Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महिलाले डर र लाजले लुकाउँछन् पाठेघरको समस्या

एकदिने शिविरमा दुई सयको उपचार
शुक्रबार, जेठ २७, २०७९
tribeni2

रुकुम पश्चिम / गाउँमै महिलाहरुको लागि राखिएको निशुल्क स्वास्थ्य शिविरमा डराउँदै, लजाउँदै पुग्नुभएकी मुसिकोट नगरपालिका ७ की ५२ बर्षिया यमुना खत्री (नाम परिवर्तन) को पाठेघरको मुखको स्क्रिनिङ गर्दा रिजल्ट पोजेटिभ देखियो । यो भनेको क्यान्सरको शंका हो ।

भिआईए बिधिबाट गरिएको यमुनाको पाठेघर जाँचसँगै चिकित्सकको टोलीले शिविरमा आएका मध्य १४१ जना महिलाको पाठेघरको मुखको स्क्रिनिङ गरेर जाँच गर्यो । ११ जनाको पाठेघर खसेको, पाँच जनाको तत्कालै अप्रेशन गर्नुपर्ने अवस्था पत्ता लाग्यो । यतिमात्र नभएर जाँच गरिएका अधिकांश महिलाको पाठेघरमा मासु पलाउने र घाउको समस्या देखियो ।

यमुनाको पाठेघरको क्यान्सर हो की होईन भनेर भनेर पुष्टि गर्नका लागि अन्य जाँच गर्नुपर्ने नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रवन्धक वसन्त खनालले बताउनुभएको छ । ‘११ जनाको पाठेघरमा रिङ प्रेसरी राखियो, पाँच जनाको अप्रेशनको व्यवस्था गर्छौ, अरुलाई परामर्श तथा अन्य सेवा दियौं,’ खनालले भन्नुभयो, ‘यो रोग त अधिकांश ग्रामिण महिलाहरुमा लुकाएर राखेको देखियो ।’

एक दिने निःशुल्क स्वास्थ्य शिविरमा आएका करिब दुई सय महिलाको स्वास्थ्य जाँच गरेका डा. अमित लामगादेले गाउँका महिलाहरुले डर र लाजले पाठेघरको समस्या लुकाएर बस्ने गरेको बताउनुभयो । एउटा स्वास्थ्य चौकीमा भएको एकदिने शिविरमा मात्र यति समस्या देख्दा अन्य गाउँटोलहरुमा त झन् बढी रहेको उहाँको आशंका छ ।

जिल्लाको मुसीकोट नगरपालिका ७ स्थित स्वास्थ्य चौकी साँखमा बिहिबार भएको निःशुल्क महिला स्वास्थ्य शिविरमा आएका अधिकांश महिलामा पाठेघरको समस्या देखिएको हो । ग्रामिण महिलाहरुले कार्यबोध, सचेतना, डर र लाजको कारण पाठेघरको समस्या लुकाउने गरेको पाईएको नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रवन्धक वसन्त खनालले बताउनुभयो । उहाँले ग्रामिण महिलाहरुलाई लक्षित गरेर संचालन गरिएको शिविरबाट बढी मात्रामा पाठेघरको समस्या भएका महिलाहरुले लाभ लिएको जनाउनुभयो ।

ग्लोबल आइएमई बैंकले नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिकाको साझेदारीमा बिहिबार एक दिने शिविर आयोजना गरेको थियो ।

शिविरमा खटिएका डा. लामगादेले क्यान्सरको शंका लागेका महिलाको थप जाँच गर्ने र पाँच जना महिलाहरुको पाठेघरको अप्रेशन तत्काल गर्नुपर्ने देखिएको बताउनुभयो । पाँचै जनालाई निःशुल्क अप्रेशनको व्यवस्था मिलाईने समेत उहाँले बताउनुभयो । ‘हामीले स्क्रिनिङ गरेर अप्रेशन गर्नुपर्ने महिलाहरुको पहिचान गरेका छौं,’ डा. लामगादेले भन्नुभयो ‘अव उहाँहरुलाई समय मिलाएर अप्रेशनका लागि बोलाउँछौं ।’ उहाँहरुको दाङ, काठमाडौं वा पायक पर्ने ठाउँका अस्पतालमा निःशुल्क अप्रेशनको व्यवस्था मिलाईने छ ।

शिविरबाट महिलाका अन्य समस्याहरुको चेकजाँच तथा औषधि वितरण सहित परामर्श सेवा पनि दिईएको छ । परिवार नियोजन सम्बन्धी विभिन्न सेवा पनि प्रदान गरिएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत केन्द्रीय कार्यक्रम अनुसार निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरिएको ग्लोबल आइएमई बैंकका मुसीकोट शाखा प्रवन्धक निमेश पुरीले जानकारी दिनुभयो । शिविरबाट गाउँका महिलाहरुलाई राहात पुगेको उहाँले बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम गर्दै जाने जानकारी दिनुभयो ।

गाउँमै आएर महिलाहरुको निशुल्क स्वास्थ्य जाँच गर्नु असाध्यै स्रहानिय कार्य भएको भन्दै मुसीकोट नगरपालिका ७ का वडा अध्यक्ष एक्कबहादुर पाण्डेले शिविर प्रभावकारी भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्