Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
स्वरोजगारको उदाहरणीय काम

हेअर कटिङमा लक्ष्मणको लगानी, लोभलाग्दो आम्दानी

मासिक ९० हजार आम्दानी, खुशि र सन्तुष्टि
tribeni2

सल्यानको ढाकाडामका ३२ बर्षिय लक्ष्मण केसीले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ३ झुल्नेटामा शैलुन व्यवसाय सञ्चालन गरेको चार बर्ष बितेको छ । उहाँ स्वदेशमै श्रम गर्ने सोच र हातमा सीप भएमा बेरोजगार हुँदै भौतारिनु पर्दैन भन्ने गतिलो उदाहरण बन्नुभएको छ ।

झुल्नेटाको बिच बजारमा टिनले छाएकोे एउटा सानो घुम्तीमा सञ्चालित लक्ष्मणको ‘विश्वास हेअर कटिङ सेन्टर’ साच्चिकै स्वरोजगारको विश्वासीलो उदाहरण बनेको छ । सल्यानबाट रुकुम आएर झुल्नेटाको घुम्तिमा दैनिकी बिताउने लक्ष्मणको आम्दानी र आत्मसन्तुष्टि साँच्चिकै अन्य युवाहरुको लागि प्रेरणादायी छ ।

आफ्नै माटोमा पौरख गर्न नरुचाउने, कामलाई सानो ठुलो भनेर विभाजन गर्ने र लाखौ ऋण खोजेर विदेश जाने श्रमशक्तिको सामु लक्ष्मण उदाहरणीय हुनुहुन्छ । रोजगारीको लागी भन्दै विदेश नै जाने परिपाटिलाई लक्ष्मणको दैनिकी र कमाईले चुनौति दिएको छ ।

थोरै लगानीमा सुरु गरेको लक्ष्मणको हेयर कटिङ सेन्टरको व्यवसायिक आम्दानी लोभलाग्दो छ । लक्ष्मणले दैनिक रुपमा २५/३० जनाको कपाल काट्न भ्याइएको बताउनुभयो । ‘मासिक ८० देखि ९० हजार कमाई हुन्छ,’ उहाँले भन्नुभयो, ‘आफ्नै भूमिका यति आम्दानीमा खुशि नहुने कुरै भएन ।’ लक्ष्मण आफ्नै गाउँठाउँमा काम गर्न पाउँदा गर्व लागेको बताउनुहुन्छ । परदेशमा कडा श्रम, पसिना र रगत बगाउनुभन्दा सपरिवार आफ्नै ठाउँमा श्रम गर्न पाउँदा सन्तुष्टि मिलेको उहाँको भनाई छ ।

‘भाडाको घुम्ति भएकाले मासिक रुपमा एक हजार दुई सय जग्गावालालाई दिन्छु’ लक्ष्मणले भन्नुभयो, ‘केहि रकमले घरपरिवारको खर्च टार्छु, बाँकि बचत गरेको छु ।’ अब नयाँ प्रविधिक सामाग्री सहितको व्यवसाय सञ्चालन गर्ने र ग्राहकलाई सेवा दिने तयारी गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

स्वदेशको कमाइले पुगेन भन्दै अर्काको मुलुकमा हुइँकिनेहरु पर्याप्त मात्रामा छन्, तर दुढ इच्छाशक्तिले काम गरे पैसा र इज्जत नेपालमै पाइने लक्ष्मण बताउनुहुन्छ । स्थानीय यज्ञबहादुर ओलीले अहिलेको पुस्ताको सीपको सदुपयोग स्वदेशमा नभएर परदेशमा हुने गरेकोले लक्ष्मणबाट अरुले सिक्नुपर्ने बताउनुहुन्छ । लक्ष्मणको सीप, मेहेनत, लगनशिलताबाट आफु लगायत अन्य युवाहरु पनि प्रभावित भएको उहाँको बुझाई छ ।

स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिने रैछ भन्ने नमुना पात्र बनेका लक्ष्मणले सीपमुलक व्यवसायलाई स्थानीय सरकारले ध्यान दिएर प्रोत्साहन गर्न जरुरी रहेको बताउनुहुन्छ । स्थानीय सरकारले पनि युवा सीपलाई प्रवद्र्धनका कार्यक्रमलाई ल्याईदिएमा स्वरोजगारको सिर्जना हुने उहाँको भनाई छ । कामले मान्छे सानो ठूलो हुँदैन, राम्रो मेहेनतले दिने प्रतिफलले मान्छेलाई सफल बनाउछ भन्ने सन्देश लक्ष्मणको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्