Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बोलिभिया जाँदै गरेका नेपाली स्पेनको विमानस्थलमा पक्राउ, धेरैजसो युवा रुकुमका

tribeni2

अमेरिका छिर्ने उद्देश्यले स्पेन पुगेका १५ जना नेपाली म्याड्रिडस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । म्याड्रिडलाई ट्रान्जिट बनाएर दक्षिण अमेरिकी मुलुक बोलिभिया जाँदै गरेका उनीहरुलाई भिसा र कागजात नक्कली देखेपछि म्याड्रिड विमानस्थलको सुरक्षा निकायले नियन्त्रणमा लिएको बुझिएको छ ।

विमानस्थलको सुरक्षा निकायले बोलाएर भाषा अनुवाद गर्न पुगेका म्याड्रिड निवासी शिवराज सिग्देलले घटनाको पुष्टि गरेका छन् । ‘मंगलबार, बुधबार र बिहीबार गरी ८ जना नेपालीलाई प्रहरीले सोधपुछ गरिसकेको छ । मैले नै भाषा अनुवादको काम गरे’ उनले भने ।

‘उनीहरु  नक्कली कागजात प्रयोग गर्दै दुवई (यूएई), केन्या, मोरक्को हुँदै स्पेन प्रवेश गरेका रहेछन् । २२ बर्षदेखि बढीमा ४० वर्ष उमेरका जस्तो देखिनुहुन्छ’ सिग्देलले अघि भने । उनिहरु धेरैजसो रुकुम, रुकुम पश्चिम र सल्यान घर भएका नेपालीहरु रहेका छन् ।

‘म आज बिमानस्थल जाँदा थप नेपालीहरु पनि देखेको थिए। उहाँहरु  १५ जना जति हुनसक्ने मेरो अनुमान छ। दुई हप्तादेखि अध्यागमन विभागकै नियन्त्रणमा रहेको बुझिएको छ’  सिग्देलले भने । 

नक्कली भिसामा स्पेन आइपुगेका उनीहरुलाई विमानस्थलका सुरक्षा अधिकारीले भिसा कसले लगाएको, एजेन्ट को हो, कति खर्च भयो ?,  कुन कुन बाटो हुँदै आएको र कहाँ जान लागेको भनी प्रश्न गरेको छ ।

‘धेरैले उत्तर एजेन्ट चिनेको छैन भन्ने नै थियो । तर एकजनाले भने भारतीय नागरिक सोनीको नाम लिए । २० देखि ३० लाख रुपैयाँसम्म खर्च भएको जवाफ उहाँहरुको थियो’ सिग्देलले भने ।

स्पेनको अध्यागमन विभागले मोरक्कोदेखि आएको हुँदा उतै फर्काइदिन सक्ने सिग्देलले बताए।

म्याड्रिड दूतावासलाई छैन जानकारी

विमानस्थलमा स्पेनको सुरक्षा निकायले नेपालीहरुलाई नियन्त्रणमा लिएकोबारे आधिकारिक जानकारी प्राप्त नभएको म्याड्रिडस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासमा कार्यरत सहचारी करिश्मा अधिकारीले हालसम्म स्पेनको अध्यागमन विभागबाट दूतावासलाई कुनै पनि जानकारी प्राप्त नभएको बताइन् । ‘हामीलाई स्पेन सरकारको तर्फबाट ईमेल वा फोन केही पनि आएको छैन । यो घटनाबारे कुनै पनि जानकारी छैन’ उनले भनिनन् ।

युरोपलाई ट्रान्जिट बनाएर अमेरिका छिर्न खोज्नेहरु संख्या बढिरहेको उनले सुनाइन् । ‘यदि उहाँहरु स्पेनको भिसा होल्ड गर्नुहुन्न अथवा सेन्जेन भिसा होल्ड गर्नुहुन्न भने डिपोर्ट पनि गर्न पनि सक्ला’ अधिकारीले भनिन्, ‘ स्पेनको आप्रवासी नीति अलि खुकुलो भएकाले अथोरिटीले एउटा-एउटा  केस हेरेर निर्णय लिन सक्छ । सबैलाई एउटै निर्णय नहुन पनि सक्छ ।’

