Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तरकारी खेतीमा जमेका 'बिरबहादुर'

तरकारी खेतीबाट बार्षिक पाँच लाख बचत
tribeni2
  • राजेश गौतम

रुकुम पश्चिम / नौ बर्ष अघि रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ लहुँका बिरबहादुर खड्काको घरमा छाक टार्नै धौधौ हुन्थ्यो । परम्परागत अन्नबाली लगाउँदा छाक टार्न समस्या भोग्दै आएका खड्काले जब तरकारी खेती गर्न थाल्नुभयो, तब फेरिएको छ उहाँको जीवन ।

खड्का करिब नौ बर्षदेखि मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । सुरुमा उहाँले आफ्नै दुई रोपनी बाँझो जमिनमा तरकारी खेती गर्नुभयो । तीन लाख लगानी गरेका खड्काले तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि ब्यवसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएको छ ।

‘अहिले हरेक बर्ष चार देखि पाँच लाखसम्म रकम बचाउँदै आएको छु’, खड्काले भन्नुभयो ‘तरकारी खेती गरेपछि मेरो दैनिकी फेरिएको छ ।’ उहाँको तरकारी खेती अहिले १० रोपनी जग्गासम्म फैलिएको छ । तरकारी खेतीले गर्दा परिवारको खर्च, छोराछोरीको पढाइ खर्च सहजै टर्ने गरेको उहाँको भनाइ छ ।

उहाँको बारिमा अहिले बन्दा, काउली, काँक्रा, खुर्सानी, गोलभेंडा, भाण्टाको खेती भैरहेको छ । खड्काले आफ्नो खेतीमा मौसम अनुसारका सम्पुर्ण तरकारी खेती गर्दै आउनुभएको छ ।
उच्च शिक्षा हाँसिल गरेर पनि बेरोजगार भएका तमाम साथीहरु बिदेश भासिनु बाध्यता रहेको भन्दै उहाँले स्वदेशमै श्रम तथा कर्म गर्न सकिने बताउनुभयो ।

आफुले नेपालमै केहि गर्नुपर्छ भन्ने सोचले ब्यबसायिक तरकारी खेती गर्न लागेको जनाउनुभयो । खड्काले तरकारी खेतीमा गाउँकै दुई जना युवालाइ रोजगार समेत दिनुभएको छ ।

२०७७ सालमा कृषि विकास कार्यालयबाट दुई लाख रकम अनुदान पाएको र सोहि अनुदानले आफूलाई थप मेहेनत गर्न हौसला बढेको उहाँले उल्लेख गर्नुभयो । खड्का दिनभरी तरकारी खेतीको गोडमेल र सिँचाइ गर्नमा व्यस्त हुनुहुन्छ । बेलुकापख भने टिपेको तरकारी टोकरीमा बोकेर बजारतिर जानुहुन्छ ।

गाउँमा मोटर बाटो भएपनी नियमित गाडी नचल्दा उत्पादन भएका तरकारी उपभोक्ता सम्म पु¥याउन कठिन भएको उहाँले बताउनुभयो । खड्काले तरकारीसँगै विभिन्न प्रकारका बिरुवा पनि उत्पादन गर्दै आउनु भएको छ ।

आफू आफ्नो पेसाबाट पुर्ण रुपमा सन्तुष्ट रहेको उहाँ बताउनु हुन्छ । धेरै शिक्षित युवाहरु बिदेश पलायन हुनुभन्दा नेपालमै श्रम र दुख गरे धेरै गर्न सकिने उहाँको बुझाई छ । सबैलाई आफ्नै माटोमा पसिना बगाउन समेत उहाँले अनुरोध गर्नुभयो ।

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्