सोसल मिडिया
भोगाई हो जीन्दगी र बुझाई पनि । खास जीन्दगी त अभावले, पीडाले र बाध्यताले सिकाउँछ होला लाग्छ । संघर्षका अनेक पाटा छन्, हरकोहिका जीवनमा । टुहुराको बालापन, पीडा र अभावको कहानी भोग्नेलाई जति सुन्ने र देख्नेलाई कहाँ होला र !
बाको गरिबी र आमाको मातृत्वको अभावमा हुर्केको म, सहनै नसक्ने दर्दहरुको सामना गरेर उभिन सकेको छु अहिले । छटपटीका दिन, एक्लोपनका क्षण सम्झदा त यसरी नि बाँचेको रैछु लाग्छ । दाजुभाई विनाको र भएका दुई दिदिसँग बालापन साट्न नपाएको अभागी हुँ म । दुई दिदीहरुको कान्छो भाइ हुँ, जस्ले म केवल कक्षा चारमा पढ्दै गर्दा बिहे गरेर पराईको घर रोजे । दिदीहरु आआफ्नै जीन्दगी र घर व्यवस्थामा लागे, यता रह्यौ बृद्ध बाबा र नाबालक छोरा मात्र ।
त्यो बेला घरमा तीन ओटा भैंसी, दुईवटा गोरु अनि आठ दस वटा बाख्रा र भेडा पालेका थियौ । आमा पनि हुनुहुन्थ्यो । दुवै दिदीहरुको एउटै सालको मंसिरमा बिहे भयो । त्यसै बर्षको चैतमा आमाले छोडेर जानुभयो । यो बज्रपात असह्य भयो । यी घटनाले मन र तन नराम्रोसँग गाँज्यो । दिदीहरु पराईको भए, आमाले संसार छोडेर जानुभयो, बुवाको बृद्धावस्थाले पनि अब त एक्लै भईस् भन्ने संकेत गरिरहेको थियो । भएभरको सम्पति त्यसैबेला सकियो, गरिबीले थिच्न थाल्यो । त्यो बेला देखि नै आकाशले थिचेको अनूभुति गरेर बाँच्न कोशिस गरिरहेको मान्छे हुँ ।
चार कक्षा पढ्दै गर्दा दिदीहरु अलग, आमा परलोक भएपछि बुवालाई मेरै चिन्ता बढ्यो । बाहिरी रुपमा मसँग कहिल्यै पनि सक्दिन छोरा भन्नू भएन । निराश भयो भने पढ्न मन नगर्ला, बिग्रिएर जाला, लफङगो बन्ला भन्ने पीर थियो ।
बिहान बेलुका घरमा गोठपातको काम गरेर विद्यालय जान्थे म । खाली खुट्टा, फाटेको कमिज, टालो माथी टालो थपेको कछाड यस्तै यस्तै थिए मेरा साथमा । कामले हुने शारीरिक थकान, पढाईले हुने तनावले शरीर सुकेनाश लागेको बच्चाको जस्तै थियो । यो बेला साथीभाईहरुको म प्रतिको व्यवहार सम्झेर पनि आँखा भरिन्छन् अहिले । एक्लोलाई, गरिबलाई घृणा र तिरस्कारको सिकार बनाउँदा रहेछन् । माया र साथ पाउँनु त सपना जस्तो लाग्ने ।
चार कक्षाको बार्षिक परीक्षाको नतिजा प्रकाशन भयो । जनकल्याण प्राथमिक विद्यालय जोगीनेटाबाट प्रथम भएको याद छ मलाई । गुरुहरु रुपलाल खड्का, डण्डबिर ओली, मानबहादुर ओली, रुद्रबहादुर ओली, डण्डबिर केसीको दिनुभएको माया, पुरस्कार र पढ्नलाई प्रेरित गरेको थप्पड ताजै छ अहिले पनि ।
गुरुहरुको सम्मुखमा हात जोडेर भन्न मन छ, “बाल्यकालको बिचरो टुहुरो बालक म, उतिबेला सच्चिन सकिन कि, दुख दिए की, माफ गरिदिनुहोस् । होमवर्क गर्न सकिन सर, त्यो बेला खरको छानाको मेरो दरबारमा बत्ति बाल्ने मट्तिेल थिएन । बिहान उज्यालो हुने बित्तिकै घाँस काट्न जान्थे, आएर गोबर सोहोर्थे र गन्हाउने शरिरसँग विद्यालय पुग्थे । फेरि, आएर गोठालो जान्थे । बेलुका बृद्ध बुवालाई खानपानमा सहयोग गर्ने । खाना खाएर अगेनो छेउमा किताब खोल्थे, तर थाकेको शरिर लत्रक्क भएर किताबै निदाउथे सर । घरको खरको छानो फेर्न सकिन, अहिले एउटा सोलार जोडेको छु ।”
साल फेरियो, कक्षा ५ को जिल्ला स्तरीय बार्षिक हिमालय मावि खोलागाँउ चौफामा भएको हो । त्यहाँ भुईमा चप्पल ओछ्याएर बसेर दिएको बहुत आउँछ । त्यो बेला मेरो पढाईको लागि हालका उपसचिव तथा उतिबेलाका सहपाठी कर्णबहादुर कँवर र चौरजहारी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष थलबहादुर कँवरले दिएको मायाको एकएक थप्पड यादगर छ ।
