Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सेवा सुरु भएको एक बर्षपछि रुकुम पूर्वमा स्वास्थ्य केन्द्रको उद्घाटन

जिल्लामा आयुर्वेद औषधी उत्पादन केन्द्र बनाउन सकिने प्रदेश मन्त्रीको भनाई
२०७९ जेठ १३
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा सुचारु गरेको एक वर्षपछि औपचारिक रुपमा उद्घाटन गरिएको छ । शुक्रबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले रुकुमकोटमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुहुँदै मन्त्री थारुले रुकुम पूर्वमा आयुर्वेद औषधी उत्पादन केन्द्र बनाउन सकिने बताउनुभएको छ । उहाँले रुकुम पूर्व जडिबुटीको भण्डार क्षेत्र रहेकोले आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्नुभयो ।

‘यहाँ बहुमुल्य जडिबुटी छन्,’ मन्त्री थारुले भन्नुभयो, ‘जिल्लाका सबै दल, जनता, बुद्धिजिवीहरु एक भएर यहाँको जडिबुटीलाई यहि संकलन गर्ने, यहि प्रशोधन गर्ने र औषधी उत्पादन गर्नमा जोड दिनुपर्छ ।’ आयुर्वेद औषधीको लागि कार्यक्रम र बजेट व्यवस्थापन गरेर अघि बढ्न उहाँले सुझाव दिनुभयो । यसको लागि प्रदेश सरकार साथमै रहने समेत मन्त्री थारुले जनाउँनुभयो ।

आयुर्वेद सेवा सबै भन्दा पुरानो उपचार पद्धती भएतापनि पछिल्लो समयमा झन् महत्व बढेर गएको उहाँको भनाई छ । जिल्लाका बिभिन्न स्थानमा पाईने बहुमुल्य जडिबुटीहरु यार्सागुम्बा, पाँचऔले लगायतको संकलन, प्रशोधन र औषधी निर्माणले आर्थिक समृद्धि पनि हुने उहाँले बताउँनुभयो ।

आयुर्वेद केन्द्रले रुकुम पूर्वमा गत वर्षको जेठ २६ गतेबाट सेवा सुरु गरेको थियो । जिल्लामा सेवा सुरु गर्नेबेला कोरोना महामारी फैलिहेकोले उद्घाटन गर्न नसकिएको बताईएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ओपिडि सेवा र निशुल्क औषधी वितरण भइरहेको छ । थेरापी सेवा भने सञ्चालन हुन सकेको छैन ।

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख पुष्पराज पौडेलको अध्यक्षतामा भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र उद्धघाटन कार्यक्रममा प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्यान मन्त्रि इन्द्रजित थारुको प्रमुख आतीथ्यता रहेको थियो ।

कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, भूमे गाउँपालिका अध्यक्ष होमपप्रकाश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काको विशेष आतीथ्यता रहेको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर गणेश अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य केन्द्रका प्रमुख विष्णुहरी आचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्