कविता – हदम्याद

– विद्याश्री सिङ

मैले आधी मात्रै नाउ जानेको अधबैंसे मास्टरले
नराम्रो संग पिरोलेको थियो मेरो आलो मस्तिष्कलाई
उ मलाई काखमा राखेर छुन्थ्यो,मेरा गुप्ताङ्गहरु
मैले सकिन उसको क्रूर नजरहरु बाट जोगाउन,मेरो कलिलो योनि!
जसले, पढाउथ्यो बिधालयमा मर्यादाका पाठहरु!
सिकाउथ्यो समाजलाई सम्बन्धका मर्यादाहरु!!
 
चिच्याएर खेलौना माग्ने उमेरमा,
म चिच्याउदा पनि खेलौना जसरी लुछ्यो उसले!
चेतना दिनेले यातना दिएपछी,
अक्षर पढ्न गएको म अनुहार पढेर फर्किए।
 
तर,
लेख्न सकिन!
आफ्ना कापिका पानाहरुमा आफ्नै कहानी
सुनाउन सकिन! आमालाई,
कक्षाकोठा भित्रको कहालीलाग्दो कथा
उतार्न सकिन! चित्रहरुमा,
आदरणीयहरुको मुखुण्डो ओडेका अश्लील अनुहारहरु
 
म जस्तै थि!
म जत्तिकै थि!
पहिलो रजस्वला सम्म नभएकी कमला
रक्ताम्य योनि संगै लतपत भेटीइ कमलानदी छेउको झाडिमा
उसको न्यायको लागि चर्को आवाजमा
'जस्टिस फर कमला' भन्ने हरुकै भिडमा भेटियो उसको बलत्कारी!
 
त्यहीँ लगत्तै सुनियो अर्को खबर!
चाउरी परेकी माथिल्लो घरकी बज्यैका तिघ्राहरुमा पनि
भेटिए रगतका टाटाहरु,
सहारा दिने बलिया पाखुराहरुलेनै निमोठेछन उनको घाँटी!
भरोसिला सम्बन्धहरुलेनै छेदबिछेद पारेछन् उनका यौनाङ्ग!
 
त्यसपछि झनै डरलाग्यो मलाई,
मलाई सुम्सुमाउने हातहरु संग!
मलाई थप्थपाउले हत्केलाहरु संग!
बुबाको धेरै नजिकको साथी भनौदोले,
खुब नजिक बाट नियालेर हेर्थ्यो मलाई!
 
चिमोठे जस्तै लाग्थ्यो मलाई,उसका नजरहरु ले!
दाइको पत्यारिलो मित्रले पनि,
पटकपटक समाउन खोजेको छ मेरा पाखुराहरु!
 
घरकाले घरको मान जोगाउन चुप बस्नुपर्छ भन्दा,
मैले आफुलाई जोगाउन सकिन!
समाजले सहनु लाई संस्कार भनी सिकायो,
मैले बिद्रोह गर्ने साहस पाइन!
 
बडो प्रेमिल भनिएका साइनोहरु बाट पनि पिल्सिएको छु म!
कुल्चिएको छ मेरो आत्मसम्मान!
अमर्यादित शब्दहरुलाई सम्बन्धले प्रेम हो भन्यो!
अक्षम्य दुखाइहरु लाई प्रेमको अकाट्य नियम बनाइयो!
म चिच्याउदा अरुले सुनिदिएनन्,म लुटिए!
बिद्रोहमा आफ्नाहरुले चिच्याउन दिएनन् ,म लाचार भए!
 
बर्षौ देखि चलिरहेको छ, म भित्र यो अन्तरमनको द्वन्द
कलिलो बालापनको पुन:स्मरणमा
क्रूर स्मृतिहरु संग प्रत्यक्षिकरण गर्छु म!
भरिलो उमेरको पुनरागमन गर्दा,
भयक्रान्त परिदर्शन गर्छ, मेरो मस्तिष्कले!
आफ्ना भनिएका सम्बन्धहरुमा,
अश्लीलताको गन्ध भेट्छु म!
 
म संगै हुर्किएका दिदिबहिनीहरु,
म संगै बाचिरहेका छोरीचेलिहरु,
म जसरी बाच्न नपरोस् भनेर,आज चर्को स्वरमा
म सुनाउदै छु,मेरो वक्तव्य
ताकी,
सुनौला रहर बोकेर बिधालय पसेकी छोरीहरू,
भयानक डर बोकेर घर नफर्किउन!
 
फेरि,
बजाउन नपरोस् थपडी!
बलत्कारीलेनै न्यायको झुटो वकालत गर्दा
आफ्नै बुवाको काख अनि दाजुभाइको अंगालोमा
ननिस्वासिउन कोही चेलिहरु!
प्रेमिको प्रेमिल थप्पडको जवाफ दुख्नेगरी दिनसकुन
प्रेमिकाहरुले पनि!
 
हो त्यसैले,आज न्यायलयको ढोकामा
चिच्याएर सुनाउदै छु,म आफ्नो वक्तव्य
झोलाभरी गह्रौ सपना बोकेर बिधालय पुग्न भन्दा,
रित्तो छातीभरी साहस भरेर
तिम्रो दैलोमा पुग्न मलाई ढिलो भयो मलाई!
 
जब,
पिल्सिन्छ कलिलो शरीर कसैको कामुकता मुनि
निमोठिदिन्छ आत्मबलको घाटी!
जब,
समाजले पढाउन थाल्छ,संस्कार अनि सभ्यताको पाठ
छिचोलिदिन्छ मस्तिष्क!
जब,
आफ्नाहरु ले नै रोकिदिन्छन समाएर पाखुरा,
पैतालाहरु संग हुँदैन, अगाडि बढ्ने सामर्थ्य!
निमोठिएको आत्मबल
छिचोकिएको मस्तिष्क
 
सामर्थ्य बिहिन पैताला लिएर
तिम्रो ढोकासम्म पुग्न बर्षौ हिंड्नुपर्छ।
मर्यादा अनि मानवताका हरेक चरण पार गरेका
कामुक पिपासुहरु लाई म चाहन्छु, दिन हदैसम्मको यातना
सबै हद बिर्सेकाहरुको बचाउका लागि हदम्याद नतोकियोस सरकार
 
त्यसैले,
म चिच्याइरहेछु उभिएर तिम्रो दैलो अगाडि!
आज तिमिले अवेर भयो भनेर ढोका बन्द गरे
भोलि बिहान सबेरै
भेटिनेछन् अरु छोरीहरू
समाचारपत्रका अग्रस्थानमा
'फेरि…………मा भेटियो बलात्कृत बालिकाको शव'
भन्ने शिर्षकमा
 
अब
यसपालि ज्यान बलात्कृतको गए, ईमान सरकारको जानेछ।
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्