Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथामा कृषि उत्पादन र उद्योग स्थापनामा जोड

जडिबुटी र पर्यटनको क्षेत्रलाई व्यवस्थित गरिने
२०७९ जेठ १३
tribeni2

रुकुम पूर्व / देशभरिका ७५३ स्थानीय तहहरूमध्ये पुथा उत्तरगंगा गाउँपालिका सबैभन्दा बढी वडा भएको र अति दुर्गम गाउँपालिका पनि हो । यो गाउँपालिकाले बहुमुल्य जडिबुटि र पर्यटनको प्रचुर सम्भावना बोकेको छ भने भौगोलिक विकटता र अशिक्षाको मार खेपेको छ । गाउँपालिकाका नव निर्वाचित अध्यक्ष पुनिराज घर्तिले यी दुबै कुराको गहन अध्ययन र पहिचानबाट सुन्दर र समृद्ध गाउँपालिका बनाउने लक्ष्य लिएको बताउनुभएकाे छ ।

लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा जडिबुटी, फलफुल तथा कृषि उत्पादनको राम्रो सम्भावना भएकोले उत्पादनमा बढावा दिनुका साथै उद्योग स्थापनामा लागिपर्ने अध्यक्ष घर्तिले बताउनुभयो । विगत देखि नै आमजनताको विकास र समृद्धिको आवाज उठानमा निरन्तर खटिएकाले आफुले विजय पश्चात गाउँपालिकाको विकासमा नयाँ इतिहास रच्ने दाबी गर्नुभयो । यहाँका कतिपय वडामा अझैसम्म यातायातको पहुँच पुगेको छैन । घर्तिले कृषि, सडक, स्वास्थ्य, पर्यटन, शिक्षा, भाषा तथा सस्कृतिको संरक्षणका साथै कृषिको उत्पादन र उद्योग स्थापनामा जोड दिने बताउनुभएको छ ।

उत्पादनलाई आर्थिक समुन्नतीको आधार बनाएर जनताको जीवनस्तर बदल्ने कुरामा जोड दिने उहाँले बताउनुभयो । यहाँको हुकाम, मैकोट, पाटनमा पाईने बहुमुल्य यार्सा, पाँच औले लगायतका जडिबुटिको संरक्षण, उत्पादन र व्यवस्थापन गरेर मनग्य आम्दानी गर्न सकिने बाटो उहाँले देखेको जनाउनुभयो । तकसेरा लगायतका क्षेत्रमा उत्पादन हुने स्याउ, पालिकाका विभिन्न स्थानमा उत्पादन हुने आलु लगायतका उत्पादनलाई बढावा दिने र उद्योग स्थापना गर्ने अध्यक्ष घर्तिले योजना बनाएको उल्लेख गर्नुभयो ।

ढोरपाटन वन्यजन्तु आरक्षको बढी भूभाग आफ्नो गाउँपालिकाको क्षेत्रमा पर्ने, विभिन्न झरना तथा सुन्दर छहरा, प्राकृतिक सुन्दरता, हिमाल लगायतका कारण गाउँपालिका पर्यटनको प्रचुर सम्भावना बोकेको हुनाले आवश्यक योजना बनाएर पर्यटन प्रवद्र्धन गर्ने उहाँको योजना छ । पुथा उत्तरगंगा गाउँपालिका क्षेत्रको जीवनशैली, रहनसहन, भाषा, संस्कार, संस्कृति आफैमा अध्ययनको बिषय भएकोले यसलाई पनि प्राथमिकतामा राखेर योजना बनाईने घर्तिको भनाई छ ।

खास गरेर यहाँको भूगोलको अवस्था, जनजाति, दलित, उपेक्षित अन्य समुदायको समग्र विकास प्रत्याभूति दिलाउन आफू लागिपर्ने घर्तिको भनाई छ । राजनीति गर्नुको अर्थ नै दमित, शोषित, उत्पीडित र उपेक्षित ठाउँ र समुदायको यथोचित उत्थान गर्नमा ध्यान दिनु भएकोले अब आफै तमाम जनसमुदायको माग सम्बोधन गर्ने स्थानमा पुगेको उहाँका बुझाई छ ।

पुथा र उत्तरगंगा क्षेत्रको मिलान गरेर बनाइएको यो गाउँपालिका भौगोलिक रूपमा निकै ठूलो छ । यस क्षेत्र र यहाँका जनसमुदायले भौगोलिक विकटताको मार खेपेको आफूले राम्रोसँग बुझेको अध्यक्ष घर्ति बताउनुहुन्छ । सडक निर्माणको कार्यलाई उत्तिकै प्राथमिकता दिने उहाँले बताउनुभयो । सहिदमार्ग अहिले हुकामसम्म पुगेकोले द्रुत गतिमा विस्तारमा जोड दिने, सहिदमार्ग अन्तर्गतको अर्को टेन्डर हुनेबित्तिकै मैकोटसम्म लगिने, यता तकसेराहुँदै ढोरपाटनसम्मको सडक सञ्जाल निर्माणलाई अगाडि बढाइने उहाँले उल्लेख गर्नुभयो । त्यसैगरी क्युबाङ्ग, राङ्सी, नाखासम्मको सडक ग्रावेल गर्ने, जामाबगर र त्रिबेणी हुँदै ओखमासम्म सडक बिस्तार गर्ने, नायगाड हुँदै चारगाउँ, खारबाङ्ग, अर्जल, घुन्मा, रन्मा, मैकोट हुदै पेल्मासम्मको सडक बाटो निर्माणमा जोड दिइने अध्यक्ष घर्तिले बताउनुभयो ।

प्रायः गाउँमा अहिले माइक्रो हाइड्रोपावर छन्, तिनीहरूको मर्मत सम्भारका साथै केन्द्रीय लाइन पनि जोडिने, जनताले सहज ढंगले उपचार गर्ने वातावरण मिलाइने, शिक्षा क्षेत्रमा उत्तरगंगा गाउँपालिकाले थुप्रै लगानी गरेकोले त्यसलाई चुस्त, दुरुस्त र गुणस्तरीय बनाउन जोड दिईने उहाँको योजना छ । कृषि उत्पादनमा माटो र हावापानी सुहाउँदो कृषिजन्य उत्पादनमा जोड दिइने, विशेषतः सहिद परिवार र घाइते अपाङ्गता भएका व्यक्तिको लागि विशेष कार्यक्रम बनाइने अध्यक्ष घर्तिले उल्लेख गर्नुभयो ।

यहाँको प्राकृतिक संरचना र संस्कृतिलाई जोडेर लैजाने कोशिश गर्ने, जडिबुटी र तालतलैयाका उचित व्यवस्थापन गर्ने लगायतका काम चुनावी घोषणापत्रमा उल्लेख गरेअनुसार नै गर्ने अध्यक्ष घर्तिको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्