Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महिला स्वाथ्यका विषयमा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक : मन्त्री भुसाल

महिनावारी दिवसमा एक्सपोज नेपालले गर्‍यो साइकल र्‍याली
tribeni2

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिला स्वाथ्यका विषयमा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

एक्पोज नेपालले अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा आयोजना गरेको जनचेतनामूलक साइकल यात्राको समापन गर्दै उहाँले महिला स्वास्थ्यका विषयमा सबै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । 'महिलाको जैविक बनावटको सम्मान गरौँ, महिला स्वाथ्यका विषयमा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक छ' मन्त्री भुसालले भन्नुभयो, 'महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान हो, विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको छ ।'

उहाँले महिनावारी महिलाको गर्वको विषय उल्लेख गर्नुभयो । 'यो गर्वको कुरो हो, पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो' मन्त्री भुसालले थप्नुभयो, 'महिनावारीका समयमा महिलालाई सफा र स्वच्छता आवश्यक पर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुन: प्रयोग गर्न मिल्ने प्याडको प्रयोग गर्नुपर्नेमा जोड दिनुपर्छ ।' उहाँले समाज विकासका क्रममा महिलाका विषयमा पनि चेतनास्तर बढ्दै गएको अबका दिनमा चेतनास्तरको प्रवर्द्धन गर्दै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै एक्सपोज नेपालका अध्यक्ष प्याड म्यान ज्ञान महर्जनले नेपाली महिलाहरू महिनावारीका समयमा विभेदको सिकार हुने भएकाले महिनावारी विभेद हटाउन सके हिंसा न्यूनीकरण हुने बताउनुभयो ।

बिहान बसन्तपुरबाट सुरु भएको साइकल र्‍याली जमल, दरबारमार्ग, पुतलीसडक, अनामनगर, बिजुलीबजार, माइतीघर मण्डला, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजार पाटन दरबार स्क्वायर क्षेत्र पुगेर सकिएको थियो । र्‍यालीमा तीन सय भन्दा बढी व्यवसायिक साइकल यात्रीको सहभागिता रहेको थियो ।

पुन: प्रयोग गर्न मिल्ने प्याड र वातावरणमैत्री साइकलको सम्बन्ध मानव स्वास्थ्य र वातावरणका महत्वपूर्ण रहेको सन्देश दिन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । एक्सपोज नेपालले सन् २००७ देखि नेपालमा महिलामाथि हुने सबैखाले हिंसाका विरुद्द र महिनावारी स्वच्छताका क्षेत्रमा काम गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्