Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाँदाजाँदै सिस्ने २ का पाँच बर्षका उपलब्धि सार्वजनिक

पाँच बर्षमा ४९ करोड बढी लगानी
२०७९ जेठ १०
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ ले स्थानीय तहको पहिलो कार्यकालका उपलब्धिहरु सार्वजनिक गरेको छ । गत पाँच बर्षमा मात्रै २ नम्वर वडामा ४९ करोडको लगानीमा विकास निर्माणको मुख्य आधार तयार पारिएको वडा कार्यालयले जनाएको छ ।

निवर्तमान वडा अध्यक्ष जीवन केसीले पाँच वर्षको अवधिमा ४९ करोड २९ लाख ३५ हजार बजेटमा विभिन्न विकास निर्माणको कामहरु गरिएको जानकारी गराउनुभयो ।

उहाँले आफ्नो कार्यकालमा गरेका कामहरु नव निर्वाचित जनप्रतिनिधिको पदभार ग्रहणको अवसरमा जानकारी गराउनुभएको छ । उहाँका अनुसार वडामा स्वास्थ्यतर्फ स्वास्थ्यचौकी निर्माण तथा छिपखोलामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । पालिकास्तरीय अस्पताल प्रक्रिया सम्पन्न भई निर्माण कार्य सञ्चालनको अवस्थामा छ भने घुम्ति स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।

संचारको क्षेत्रमा सुद्रिमा नेपाल टेलिकमको टावर निर्माण भई सञ्चालनमा आएको छ भने फोर जी सेवा विस्तार भएको छ । वडा कार्यालयसँगै हिमालय मावि नायगाड र स्वास्थ्यचौकीमा इन्टरनेट सेवा सञ्चालन गरिएको केसीले जानकारी गराउनुभयो ।

उहाँकाअनुसार शिक्षातर्फ छात्राबास भवन, विद्यालय भवन, शौचालय निर्माण गरिएको छ । विद्यालयलाई कम्यूटर वितरण, बाल शिक्षा सम्बन्धि पोषण कार्यक्रम, बालमैत्रि कक्षा व्यवस्थापन सम्बन्धि सामाग्री सहयोग, हिमालय मावि नायगाडमा १ देखि कक्षा ५ सम्म अग्रेजी माध्याममा पढाई सञ्चालन गरिएको छ भने लैपामा बाल शिक्षा स्थापना गएिको छ ।

उर्जा क्षेत्रमा ४० किलोवाटको छिपखोला लघुजलविद्युत आयोजनाको निर्माण गरिएको छ भने ३३ किलोवाटको तुबाङखोला र पुरानो छिपखोला लघु जलविद्युत आयोजनाको मर्मत गरिएको छ । पर्यटनतर्फ नेटा सहिद स्मृती पार्क, सुद्रिमा मुक्ति प्रहार स्मृती बाटिका निर्मानाधिन अवस्थामा छन् । नायगाडमा पाहुना घर, प्वाङ, नायगाड, दत्कुनामा मन्दिर निर्माण गरिएको छ भने पर्यटन पदमार्ग निर्माण गरिएको केसीले बताउनुभयो ।

यस्तै वडामा ६ वटा झोलुङ्गे पुल निर्माण भएका छन् भने ३ वटा निर्मानाधिन अवस्थामा छन् । २ वटा ट्रस पुल, एउटा आरसीसी पुल निर्माण गरिएको छ भने दुई पुल मर्मत गर्दा एउटा पुल ठेक्का प्रक्रियामा गएको छ ।

सिंचाई विकासतर्फ छिपखोला सिचाई योजना, इटिघारी प्लाष्टिक पोखरी निर्माण, तिप्तरा सिंचाइ योजनालाई पूर्णता दिइएको छ भने गोलखारा सिंचाई योजना निर्मानाधिन अवस्थामा छ । खानेपानीतर्फ खानेपानी मर्मत, निर्माण तथा ३ वटा मुहान संरक्षण गरिएको छ भने प्वाङ/किंदा खानेपानी आयोजना निर्मानाधिन अवस्थामा छ ।

सामुदायिक पूर्वाधार विकासतर्फ ६ वटा सामुदायिक भवन, ८ वटा सार्वजनिक शौचालय, २ वटा प्रशिक्षलय र २ वटा सुधारिएको आरण निर्माण गरिएको छ भने विद्युतीय घट्ट एउटाको निर्माण सम्पन्न भएको छ भने एउटा निर्मानाधिन अवस्थामा रहेको छ ।

घोडेटो बाटो निर्माण मर्मत तथा सिढि निर्माणतर्फ ३० किलोमिटरमा घोडेटो बाटो निर्माण गरिएको छ भने ३ वटा घोडेटो बाटो मर्मत हुँदा ८ सय मिटरमा सिढि निर्माण गरिएको छ । यी सबै कार्यक्रम तीनै तहको सरकारको सहयोगमा सञ्चालन गरेको निवर्तमान वडाध्यक्ष केसीले बताउनुभएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्