Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वका तीन वटै गाउँपालिकामा कार्यपालिकाले पूर्णता पाए

२०७९ जेठ १०
tribeni2

रुकुम पूर्व / जिल्लाका तीन वटै गाउँपालिकाका कार्यपालिकाले पूर्णता पाएका छन् । जिल्लाको भूमे र सिस्ने गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध भएका छन् । पुथाउत्तरगंगा गाउँपलिकामा भने महिला सदस्य मात्र निर्विरोध कार्यपालिका सदस्यमा चयन भएका छन् भने दलित तथा अल्पसंख्यकमा ३ जनाको प्रतिस्पर्धा भएको थियो ।

सिस्ने गाउँपालिकामा महिला सदस्यमा तीर्था पुन, धनकुमारी बुढा खत्री, मिना केसी र सपुरी बुढा निर्विरोध हुनुभएको हो । दलित तथा अल्पसंख्यकबाट सुर्य नेपाली र थलबहादुर सार्की गाउँ कार्यपालिका सदस्यमा निर्विरोध हुनुभएको छ । उहाँहरु सबै नेकपा माओवादी केन्द्रका हुनुहुन्छ । १६ जनाको कार्यपालिकामा ११ जना माओवादी केन्द्रका १ जना कांग्रेसबाट र ४ जना एमालेका छन् ।

भूमे गाउँपालिकामा पनि गाउँ कार्यपालिका सदस्य पदमा सबै निर्विरोध भएका छन् । गाउँ कार्यपालिका सदस्यको लागि महिलामा सुनकुमारी रोका, भिमला विक, भारती नेपाली र फोमती बुढा निर्विरोध हुनुभएको छ । यस्तै दलित तथा अल्पसंख्यकमा भागिलाल दमाई र चेतबहादुर कामी निर्विरोध हुनुभएको हो ।

गाउँ कार्यपालिका सदस्य पदको लागि ६ जनाले मात्र मनोनयन दर्ता गराएका थिए । उनिहरु सबै नेकपा माओवादी केन्द्रका हुन् । यस गाउँपालिकामा १७ जनाको कार्यपालिका समुह रहेकोमा १५ जना माओवादी केन्द्रबाट र एक एक जना एमाले कांग्रेसबाट छन् ।

यस्तै पुथाउत्तरगंगा गाउँपालिकामा पनि ४ जना महिला सदस्य गाउँ कार्यपालिका सदस्य पदमा निर्विरोध भएका छन् । यस गाउँपालिकामा ग्वारी बुढा, भारसी बुढा, जोरकुमारी बुढा र मल्ली पुल निर्विरोध हुनुभएको हो । निर्विरोध निर्वाचित सबै नेकपा माओवादी केन्द्रका हुन् । दलित तथा अल्पसंख्यकमा भने तीन जना बिचमा प्रतिस्पर्धा भएको थियो ।

माओवादी केन्द्रका जानु छन्त्याल, हर्कबहादुर कामी र स्वतन्त्रबाट राजकुमार सुनार बिचमा प्रतिस्पर्धा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चुनावबाट माओवादी केन्द्रबाट जानु छन्त्याल र स्वतन्त्रबाट राजकुमार सुनार कार्यपालिकामा आउनुभएको छ । ७० जना मतदाता रहेकोमा छन्त्यालले ३७ मत, सुनारले ५१ मत र कामीले २९ मत प्राप्त गर्नुभएको थियो । जम्मा खसेको ६७ मतमा १७ मत बदर भएको निर्वाचन अधिकृत नारायण चाँपागाइले जानकारी दिनुभयो ।

२२ जनाको कार्यपालिका समुहमा यस पालिकामा १८ जना माओवादी, २ जना एमालेबाट, एकएक जना कांग्रेस र स्वतन्त्रबाट रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  २१:०५
प्रतिक्रिया दिनुहोस्