Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लुम्बिनीको एकमात्र आर्ग्यानिक जिल्लामा बीउ उत्पादनको तालिम

२०७९ जेठ २६
tribeni2

रुकुम पूर्व / लुम्बिनी प्रदेशको एकमात्र आर्ग्यानिक जिल्ला रुकुम पुर्वमा बीउ उत्पादन सम्बन्धी तालिम सुरु भएको छ । सिस्ने गाउँपालिका ६ छिप्रीदहमा बिहिबारबाट तीनदिने खाद्यान्न, दलहन, तेलहन बारे तालिम सुरु भएको हो ।

एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम पूर्वको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिम उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले किसानले कृषि उत्पादनको परिणाम र गुणस्तरियतामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले तालिमबाट धेरै कुराहरु सिकेर सीपको सहि सदुपयोग गर्न पनि आग्रह गर्नुभयो । आर्ग्यानिक जिल्लाको पहिचानलाई कायम राख्दै कृषिका गतिविधि अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिने र रैथाने बाली हराउदै गएको कारण यसतर्फ पनि स्थानीय सरकार र सम्बन्धित कार्यालयहरुले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले गाउँपालिकाले शिक्षा र कृषिलाई प्राथमिकतामा राखेको जानकारी दिनुहुँदै कृषिलाई व्यवसायीकरण, यान्त्रिकरण गर्ने, परम्परागत प्रणालीलाई छोडेर आधुनिकिकरण गर्दै उत्पादनलाई बढवा दिने कुरामा तीनै तहको सरकारले जोड गरेको बताउनुभयो । गाउँपालिकाले पनि कृषिलाई नैै प्राथमिकतामा राखेर आगामी वर्षको नीति कार्यक्रम ल्याउने अध्यक्ष रेग्मिले बताउनुभयो । उहाँले कृषिलाई सहकारीकरण गर्ने योजना रहेको पनि जनाउनुभयो ।

लुम्बिनी प्रदेशको एक मात्र आर्ग्यानिक जिल्लामा अहिले प्राङ्गारिक मल उद्योग निर्माण भइरहेको बताउदै एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले आगामी आर्थिक वर्षमा जैविक मल उत्पादन केन्द्र निर्माण गर्ने योजना रहेको बताउनुभयो । त्यसैअनुसार काम भइरहेको र तालिम पनि प्रदान हुन लागेको उहाँले बताउनुभयो ।

तालिमको कार्यालयका प्रमुख पिताम्बर बस्नेत, कृषि अधिकृत बस्नेत, खिमबहादुर रोकाय, सम्जी घर्ती, अजोड इन्स्युरेन्सका प्रबन्धक शरदमंगल ओलीले सहजिकरण गर्नुहुने जनाईएको छ । यो तालिम यहि जेठ २८ गतेसम्म चल्ने छ । तालिममा खाद्यान्न, दलहन तेलहनभित्र पर्ने विभिन्न बालीहरुको बीउ उत्पादन कसरी गर्ने भन्ने कुराहरु सिकाइने छ । उत्पादन प्रविधि, रोग तथा किरा व्यवस्थापन, खेतबारी निरिक्षण, बजारीकरण र व्यवस्थापन, कृषि बिमा, बचत व्यवस्थापन, उत्पादन पछिको क्षति न्यूनिकरण लगाएतका कुराहरु सिकाइने एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा जलस्रोत तथा सिचाई विकास सव डिभिजन कार्यालयका प्रमुख योगेन्द्र महत्तो, डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत जितेन्द्रसिंह खड्का, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मधुकर डाँगी, जिल्ला सहकारी संघका अध्यक्ष बसन्तकुमार श्रेष्ठलगाएत विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । तालिममा जिल्लाको विभिन्न गाउँपालिकामा खटिएका कृषि प्राविधिक, व्यवसायीक किसानहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्