राजदूतावासलाई आधिकारिक जानकारी प्राप्त नभए पनि पिडितका आँफन्तहरुले भने नेपाली समुदाय समक्ष सहयोगका लागि अनुरोध गरेका छन् । नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले आफन्तहरुले सहयोगका लागि अनुरोध गरेको बताए । ‘म्याड्रिड विमानस्थलमा नियन्त्रणमा रहेको भन्दै तीन जना नेपालीको डकुमेन्ट मलाई आफन्तले पठाउनुभएको छ । सहयोग गरिदिन उहाँहरुको अनुरोध छ ।’

तीन महिनाअघि पनि समातिएका थिए नेपाली

एनआरएन स्पेन क्षेत्रीय समिति म्याड्रिडका सचिव सागर श्रेष्ठले केहि महिना पहिले तीन जना नेपाली म्याड्रिड विमानस्थलमा समातिएको स्मरण गरे । अध्यागमन विभागबाट आफूलाई बोलाएपछि भाषा अनुवाद गर्न पुगेको सम्झदै उनले भने, ‘८-९ महिना अघिको घटना हो। बोलिभियाको नक्कली कागजात बनाएर आएका तीन जना नेपालीहरुलाई  सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो ।’

‘उहाँहरुले बोलिभियाको नक्कली रेसिडेन्सी कार्डहरु काठमाडौं बनाएर आउनुभएको रहेछ। दुवई (यूएई) मस्को हुँदै म्याड्रिड आउनुभएको थियो।’ श्रेष्ठले थपे,  ‘दक्षिण अमेरिकी मुलुक हुँदै अमेरिका छिर्ने उहाँहरुको योजना रहेको बुझियो ।’

दुई जना नेपालीलाई मस्कोतिर नै फिर्ता गरिदिएको भएपनि अर्को एकजना नेपालीलाई स्पेनको प्रहरीले छोडिदिएको उनले सुनाए । ‘१८ बर्षभन्दा मुनिको भाइ हुनुहुन्थ्यो । उहाँलाई प्रहरीले छोडिदिएपछि हामीले पोर्चुगल पठाइदियौं’ उनले भने ।

उनका अनुसार अमेरिका छिर्ने दाउमा नक्कली कागजातको प्रयोग गर्दै स्पेन हुँदै दक्षिण अमेरिकी देश पुग्ने नेपालीहरुको संख्या बढ्दै गएको छ।

स्पेनजस्तै जर्मनी पनि ट्रान्जिट

गत असोजमा १८ जना नेपालीहरु जर्मनीको फ्र्यांकफर्ट विमानस्थलमा पनि पक्राउ परेका थिए । नक्कली कागजात प्रयोग गर्दै मेक्सिको छिर्न खोजेका ती नेपालीलाई जर्मनीको अध्यागमन विभागले नियन्त्रणमा लिएको हो ।

उनीहरुको अन्तिम गन्तब्य पनि अमेरिका नै थियो । दुबई (युएई) मस्को हुँदै फ्र्यांकफर्ट आएका उनीहरु विमानस्थलमा समातिएका थिए ।

जर्मनीबाट मेक्सिको छिर्न खोजेका उनीहरूले नक्कली  कागजात प्रयोग भएको देखिएपछि अध्यागमन विभागको नियन्त्रणमा परेका थिए । ती नेपालीलाई जर्मनीबाट मस्कोतर्फ नै  फर्काइएको थियो ।

नक्कली कागजात प्रयोग गर्दै अमेरिका छिर्ने दाउमा नेपालीहरुले  बिचौलियालाई ३० लाख रुपैयाँ भन्दा बढी रकम खर्च गर्ने गरेको पछिल्ला घटनाहरुबाट खुल्न आएको छ ।

-अनलाइन खवरबाट

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्