सोसल मिडिया
रुकुम पूर्व / जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १, २ र ३ नम्बर वडाका अधिकांश विद्यार्थी यार्सा संकलनको लागि गएपछि तीन साता देखि विद्यालय बन्द रहेका छन् ।
विद्यार्थीहरु नै बुकीपाटन गएपछि विद्यालयहरु बन्द भएको शिक्षा विकास तथा समन्वय एकाई रुकुमपूर्वका प्रमुख तिलक गौतमले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरु नै नआउने भएपछि शिक्षकहरु पनि यार्सा संकलनमा जाने गरेको बताउनुभयो ।
पुथाउत्तरगंगा गाउँपालिका १ मा रहेको पुथा हिमालय मावि मैकोटका प्रधानाध्यापक हस्तिमान पुनले यार्सा सिजन सुरु भएसँगै जेठको ७ गतेबाट विद्यालय बन्द भएको बताउनुभयो । यस क्षेत्रमा यार्सा सिजन सुरु हुने बित्तिकै विद्यालयमा विद्यार्थीको उपस्थिती हुदैन । विद्यार्थी नहुँदा विद्यालय बन्द हुने र शिक्षकहरु पनि यार्सा संकलनको लागि पाटन जाने गरेको प्रधानाध्यापक पुनले बताउनुभयो ।
उहाँका अनुसार रन्मा, मैकोट, पेल्मा क्षेत्रका विद्यालयमा वर्षे बिदालाई कटाएर यार्सा सिजनमा मिलान गर्ने गरिएको छ । यार्सा संकलनको लागि विद्यालय बन्द हुने र फेरी बर्षे बिदा गर्दा कोर्स पुरा नहुने भन्दै यस क्षेत्रमा बर्षे बिदालाई कटाएर यार्सा सिजनमा बिदा दिने गरिएको प्रधानाध्यापक पुनको भनाई छ ।
जिल्लाको माथील्लो क्षेत्रका नागरिकहरुको मुख्य रोजीरोटीको पेशा भनेकै यार्सा संकलन र बिक्रिवितरण हो । एक सिजनमा यार्सा संकलन गरेर वर्षभरीको खर्च धान्ने समुदाय भएकाले विद्यालय नै बन्द गरेर भएपनि शिक्षक विद्यार्थी यार्सा संकलन गर्न जाने गरेको मैकोटका विकास पुनले बताउनुभयो । अहिले माथिल्लो क्षेत्रका बस्तिमा विद्यालय मात्र बन्द होइन गाउँ नै सुनसान हुने गरेको छ । यार्सा संकलनको लागि सबै पाटन उक्लिएपछि गाउँ नै सुनसान भएको पुनले बताउनुभयो ।
यार्सा सिजनको लागि बन्द भएका गाउँपलिकाका तीन वडाका बिद्यालय अब केहि दिनमै खुल्नेछन् । मैकोट क्षेत्रका विद्यालयहरु असार २ गतेबाट खोल्ने तयारी गरिएको छ । विगतका वर्षहरुमा जेठ पहिलो साताबाट बन्द भएका विद्यालय असार १० मा मात्र खुल्ने गरेका थिए । यस वर्ष यार्सा कम भएको कारण विद्यार्थीहरु अलि छिटो गाउँ फर्कने क्रम चलिरहेको कारण छिटै विद्यालय खुल्ने बताईएको छ ।
पुथा उत्तरगंगा गाउँपालिकाको पुपाल लेक, पूर्वाङ, फुलबारी, दङ्ला, पानीदाल, अरगिजा लगाएतको क्षेत्रमा मानिसहरु यार्सा टिप्न जाने गरेका छन् ।