म बिचल्लीत र कति पनि थकित भएन । कक्षा ६ देखि १० कक्षासम्म सरस्वती मावि अर्माडाँडा पढे । त्यहाँका गुरुहरु अन्नतराज पौडेल, टंकबहादुर चन्द, बीरबहादुर रोका, लोकबहादुर विष्ट, लालबहादुर ओली, अतिराम विष्ट, पहलसिंह बस्नेतको गाली र माया मनमष्तिस्कमा गडेको छ ।
साहारा बिनाको टुहुरो, माया बिनाको पागल बालक कक्षा आठ पढ्दा पढ्दै बिहे गर्न बाध्य भए । १२/१३ बर्षमै बिहे गरेपछि अब पढ्न छोड्छ, जीन्दगी बिगार्याे भन्नेहरुको कमी थिएन । मैले पढाइ छोडिन । जेनतेन पढे, राप्ती ज्ञानोदय मावि सिम्लीबाट एसएलसि पास गरे । एसएलसी पछि घरमा घाँस दाउरा गरिरहेको थिए । म पढेको स्कुलले शिक्षक आवश्यक छ, पढाइ दिनुपर्याे भनेर मलाई रोज्यो । बैशाख महिनाबाट मास्टर भए, साउन २ गते देखि मासिक एक हजार तलब पाउन थाले ।
त्यो बेलाबाट एक हजारको पाँच प्रतिशत तत्कालिन माओवादीलाई कर तिरेको पनि हुँ । त्यो तलबमा पनि कर तिराउनु कतिको राम्रो, नराम्रो के होला, तैपनि सहयोग भएको ठाने । २०५९ सालको कुरा हो सायद, भई नभई फेरि ५ हजार शेयर लगानीमा राख्न भनेर उर्दी आएको थियो । ऋण निकालेको त्यहि हजारले जीन्दगी लथालिङ्ग भयो । नत उच्च शिक्षा पढ्न पाउने भए, नत राम्रो तलब पाउन सके ।
कति पीडा छ, बयान गरेर साध्य छैन । विद्यालयको लागि खलंगा गयो माओवादीबाट तार्गेट । सेना पुलिसको त बयानै नगरौं । गरायलाको गोडडाँडामा विद्यार्थी सम्मेलनको लागि गए, रातभर डिउटी गरे । त्यो कुराको याद अहिलेका सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका पुनलाई पनि हुनुपर्छ ।
दुख र अभावमै दिन बिताए, रात बिताए । महिना बिताए, अनि बर्ष बिताए । दुख् र अभावमा झण्डै ३१ बर्ष काटे । ५/६ बर्ष मात्र आमाको काखमा बिताए । दुखारीलाई किन जम्मायौ आमा भनेर धिक्कारिन । पश्चातापले कमजोर हुनुछैन मलाई । गालीले माखो मर्दैन पनि । मलाई हेरेर सास फेर्न सक्ने र दुख नपाओस् भनेर प्रार्थना गर्ने बाले मेरा लागि गरेको घाँस, दाउरा, पानीपातको ऋण तिर्न सकिन ।
तीन बर्षसम्म जागिरको क्रममा डाँडाअर्मामै बिताए । मलाई एक हजार पाँच सय तलबमा सिमित गरियो । पावर लगाईदिने मेरा कोई थिएन । एकाएक जागिरबाट निकालिए । त्यसपछि फेरि अर्को विद्यालयमा जागिर जोड्ने तयारी भयो । मासिक दुई हजारले । त्यसैमा हान्थाप गर्दै मेरो तलब काटेर थप अर्को शिक्षक राख्न बाध्य बनाईयो । समय बित्दै गयो अस्थायी दरबन्दी खाली भयो । राजनीतीक पावर, पैसा, आफन्त केई नभएपछि म पछि पारिए ।
अर्काे विद्यालय राहात दरबन्दीमा गए । केही महिनापछि फेरि नजिकै आए । केही पाँच छ बर्ष पढाए, स्थायी नियुक्ति पाए । पुनः पहिलेकै विद्यालयमा आए र अहिलेसम्म अध्यापन कार्य गरिरहेको छु ।
बाले छोडेर गएको पनि तीन बर्ष बितिगयो । दुखारी मनले कहिले पनि सुख पाएन । जे जतिले सहयोग, असहयोेग गर्नुभयो, मनमै छ । लामै हिसाब राखेको छु, छोटो अवधिमा । पात्र चिनियो, प्रवृति चिनियो । राजनीतिक, सामाजिक, आर्थिक तथा मानसिक भागाईहरु संगालेको छु । जीन्दगी भोगाई हो, संघर्षको अर्को रुप हो । परेको सब भोग्नुपर्छ, सब बुझ्नुपर्छ । अझै धेरै भोग्नु छ, र बुझ्न पनि छ ।