जिल्लामै पहिलो पटक चौरजहारीमा पालिका स्तरिय फुटबल प्रतियोगिता सञ्चालन

विजेताले ७० हजार र उपविजेता ४० हजार पाउने

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारीमा पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिता सञ्चालन भएको छ । जिल्ला खेलकुद विकास समितिले स्थानीय तह बनेपछि जिल्लामै पहिलो पटक पालिका स्तरिय प्रतियोगिताको आयोजना गरेको हो ।

शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख पुष्प वादीले प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख बादीले खेल राष्ट्र र स्वास्थ्यका लागि हुने भएकोले यसको संरक्षण र प्रवद्र्धन जरुरी रहेको बताउनुभयो । उहाँले खेलाडीहरुले सभ्यता र अनुशासनको उच्च पालना गर्न आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।

चौरजहारी नगरपालिका वडा नम्बर २ स्थित रंगशालामा प्रतियोगिता सुरु भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो । प्रतियोगितामा तीन ओटा मात्र पालिकाको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ७० हजार नगद, कप र मेडल प्राप्त गर्ने बताईएको छ । उपविजेता टिमले ४० हजार र सेमिफाईनलमा पुग्ने टीमले २० हजार पुरस्कार पाउने सचिव ढकालको बताउनुभयो । प्रतियोगिता लिग सिस्टममा संचालन हुने छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेस शर्माको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्