Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
खानेपानीकाे अभाव

विद्युतमा मनोमानी, रुकुमकोटमा आउँदैन खानेपानी

सर्वसाधारणलाई स्थानीय सरकारको आशा
२०७९ जेठ २६
tribeni2

रुकुम पूर्व / मानिसको आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानीको अभावमा रुकुमकोटका सर्वसाधरणले सास्ती भोग्दै आएका छन् । रुकुम पूर्वको जिल्ला सदरमुकाम समेत रहेको रुकुमकोटमा खानेपानीको अभाव हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।

सिस्ने गाउँपालिका ६ सहित अन्य वडामा खानेपानीको अभाव रहेको स्थानीयले जनाएका छन् । रुकुमकोटको छिप्रीदह, चिउरेनी, आला र बाहुनडेराका करिब दुई सय घरधुरीले पानीको समस्या खेपिरहेका छन् । 

धारामा पानी नआउँदा दैनिक घरायसी कामकाज गर्न, पिउन, सरसफाइ गर्न समस्या हुने गरेको सिस्ने गाउँपालिका ५ छिप्रीदहका वसन्तकुमार श्रेष्ठले बताउनुभयो । धारामा पानी नझरेपछि लुस्फा धाराबाट पानी बोक्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । छिप्रीदहमै होटेल गर्दै आउनुभएका गोपाल सुनारले दैनिक २०/२५ मिनेट मात्र धाराबाट पानी झर्ने गरेको बताउँदै त्यो पानीले भाँडा धुन, चर्पीमा प्रयोग गर्न र खाना पकाउन नपुग्दा सास्ती खेप्नुपरेको गुनासो गर्नुभयो ।

स्वास्थ्य सस्था र विद्यालयमा झन् समस्या

छिप्रीदहमै मेडिकल संचालन गर्दै आउनुभएका प्रकाश नेपालीले पनि पानी अभावको कारण उपचारसँगै अन्य सरसफाइको काममा कठिनाइ भएको जनाउनुभयो । उहाँले मोटरसाइकलमा लुस्पाबाट पानी बोकेर प्रयोग गर्दै आएको बनाउनुभयो ।

हिमशिखा बोर्डिङ स्कुलका संचालक समितिका अध्यक्ष हरिकृष्ण गौतमले पानी अभावको कारण विद्यालयका शिक्षक, बालबालिकालाई चर्पी प्रयोग गर्न समस्या भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार विद्यार्थीले अहिले पिउने पानी घरबाटै बोतलमा भरेर ल्याउने गरेका छन् भने चर्पीका लागि बाहिर जानुपर्ने बाध्यता छ ।

रुकुमकोट बजार क्षेत्र

विद्युत अनियमित हुँदा पानी आउँदैन

जिल्लामा विद्युत् सेवा अनियमित हुँदा लुस्फा लिफ्ट आयोजनाको खानेपानी उपभोक्तासम्म पुग्न नसकेको बताईएको छ । हावाहुरी र वर्षा हुने बित्तिकै जिल्लामा विद्युत् सेवा अवरुद्ध हुन्छ । विद्युतकै कारण यहाँका नागरिक पानीको समस्यासँग पनि जुध्न बाध्य छन् । लुस्फा लिफ्ट आयोजनाको पानी वितरण गरिरहेका उपसमितिका अध्यक्ष सुशील गौतमले बत्ती अनियमितताको कारण यो समस्या आएको बताउनुभयो ।

डिजेलको मूल्य बढेकोले जेनेरेटर चलाएर नसक्ने

समितिले बत्ति नहुँदा विगतमा जेनेरेजर मार्फत पानी उपलब्ध गराउन कोशिस गरेको तर हाल डिजेलको मूल्य आकाशिएको कारण त्यो सेवा दिन नसकेको जनाएको छ । समितिका अध्यक्ष गौतमले बत्ती नहुँदा लिफ्ट नचल्ने र आकाशिएको मूल्यको डिजेल किनेर जेनेरेटर चलाउने अवस्था नभएकाले पानीको समस्या भएको उल्लेख गर्नुभयो । अहिले मुस्किलले केही समय भए पनि जेनेरेटर चलाएर लिफ्टमार्फत पानी वितरण गरिरहेको उहाँको भनाइ छ ।

खानेपानीको यो समस्या समाधान गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयवासीको भनाई छ । रुकुमकोटमा २०४५ सालमा तत्कालिन राजा वीरेन्द्रले उद्घाटन गरेको ठाराखोला मुहानको खानेपानीले धानिरहेको थियो ।

रुकुमकोट जिल्ला सदरमुकामको रुपमा रहेपछि भएको विकास र बढ्दो बजारीकरणका कारण पुरानो खानेपानी आयोजनाले धान्न नसकेर लिफ्ट आयोजनाको निर्माण गरिएको थियो । गत वर्ष असारबाट मात्र उक्त आयोजना संचालनमा आएको हो । आयोजनाले अझै पूर्णता भने पाइसकेको छैन । आयोजनाको लागत अनुमान खर्च साढे तीन करोड हो । अहिले पनि यसै आयोजनाको विभिन्न ठाउँमा ट्यांकी निर्माणको काम चलिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्