Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मगर बस्तीमा भुमे नाचको रौनक

२०७९ जेठ ३१
tribeni2

रुकुम पूर्व / बहुसंख्यक मगर समुदाय रहेको रुकुम पूर्वमा भूमे पर्वको रौनक बढेको छ । जिल्लामा रहेको मगर बस्तीहरुलाई यतिबेला खाम मगरको सबैभन्दा ठुलो चाड भूमे नाच अर्थात बल पुजाको उत्साह छ ।

जिल्लाको सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिकामा यतिवेला भूमे नाच चलिरहेको भूमे गाउँपालिकाका चन्द्र रसाइलीले जानकारी दिनुभयो । हरेक बर्ष विधिपूर्वक लेकबाट बुकीको फुल टिपेर ल्याई बलपुजा सुरु हुने गर्छ । बलपुजा सँगै सुरु हुने यो नाच जेठ १५ गतेदेखि असार १ गतेसम्म करिब नियमित नाचिन्छ । स्थान अनुसार जेठ मसान्त र असार १ गतेका दिन लेकमा गएर बास बस्ने र फूल तथा रुख लिएर गाउँमा आएर धुमधाम सहित नाचगान गर्दै बलि चढाउने गरिन्छ ।

कालो चोलीमा, रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै गहना लगाएर चिटिक्क परेका महिला तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर लगाई मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष दमाह, ट्याम्की, छिल्लर र सहनाईको तालमा लहरै भूमे नाच नाचिन्छ ।

भुमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले भूमे पर्वको अवसरमा गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको बताउनुभयो । उहाँले जेठ मसान्त र असार १ गते धुमधामसँग यो पर्व मनाउने गरेकोले बिदा दिने गरेको जनाउनुभयो ।

बलपुजा अर्थात भूमि पुजा मगर जातिका लागि निकै महत्वको चाड भएकाले खाम मगरले यस चाडमा भूमे नाच नाचेर आपसमा सद्भाव साट्दै मनाउने गरेको भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढाले जानकारी दिनुभयोे । उहाँले कतिपय स्थानमा असार दोश्रो साता सम्म पनि नाचनाग गरेर वर्प मनाउने गरेको बताउनुभयो ।

भूमे पर्वमा सबै मगरहरु सँगै भेला भएर रमाइलो गर्दा आफूहरूको दुःख पीर बिर्सने र मन खुशी हुने विश्वास छ । यस्तै मगर जातिले पृथ्वी अर्थात भूमिलाई आफ्नो मुख्य देवताको रूपमा मानेर पुज्ने चलन रहेको छ । भूमिको पुजा भएपछि देवता खुशी हुने र त्यसपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनैपनि प्रलय नआउने र दुःखको नाश भई पृथ्वीवासी सबैमा खुशी आउने जनविश्वास रहेको छ ।

भूमे नाच महिला पुरुषसँगै भएर लहरै नाचिन्छ । यस नाचमा वयस्क, वृद्धवृद्धाका साथै युवा पुस्ताको पनि उत्तिकै आकर्षण रहेको छ । उनीहरू पनि साथीहरूसँग रमाएर आफ्नो मौलिक पोशाकमा सजिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने गर्छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्