवस्थामा पुग्छ । वाहिरको हल्लाखल्ला र मानिसहरुको भागदौडले असामान्य स्थिति ईङ्गित गर्दैगर्दा मौकामा मोबाइल प्रहरि र सशष्त्र प्रहरिको उपस्थित भएको देख्छु । केहि मिनेट मै स्थिती सामान्य अवस्थामा फर्कन्छ ।

विहान १२ः३० वजे

कर्मचारी साथीहरु ‘परबाट हानेको ढुङ्गाले अलिकतिले मात्र लाग्नबाट जोगियो’ भन्दै कुरा गरिरहेको सुन्छु । मतदानस्थलका सुरक्षा प्रमुखले ठाउँ ठाउँमा जिम्मा सहित खटाईएका मध्येका मतदान गरिसकेपछि मतदाताहरुलाई वाहिर पठाउने स्थानमा खटिएको म्यादी प्रहरी भाईलाई ‘किन यो ठाँउबाट मान्छे भित्र आउन दियौ ?’ भनि सचेत गराईरहँदा, त्यो भाई त्रसित र लज्जित भैरहेको पाउँछु। ‘भै हाल्यो, अव यस्तो गल्ति नदोहोर्याउनु, यहाँबाट कसैलाई प्रवेश नगराउनु’ भनि मनोवल उच्च वनाउने प्रयासमा हुन्छु ।

तर कता कता आफ्नो मन पनि सम्भावित घटनाको परिणाम र अहिलेको शान्त वातावरणको अवस्था वारेमा सोचेर मलिन हुन्छु ।

अशक्तलाई सहयोग गर्ने भनि मुल गेटबाट पटक पटक भित्र प्रवेश गर्ने प्रयास गरिरहेको ति युवकलाई सुरक्षाले रोकिरहेको रहेछ । उनलाई केन्द्र भित्र प्रवेश गराउनका लागि एउटा दलको प्रतिनिधिले खाजा खान बाहिर निस्कने वहानामा अनाधिकृत रुपमा भित्र प्रवेश गराई रहँदा वाहिरका मानिसहरुले देखेपछि एकैपटक आक्रोशमा आएको रहेछ ।

‘त्यति उग्र आक्रोश पनि किन चाहिएको थियो र ? हामीले सो व्यक्ति आधिकारिक हो होईन ? रुजु गर्ने नै थियौं, हाम्रा कर्मचारी टिम, प्रतिनिधिहरु त त्यसैका लागि त थियौं नि, सहज रुपमा हामीलाई जानकारी गराउँदा नि हुने थियो नि’ भनि मनमनै सोचि रहन्छु ।

राम्रो चुस्त र व्यवस्थित सुरक्षा प्रणालीले सो भिडलाई समयमै व्यवस्थापन गरिदिएपछि केहि मिनेटैमा मतदान सुचारु हुन्छ । सम्भावित ठुलो दुर्घटनाबाट जोगिएको जानकारी सम्बन्धित निकायमा गरिन्छ । आफ्ना टिमलाई पुनः सामान्य रुपमा काम गर्न उत्साहित गरिन्छ ।

भिड र होहल्ला मत्थर हुँदैगर्दा अनावश्यक होहल्ला र आक्रोशले सामान्य घटनालाई पनि असामान्य र अतिरञ्चजित बनाउन मिनेटै नलाग्ने मनन गर्छु । खटिएका कर्मचारीहरु, प्रतिनिधीहरु तथा सुरक्षा व्यक्तिहरु हरेक मिनेट थप चनाखो भएन भने सानो झिल्कोले वन डढाए झैं हुने स्थिती पनि महशुस गरिन्छ । विशेषगरि म्यादी प्रहरीहरुको मनोवल र जिम्मेवारी साथै दल÷उम्मेदवारहरुका प्रतिनिधिहरुको भूमिका शान्तीपूर्ण निर्वाचन संचालनको पहिलो शर्तको रुपमा देख्छु ।

१ः३० वजे

स्थिती सामान्य छ । लाईनहरु प्राय खाली छन् । छुटपुट मतदाताहरु प्रवेश गरिरहेका छन् । चर्को घाममा सवैजना सेलाए झैं देखिन्छन्। ‘टिकटक बनाउने हो कि?’ भन्छन कोहि साथीहरु, त्यो पीर भुलाउन । विस्कुटको एक/एक पाकेट र जुस प्राप्त हुन्छ । बल्ल विहान खाएको खानाको सम्झना र पेटमा भोक लागेको हो कि ? भन्ने महशुस हुन्छ । त्यतिखेर त्यो सानो पुरिया बिस्कुट र जुसले शरिरलाई खुव मदत गरेको भान हुन्छ ।

