Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शुक्रबार सल्यानमा सात जना घाईते

tribeni2

सल्यान / सल्यानमा शुक्रबार भएको छुट्टाछुट्टै दुर्घटना सात जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकामा भएका दुर्घटनामा सात जना घाइते भएका हुन् ।

कपुरकोट रोल्पा सडक खण्डको कपुरकोट गाउँपालिका ३ घुम्तीमोडमा दाङ तुलसीपुरबाट कपुरकोट गाउँपालिका २ गर्पा जाँदै गरेको रा १ ज ४६० नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएको सल्यान प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर कपुरकोट गाउँपालिका १ का २९ वर्षीय खिम बहादुर पुन, ३५ वर्षीय सुर्वण कुमार घर्ती, ६२ वर्षीया भद्री बुढा, वडा न ५ वस्ने ८० वर्षीया कलसी बस्नेत, वडा न २ बस्ने ६५ वर्षीया पावर्ती वली र रोल्पा रन्टीगढी गाउँपालिका ८ की ६३ वर्षीया वनिकला घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको र उपचारका लागि दाङ तुलसीपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । जिप अनियन्त्रित भएर सडकमै पल्टिएको र जिप चालक दाङ तुलसीपुर उपमहानगरपालिका ९ का ३३ वर्षीय हरि डाँगीलाई नियन्त्रणमा लिइएको उहाँको भनाई छ । जिपमा १२ जना यात्रु सवार रहेकोमा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बनगाड कुपिण्डे नगरपालिका १२ मसिनामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् । निगालचुलाको भदालेबाट सुर्खेतको बोटेचौर तर्फ जाँदै गरेको भे १ त ८८४१ नम्बरको ट्याक्टर ब्रेक फेल भई दुर्घटना भएको सूचना अधिकारी खनालले बताउनुभयो ।

घाइते हुने ट्याक्टर चालक जाजरकोट शिवालय गाउँपालिका ३ का अन्दाजी २० वर्षीय ललित थापा रहेका छन् । उनको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्