Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
महिला सहभागिता कमजोर

रुकुम पश्चिम : वडा अध्यक्षमा महिला सहभागिता शुन्य

महिलाहरुले उम्मेदवारसम्म बन्ने अवसर पाएनन्
२०७९ जेठ ९
tribeni2

रुकुम पश्चिमका सबै वडाको अध्यक्षमा पुरुष मात्र चयन भएका छन् । हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा जिल्लाका ७३ वटै वडामा पुरुष मात्र वडा अध्यक्ष चयन भएका हुन् । जसको कारण यहाँ वडा अध्यक्षहरुमा महिला सहभागिता शुन्य रहेको छ ।

जिल्लामा रहेका ७३ वटा वडामा नै पुरुषहरु वडा अध्यक्षमा विजयी भएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले बताउनुभयो । उहाँका अनुसार जिल्लाको कुनै पनि वडामा महिला अध्यक्षको उम्मेदवारी पनि परेको थिएन । वडा सरकारको प्रमुखमा पुरुषहरुको मात्रै सहभागिता रहेको उहाँको भनाई छ ।

जिल्लाको मुसिकोट, चौरजहारी र आठबिसकोट नगरपालिकामा रहेका १४/१४ वटा वडामा एक जना पनि महिला वडा अध्यक्ष चयन हनु सकेका छैनन् । नेपाली काँग्रेसका महा समिति सदस्य निर्मला गिरीले महिलाको राजनीतिक संघर्ष र क्षमतालाई दलहरुले अर्थपूर्ण रूपमा नलिएको बताउनुभयो । उहाँले महिलाले स्वतन्त्र रुपमा उम्मेदवार उठ्न साहस पनि नगरेको र पछिल्लो चरणको गठबन्धनका कारण पनि महिलाहरुले अवसर पाउन नसकेको उल्लेख गर्नुभयो ।

१० वडा रहेको त्रिवेणी, ११ वडा रहेको सानीभेरी र १० वडा रहेको बाँफिकोटमा पनि वडा अध्यक्षमा महिला सहभागिता रहेको छैन । जिल्लाका कतिपय वडाहरुमा वडाअध्यक्ष दोहोरिदा पनि महिलाले त्यो मौका नपाएको बताईन्छ । राजनीतिक समावेशीकरणलाई नै धरापमा पारेर दलहरुले महिलाहरुलाई उम्मेदवारबाट नै पाखा लगाइएको नेकपा एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष कल्यानी खड्काले जनाउनुभयो ।

जिल्लामा ५१ वटा वडा नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका छन् । तर वडा अध्यक्षमा एक जना पनि महिला उम्मेदवार बनाईएन । माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले चुनावी प्रतिश्पर्धामा पुरुषहरु हाबी भएको बताउनुभयो । उहाँले महिलाहरुले वडा अध्यक्षमा दावी नै गर्न नआएको र तिव्र चुनावि प्रतिस्पर्धामा जसले चुनाव जित्छ उसैलाई टिकट दिने चलन भएकोले वडा अध्यक्षमा महिला उपस्थिति नरहेको जनाउनुभयो ।

जिल्लामा नेपाली काँग्रेसका उम्मेदवारले १९ वटा वडामा वडाअध्यक्ष जितेका छन् । सबै पुरुष मात्र छन् भने नेकपा एमालेका उम्मदेवारले जितेका दुई वडामा पनि पुरुष नै वडा अध्यक्ष रहेका छन् ।

महिला मानव अधिकार संजाल रुकुम पश्चिमका अध्यक्ष ब्युझना पुन देवकोटाले यसपटक राजनीतिक दलका उम्मेदवारहरुमा महिलाको पहुँच र संख्या अझ बढ्ला भन्ने आश रहेको तर निराशामा परिणत भएको बताउनुभयो । ‘पालिका प्रमुख पद त परै जाओस वडा अध्यक्षको सवालमा पनि महिला सहभागिता छायामा प¥यो’ उहाँले भन्नुभयो, ‘ जति व्यवस्था फेरिए पनि महिला सहभागिताको सवालमा गम्भिर हुन सकेको पाईएन ।’

सदिऔंदेखि महिलामाथि हुने गरेको विभेदको अनुहार निर्वाचनमा पनि देखा परेका कारण निर्णयक तहमा महिला सहभागिता हुन नसकेको बुझाई महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल रुकुम पश्चिमका संयोजक दिपा धितालको रहेको छ । संघीयताको मर्म अनुसार यसपालीको निर्वाचनमा पनि रुकुम पश्चिमका स्थानीय तहमा महिलाको राजनीतिक सहभागिता सम्मानजनक नभएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्