२ः३० वजे

बुथमा मतदाताहरु खालि छन् । सवै कर्मचारीहरु र प्रतिनिधिहरु छाँयाको खोजिमा देखिन्छन् । विहानैदेखि पर्यवेक्षकको परिचयपत्र भिरेर बसेका एकजना प्रतिनिधिले ‘सर, मसंग पनि मतदाता परिचय पत्र छ, मैले भोट हाल्न मिल्छ कि मिल्दैन ?’ भनि जिज्ञासा राखेपछि सम्बन्धित निकायमा सो बारेमा सोधिहाल्छु । सम्बन्धित मतदाता सोहि स्थानमा पर्यवेक्षक खटिन नपाउने व्यवस्था जानकारी पाए पछि उनलाई केन्द्र बाहिर जान अनुरोध गर्दछु ।

३ः३० वजे

पानी पर्ने सम्भावन देखिन्छ । राखिएका त्रिपालहरु निकालेर, मतपेटिका तथा गोप्यकक्षलाई माथी वरण्डामा स्थानान्तरण गरिन्छ । अहिलेसम्मको मतदान प्रगतिको तथ्याङ्क तयारी गर्ने कार्य थालिन्छ । सुरक्षाको साथीले वाहिरका वुथहरुबाट कर्मचारीहरु र म्यादी प्रहरी हाम्रो केन्द्रमा मतदान गर्न आईरहेको खवर सुनाउँछन । त्यसको व्यवस्थाका वारेमा जिल्ला निर्वाचन कार्यालयमा ‘के गर्ने होला ?’ भनि पुनः जिज्ञासा राख्छु । तर स्पष्ट जवाफ पाउँदिन ।

४ः३० वजे

मतदान सकिन आधा घन्टा वाँकि रहेको सूचना जारी गर्छु । कोही आईपुग्ने सम्भावना नरहेपछि सम्बन्धित फाँटवारि तयारी गरे पश्चात उपस्थित प्रतिनिधिहरुको रोहवरमा ठिक पाँच वजे मुचुल्का सहित सम्पूर्ण कागजातहरु र मतपेटिकालाई सुरक्षित रुपमा पोका पारिन्छ । सम्बन्धित कर्मचारीहरु र सुरक्षा सदस्य बाहेकका सवैजनालाई मतदान स्थलबाट वाहिर गई स्थल खालि गर्न सुरक्षालाई अनुरोध गर्छु ।

५ः३० वजे

अर्को मतदान केन्द्र छिङ्गबाट आउने सुरक्षा सहितको गाडिले हामीलाई खलङ्गास्थित निर्वाचन अधिकृतको कार्यालय पुर्याउने, सुचना पाउँछु । कम्पाउण्ड वाहिर फेरि पनि होहल्ला सुनिन्छ । मूल गेटमा फेरी भिड देखिन्छ । वरपर डाँडापाखामा मानिसहरु हुलमुल चहलपहल बढ्न शुरु हुन्छ । सुनिन्छ, ‘वाहिर दोहोरो झडपको स्थिति पनि छ, रे !’ मतपेटिका र टोली लान बाटो क्लियर छैन । ढुङ्गामुढा र तोडफोडको सम्भावना छ । मुख्य गरि महिला कर्मचारीहरु र म्यादी प्रहरीहरु त्रसित देखिन्छन् ।

६ः३० वजे

साँझ पर्दै छ । अँध्यारो हुने क्रम बढ्दैछ । गेट बाहिरको स्थिति झन् तनावपूर्ण छ । सम्बन्धित जिल्लाका सुरक्षा संयन्त्रसंग यथासिघ्र उद्वारको लागि अनुरोध गर्दछु । गाडि सहित आईपुगेको सुरक्षा टोलिले भिड क्लिएर गर्ने प्रयास गर्छ । करिव साँझको सवा सातवजे बाटो क्लिएर गर्दै मतपेटिका सहितको हामी चढेको गाडी मतदान स्थल छोड्न तयार हुन्छ ।

सुनिए अनुसारको सम्भावित ढुङ्गामुढाको अवस्थालाई मध्यनजर गर्दै हामी दोस्रो बाटोबाट खलङ्गा पुग्छौ । त्यहाँ मतपेटिका र सम्बन्धित सामाग्रीहरु वुझाइ सकिएपछि तुलनात्मक रुपमा लामो स्वास तानिन्छ र अन्त्यमा, मूख्य निर्वाचन अधिकृत सरलाई ‘आज सार्है रमाईलो भयो, सर’ भन्दै आ–आफ्नो वासस्थान तर्फ लागिन्छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्