महिलाको हत्या आरोपी वडा अध्यक्ष सहित तीन जनालाई थुनामा राख्न आदेश

प्रहरी हिराहतमै हुँदा वडा अध्यक्षमा विजयी
२०७९ जेठ २४

रुकुम पूर्व / महिलाको अपहरण पछि हत्या गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्ष सहित तीन जनालाई पुर्पक्षका लागि थुना राख्न आदेश भएको छ ।

रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलाशले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ११ का नवनिर्वाचित वडा अध्यक्ष कुमारसिं बुढा सहित तीन जनालाई थुनामा राख्न आदेश दिएको हो । सोमबार वडा अध्यक्षसँगै सोहि वडाका निवर्तमान वडा अध्यक्ष जयबहादुर बुढा र उनका भाई अर्जुन बुढालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश डाँगीले पुथा उत्तरगंगा गाउँपालिका १० की ३९ बर्षिया दुँठी बुढा भन्ने जुनमाया बुढाको हत्या आरोपमा निजहरुलाई कारागार चलान गर्ने आदेश भएको बताउनुभयो । वैशाख १९ गते पुथा उत्तरगंगा गाउँपालिका १० तकसेरामा स्थानीय निर्वाचन प्रचार प्रसारका क्रममा भएको विवाद मिलाउन जुनमाया बुढा माओवादी कार्यकर्ताहरुले अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

निजहरु सहित नाम नखुलाईएका २० जना बिरुद्ध २० गते किटानी जाहेरी परेको थियो भने २८ गते तीन जनालाई पक्राउ गरिएको थियो । वडा अध्यक्षमा विजयी हुनुभएका कुमारसिं बुढा मतदानको अवधिमा पनि प्रहरी हिरासतमै हुनुहुन्थ्यो ।

अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा स्थानीयले तकसेरादेखि करिब चार किलोमिटर माथि जंगलमा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । महिलाको कानमा रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो । मृतक जुनमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लिएर पोष्टमार्टमका गरिएको थियो ।

हत्या आरोपी तीन माओवादी कार्यकर्तालाई दश दिन थुनामा राख्न म्याद थप

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्