Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अवस्था बदलिने गरी व्यवस्था गर्छु : अध्यक्ष बिष्ट

सामाजिक विकासको मुद्धा पहिलो प्राथमिकतामा
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष पदमा बिर्खबहादुर विष्ट चयन हुनुभएको छ । स्थानीय तहको पहिलो कार्यकालमा गाउँपालिकाको ३ वडा नम्वरको अध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिसक्नुभएका विष्टले ६ हजार १९ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजय हुनुभएको हो ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दलाई एक हजार ६९९ मतको फरक पारेर उहाँ अध्यक्षमा निर्वाचित हनुभएको हो । नेपाली काँग्रेस र एमालेको चुनावी गठबन्धन हुँदा पनि लोकप्रिय मतका साथ विजयी हुनुभएका बिष्टले गाउँपालिकाको समग्र विकास र गाउँपालिकावासीको हितका लागि आफुले काम गर्ने बताउनुभएको छ ।

निर्वाचित भएपछि अध्यक्ष बिष्टले हरेक टोलहरुको अवस्था अध्ययन गरेर आवश्यकताको आधारमा व्यवस्थापनको पाटोलाई प्राथमिकता दिने बताउनुभएको छ । अबको काम भनेको अपुरो विकासका कुरामा गुणस्तरियता ध्यान दिएर पुरा गर्ने रहेको उहाँको भनाई छ । प्रमुख रुपमा शैक्षिक गतिविधि केन्द्रीत भएर र शिक्षण क्रियाकलापहरु प्रविधिमैत्री बनाउन लागिपर्ने उहाँले जनाउँनुभयो । ‘यहाँका गरिब, दुःखी, निमुखा जनताको अवस्था बदल्ने संकल्प छ,’ नवनिर्वाचित अध्यक्ष बिष्टले भन्नुभयो, ‘मेरो प्रतिबद्धता अनुसार पछाडि परेका जनसमुदायलाई मूलधारमा ल्याउने कुरामा कटिबद्ध हुनेछु ।’

गाउँपालिकाको समृद्धिको लागि आपसी सहकार्य र समन्वयलाई ध्यानमा राखेर काम गर्ने उहाँको भनाई छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, विद्युत, सञ्चार लगाएतको कामको प्राथमिकिकरण गरेर जनताको अवस्था बदल्ने गरी काम गरिने बिष्टले बताउनुभयो । ‘गुणस्तरिय शिक्षा, दिगो स्वास्थ्य सेवा र भौतिक पूर्वाधार : समृद्ध गाउँपालिका, खुशि जनताको लागि श्रम, कृषि, पर्यटन, विकास र रोजगार’ भन्ने मुल नाराका साथ चुनावमा होमिएकोले यहि नारालाई मूर्तरुप दिन योजनाबद्ध विकास गर्ने बिष्टको योजना रहेको छ । गाउँपालिकाको विकासको लागि प्राथमिकता र दृष्टिकोण तय गरेकोले सोहि अनुसार काम गर्ने उहाँले जानकारी दिनुभयो ।

सानिभेरी गाउँपालिकाले सामाजिक विकासको मुद्धालाई पहिलो प्राथमिकतामा राखेको छ । जसमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईको विकास मार्फत द्रुतगतिमा मानव विकास र अवसरको सिर्जना गरिने अध्यक्ष बिष्टले उल्लेख गर्नुभयो । त्यसैगरी आर्थिक विकासको लागि कृषि र पशुजन्य उत्पादनका उद्योग, सिचाँई, उर्जा, सहकारी, पर्यटन लगायतका क्षेत्रमा पुँजी प्रवद्र्धन र मानव श्रमको विकासले आम जनताको काम, रोजगारी र अवसरलाई सिर्जना गरिने अध्यक्ष बिष्टको योजना छ ।

भौतिक पूर्वाधार विकासको क्षेत्रमा सडक, भवन तथा शहर विकास र उर्जा क्षेत्रको विकास गरी जनतालाई सुविधा सहितको रोजगारी दिईनेछ । बिष्टले वन, वातावरण तथा विपद व्यवस्थापनको क्षेत्रमा वन तथा भूसंरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण, विपद् व्यवस्थापन तथा सुन्दर र सुरक्षित वातावरणको लागि अनुकुलनिय नयाँ अवसर सिर्जना गर्ने क्षेत्रको प्रवद्र्धन गर्ने योजना रहेको छ । बिष्टको अर्को प्राथमिकतामा सुशासन तथा संस्थागत विकास रहेको छ । जसको लागि मानव संशाधनको विकास, संस्थागत क्षमता विकास लगायतका क्षेत्रहरुको प्रवद्र्धन र क्षमता विकास गरेर सेवा प्रवाह प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उहाँले उल्लेख गर्नुभयो ।

सानीभेरी गाउँपालिका केन्द्रको भूभाग कृषियोग्य भूमिका लागि उपयोगी रहेकोले व्यवसायिक कृषि कार्यक्रम ल्याईने र अग्लो डाडाँभएका क्षेत्रहरुमा फलफूल खेती, मौरीपालन, पशुपालनका गतिबिधिलाई प्राथमिकता दिईने अध्यक्षको भनाई छ । सानीभेरी गाउँपालिमा पर्यटन विकासको लागि समेत बढी सम्भावना बोकेको क्षेत्र भएकोले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन योजना बनाईने अध्यक्ष बिष्टले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्