Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला सदरमुकामको मुख्य केन्द्रमै पानीको अभाव

'पालो कुर्दाकुर्दै धारा सुक्छ'
२०७९ जेठ २४
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा पानीको अभाव हुन थालेको छ । दुई हप्ता यता मुसिकोट नगरपालिका १ का विभिन्न टोलहरुमा पानीको अभाव रहेको छ ।

घरको धारामा आवश्यक मात्रामा पानी आउन छोडेको भन्दै यहाँका सर्वसाधारणले सास्ती हुन थालेको जनाएका छन् । यहाँको खलंगा बजार, पातुखोला, बागबजार, सेरीगाउँ, ढिकीच्याउँ लगायतका क्षेत्रमा पानीको आपूर्ति प्रशस्त नहुँदा सर्वसाधारणले समस्या झेल्दै आएका छन् ।

पानीको सहि व्यवस्थापन र समान वितरण नहुदाँ कतिपय धाराहरुमा पानी निरन्तर बगिरहने र कतिपय धाराहरुमा पानी नै नआउने समस्या रहेको छ । स्थानीय गोकर्ण खड्काले आधारभूत आवश्यकताको रुपमा रहेको पानी सर्वसाधारणले सहज रुपले पाउन नसकेको बताउनुभयो । उहाँले केहि दिन यता पानीको मुहानमै पुगेर पानी बोक्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

त्रिभुवन जनता माध्यमिक विद्यायलमा अध्ययनरत छात्रा जमुना रावलले दिनमा एकैछिन मात्रा धारामा पानी आउने गरेको बताउनुभयो । 'पालो कुर्दाकुर्दै धारा सुकिहाल्छ', रावलले भन्नुभयो, 'पिउनलाई पनि पानी पुगेको छैन । नुहाउन र कपडा धुन त झन् समस्या छ ।' सरोकारवाला निकायको दुई हप्तासम्म पनि पानीको आपूर्तिमा ध्यान नदिएको स्थानीयको गुनासो रहेको छ । होटेल व्यवसायी डम्मर केसीले पानीको अभाव झेलिरहेको जनाउनुभयो । उहाँले सुख्खायाम नलाग्दै यसरी पानी पाउनबाट बञ्चित भएको बताउनुभयो ।

मुसिकाेटमा पानी वितरणकाे जिम्मा लिएकाे मुसिकोट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाका अध्यक्ष टोपराम नेपालीले मुहानबाट नै पानी कम आएकाले समस्या भएकाे बताउनुभयो । उहाँले समितिका पदाधिकारी र कर्मचारीहरु पानीको मुहानमै पुगेर समस्या समाधानमा केन्द्रित भएको उल्लेख गर्नुभयो । साँखको पानाखोला मुहानबाट मात्र पानी आइरहेको तर अन्य चार ओटा मुहानबाट पानी कम आएकोले खलंगा र आसपासमा पानीको अभाव हुन पुगेको अध्यक्ष नेपालीले बताउनुभयो ।

टिमुर खोला, सिजडी खोला, घ्यु खोला र टुनीबोट मुहानबाट पानी कम आएकोले समस्या पत्ता लगाएर समाधान तर्फ लागेको उहाँले स्पष्ट पार्नुभयो । पानीको मुहानहरुमै पुगेर काम गरिरहेकोले एक दुई दिनमै पानी अभावको समस्या समाधान हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्